PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भारतीय सैनिकलाई हेलिकप्टरमै ढुवानी, नेपालतिरका भने हेरेको हेर्‍यै



कमलराज भट्ट

भारतीय सैनिकलाई हेलिकप्टरमै ढुवानी, नेपालतिरका भने हेरेको हेर्‍यै

दार्चुला (छाङरु) : लिम्पियाधुरा, कालापानी र लिपुलेकको नक्सा प्रकरणपछि सरकारले छाङरु र तिंकर गाउँमा उपस्थिति बढाएको छ। भारतको कब्जामा रहेका भूमिलाई नक्सामा समावेश गरेसँगै छाङरुमा सुरुमा सशस्त्र प्रहरी बलको बीओपी र पछि गुल्म नै राख्यो। नेपाल प्रहरीको उपस्थिति पनि बढायो। संख्यात्मक रुपमा उपस्थिति बढाए पनि यहाँ उनीहरुका लागि सेवा सुविधा भने एकदमै न्यून छ। सवारी साधनदेखि हतियारसम्म पुरानै प्रविधिमा काम चलाइरहेका छन् खटिएका सुरक्षाकर्मीले।

यस्तै हालत छ त्रिदेशीय सम्वेदनशील मानिने गाउँ छाङरु र तिंकरमा पनि। भारत र चीनसँग जोडिएका यी दुई गाउँमा सुरक्षाकर्मीलाई सकस नै छ। मुख्यत: यहाँ पुग्न बाटो छैन। हिँडेर चार दिन लाग्छ नेपाली बाटो भएर जाँदा। हवाई रुटबाट जानका लागि हेलिकोप्टर छैन। यात्रा गराउने हो भने सेनाको हेलिकोप्टर सुर्खेतबाट आउनुपर्छ। त्यसका लागि प्रक्रिया पनि लामै छ।

अर्कोतिर लिम्पियाधुरादेखि कालापानी र लिपुलेकसम्म कब्जा गरेर बसेको छिमेकी भारतले स-साना कामका लागि पनि हेलिकोप्टर उडाउँछ। जबकि भारतीय सीमापट्टि सडक पनि छ। छाङरुका स्थानीय र दार्चुलाका सुरक्षा अधिकारीहरुका अनुसार भारतले आफ्ना सैनिकको मनोबल बढाउन हेलिकोप्टरदेखि गाडीसम्ममा पर्याप्त लगानी गरेको छ। छाङरु पुग्दा होस् अथवा दार्चुला सदरमुकाम खलंगा नै पुग्दा किन नहोस्, भारतीय हेलिकोप्टर उडेको उड्यै देख्न सकिन्छ। सैनिकका ट्रकहरु पनि गुडिरहेको देखिन्छ।

स्थानीय सुरक्षा अधिकारीहरुका अनुसार भारतले चिया, नास्तादेखि खाजासम्म पनि हेलिकोप्टरमै ढुवानी गर्छ।

भारतीय सुरक्षाकर्मीका लागि हेलिकोप्टरले खाद्यान्न ओसारिन्छ। सामान ढुवानीदेखि जनशक्ति आवतजावतसम्ममा हेलिकोप्टरको प्रयोग भइरहेको हुन्छ। 'हाम्रोतिर त विरामी भयो भने त तत्काल हेलिकोप्टर आउने अवस्था छैन। बोर्डरमा गएपछि थाहा हुन्छ आत्मनिर्भरको कुरा,’ दार्चुलाका एक सुरक्षा अधिकारीले सुनाए।

महाकाली वारि र पारिका दृष्य पूरै अनौठो छ।

‘उनीहरुको चियादेखि जेरीसम्म हेलिकोप्टरमा आउँछ। हामी चार दिन लगाएर हिँडेर आयौं। बाटोमा कहिले स्कुलमा सुत्यौं, कहिले जंगलमा। यहाँ आएपछि बस्ने भवन छैन। राशन पनि बल्लबल्ल आएको छ। हिउँ छल्ने लुगाफाटासमेत छैन। सदरमुकाममा केही मगाउन यातायात तथा हवाई कुनै सुविधा छैन। अर्कै देशमा आएजस्तो भएको छ,’ छाङरुमा भेटिएका एक प्रहरीले भने।

छाङरुका स्थानीय जितसिंह बोहराले पनि भारतीय सैनिकका लागि सबै ढुवानी होलिकोप्टरबाटै हुने सुनाए। ‘लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई हेलिकोप्टरबाटै सबै सामान जान्छ। बाटो भएको ठाउँमा सेनाका गाडीले लैजान्छ। हाम्रो छाङरु र तिंकरका लागि पनि एक छुट्टै हेलिकोप्टर व्यवस्था गर्नुपर्ने आवश्यक छ,’ छाङरुमा ४० वर्षदेखि होटल चलाएर बसिरहेका बोहराले भने।

छाङरुवासीको माग पनि एक हेलिकोप्टर यो क्षेत्रका उपलब्ध गराइदिए हुन्थ्यो भन्ने छ। सुरक्षाकर्मीका साथै यहाँका नागरिकको पनि सुविधा हुनेगरी डेडिकेटेड हेलिकोप्टर सरकारले उपलब्ध गराउनुपर्ने योगेन्द्रसिंह बोहराले माग गरे। व्यास गाउँपालिका १ का वडाध्यक्ष अशोक बोहरा पनि स्थानीयको मागसँग सहमत छन्। बरु छाङरु र तिंकरका बासिन्दाले स्वामित्व लिनेगरी हेलिकोप्टरको व्यवस्था गरिदिनुपर्ने यहाँको आवाज छ। यसो हुँदा भारतमाथिको निर्भरता केही कम हुने स्थानीयको बुझाई छ।

यहाँका सुरक्षाकर्मी र स्थानीयले हेलिकोप्टरबाट एउटा स्काभेटर पनि ल्याइदिन माग गरेका छन्। छाङरुमा भएका सुरक्षाकर्मीले सुरक्षाका अलावा स्काभेटर प्रयोग गरेर तिंकर र कौवासम्मको बाटो आफै बनाउनका लागि यसको माग गरेका हुन्। स्थानीय पनि सरकारले छिटो स्काभेटर फाल्दिए हुन्थ्यो भन्नेमा छन्।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल भने छाङरु र तिंकरवासीका मागलाई गृह मन्त्रालयसम्म पुर्‍याउँदै आएको बताउँछन्। छाङरुका लागि आवश्यक परेको खण्डमा हेलिकोप्टरका लागि गृहमा लेखेर पठाउने र गृहले पठाउने सीडीओ पोखरेलको भनाई छ।

‘कोही विरामी भयो, इमरजेन्सी पर्‍यो भने हेलिकोप्टरका लागि गृहमा पहल तथा समन्वय गर्छौं,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell