काठमाडौं : पुल उद्घाटनको विषयले विवादको रुप लिँदा पक्राउ परेका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले असली लोकतन्त्र कहिले मिल्छ भन्दै प्रश्न गरेका छन्।
'पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउँसो भन्दा साँझ दुखेर आयो,' पौडेलले ट्विट गरेका छन्, 'हिजो भन्दा आज दुखाइ बढी छ।'
उनले सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न नसकेको बताउँदै असली लोकतन्त्र कहिले साकार हुने हो? भन्दै प्रश्न गरेका छन्। 'मेरो चिन्ता यसैमा छ,' पौडेलले लेखेका छन्।
व्यास १ र ११ जोड्ने पक्की पुल उद्घाटन कार्यक्रमका क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अवरोध गरेको थियो। प्रशासन लगाएर उद्घाटन रोक्ने प्रयास भएपछि त्यसको विरोधमा पौडेलले जनस्तरीय भेलालाई सम्बोधन गर्ने तयारी गरेका थिए। त्यहीक्रममा प्रहरीले पौडेललाई नियन्त्रणमा लिएको थियो।
पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो, हिजो भन्दा आज दुखाइ बढी छ । सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन ।
— Ram Chandra Paudel (@NcPaudel) December 3, 2020
असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ । pic.twitter.com/U2fxsHSr1z
व्यास नगरपालिकाले उक्त पुल हिजो दिउँसो १ बजे वरिष्ठ नेता पौडेलबाट उद्घाटन गर्ने कार्यक्रम राखेको र नेकपा निकट राष्ट्रिय युवा संघले रोक्नुपर्ने भनेपछि पुल उद्घाटन विवाद भएको थियो।
पुल उद्घाटन रोक्न प्रशासनले सो क्षेत्रमा १२ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा लगाएको थियो।
पौडेललाई नियन्त्रणमा लिएको खबर सार्वजनिक भएपछि नेपाल कांग्रेसले उनलाई रिहा नगरे देशव्यापी प्रदर्शन गर्ने चेतावनी दिएको थियो।
