काठमाडौं : चीनले नेपालसँगको सम्बन्धले कुनै पनि तेस्रो पक्षलाई प्रभाव नपर्ने स्पष्ट परेको छ। चिनियाँ विदेश मत्रालयका प्रवक्ता हुवा चुनइङले यस्तो बताएकी हुन्। बुधवार चिनियाँ विदेश मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङका क्रममा उनले भनिन्, 'हाम्रो सम्बन्धले अन्य तेस्रो पक्षलाई प्रभाव पार्ने छैन।'
भारतीय मिडिया प्रसार भारतीका तर्फबाट प्रवक्तालाई चीनका स्टेट काउन्सिलर वेइ फङ्हले हालै नेपाल भ्रमण गरेको विषयमा प्रश्न सोधिएको थियो। प्रसार भारती भारतको सरकारी प्रसारण माध्यम दुरदर्शन, अल इन्डिया रेडियो सहितको छाता माध्यम हो।
गत नोभेम्बर २९ मा चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइले नेपालको एक दिने 'वर्किङ भिजिट' गरेका थिए। भारतीय विदेशमन्त्री हर्षवर्द्धन श्रृङ्गला दुई दिने नेपाल भ्रमणबाट फर्किएको दुई दिनपछि उत्तरबाट रक्षामन्त्रीले नेपालको भ्रमण भएको थियो। त्यसलाई भारतीय सञ्चार माध्यमले चासोका साथ हेरेका थिए।
चिनियाँ रक्षामन्त्री नेपाल र पाकिस्तानको भ्रमणपछि स्वदेश फर्किसकेका छन्। उनको पाकिस्तान भ्रमणलाई पनि 'गोप्य' राखिएको थियो।
नेपाल भ्रमणका क्रममा वेइले नेपालको राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता तथा भौगोलिक अखण्डता रक्षाका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए। त्यस्तै नेपालले एक चीन नीतिप्रति प्रतिवद्धता जनाउँदै चीन विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिवद्धतासमेत जनाएको थियो।
त्यसपछि वेइको पाकिस्तान भ्रमणका क्रममा चीन र पाकिस्तानबीच रक्षा सम्झौता भएको छ। यसप्रति भारतीय मिडियाहरुमा चासो ब्यक्त हुँदै आएको छ। नेपालमा चीनको प्रभाव बढ्दै जाँदा भारतीय प्रभाव कम हुने आकलन भारतमा प्रस्तुत गरिरहँदा चीनको विदेश मन्त्रालयले भारतको नाम नलिइ नेपाल-चीन सम्बन्धले कुनै तेस्रो पक्षलाई प्रभाव नपर्ने स्पष्ट पारेको हो।
प्रवक्ता हुवाले चीन र नेपाल हिमालहरु नदीहरुले जोडिएका छिमेकी मित्रहरु भएको भन्दै यस वर्ष दुई देशबीचको कुटनीतिक सम्बन्ध स्थापनाको ६५ औं वर्षगाँठ मनाइरहेको बताइन्।
'चीन र नेपाले कोभिड-१९ विरुद्धको लडाइमाएक अर्कालाई सहयोग गरेका छन। र, हाम्रो मित्रता र आपसी विश्वास थप बलियो बन्दै गएको छ,' उनले भनिन्।
चीन नेपालसँगै सबै क्षेत्रमा साझेदारी गरेर काम गर्न तयार रहेको भन्दै प्रवक्ता हुवाले गुणस्तरीय बीआरआई साझेदारी खोजिएको र दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन चाहेको बताइन्। उनले दुई देशबीचको मैत्रीपूर्ण साझेदारीले चिनियाँ तथा नेपाली जनतालाई फाइदा पुग्नेसमेत बताइन्।
