PahiloPost

Jan 26, 2025 | १३ माघ २०८१

प्रधानमन्त्री कपका लागि क्यान पर्साले सुरु गर्‍यो खेलाडी छनौट, सुदूरपश्चिमको छनोट तालिका सार्वजनिक



पहिलोपोस्ट

प्रधानमन्त्री कपका लागि क्यान पर्साले सुरु गर्‍यो खेलाडी छनौट, सुदूरपश्चिमको छनोट तालिका सार्वजनिक

वीरगंज: आगामी पुस ११ गते देखि काठमाण्डौमा राष्ट्रिय स्तरको संचालन हुने प्रधानमन्त्री कप कपको लागि जिल्ला स्तरमा क्रिकेट खेलाडीहरुको छनौट प्रतियोगिता शुरु भएको छ।

प्रदेश २ को ८ जिल्लामा क्रिकेट संघले संघमा आवद्ध भएका खेलाडीमध्ये प्रशिक्षण शिविर मार्फत खेलाडी छनौट सुरु गरेका हुन्। यसैबीच बीरगंजको नारायणी क्रिकेट मैदानमा क्रिकेट संघ पर्साले ५ दिने शिविर आयोजना गरेको संघका पर्सा अध्यक्ष दाउद अन्सारीले जानकारी दिए।

लकडाउनअघि देखि सदस्यता आह्वान गरिएको क्यान पर्सामा यस पटक ७३ जना खेलाडीहरु सदस्यको रुपमा आवद्ध भएका छन्। भोलिसम्ममा उनीहरुको विभिन्न सीप परिक्षण गरी २४ जनाको दुई वटा टिम बनाइने छ। सो दुई वटा टिमको तीन दिन चल्ने विभिन्न फर्मेटको खेलबाट प्रधानमन्त्री कपका लागि पर्साका १४ सदस्यीय टोली चयन हुने छ। प्रदेश २ को ८ वटा जिल्लाको प्रतिस्पर्धाबाट प्रदेश २ को टिम बनाएर प्रधानमन्त्री कप खेलाइने छ।

सुदूरपश्चिमको छनोट तालिका सार्वजनिक

प्रधानमन्त्री कप (पीएम) एकदिवसीय पुरुष तथा महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको प्रदेशस्तरीय छनोटको मिति तथा खेल तालिका सार्वजनिक भएको छ। बुधबार नेपाल क्रिकेट सङ्घ, सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले खेल तालिका सार्वजनिक गरेको हो।

सार्वजनिक खेल तालिकाअनुसार पुरुषको मङ्सिर २७ देखि र महिलाको छनोट प्रतियोगिता पुस ४ गतेदेखि छनोट सुरु हुनेछ। नेपाल क्रिकेट सङ्घका सुदूरपश्चिम सचिव तेजप्रकाश भट्टले पुरुषको छनोट प्रतियोगिता कञ्चनपुरको महेन्द्रनगर र महिलाको कैलालीको धनगढीमा सञ्चालन हुने जानकारी दिए।

छनोटमा पुरुषतर्फ प्रदेशका आठ टोली तथा महिलातर्फ छ टोली सहभागी हुनेछन्। मङ्सिर २७ गते हुने पुरुषको छनोटको पहिलो खेलमा अछाम र डोटी भिड्ने जनाइएको छ। यस्तै पुस ४ गते हुने महिलाको छनोटको पहिलो खेलमा कैलाली र डोटी भिड्ने बताइएको छ। उक्त छनोटबाट अगामी पुस दोस्रो सातादेखि सञ्चालन हुने प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि सुदूरपश्चिमको टोली छनोट हुनेछ।

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अगामी पुस ११ गतेबाट हुँदैछ। महिलातर्फका खेल दाङमा सञ्चालन हुनेछन् भने पुरुषतर्फका काठमाडौँमा हुने नेपाल क्रिकेट सङ्घले जनाएको छ। प्रधानमन्त्री कपमा तीन विभागीयसहित १० टिमको सहभागिता हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell