PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

अन्तर्राष्ट्रिय अपांगता दिवसमा शिक्षक, विद्यार्थी र पत्रकारलाई 'अन्तर्दृष्टि पुरस्कार' घोषणा



पहिलोपोस्ट

अन्तर्राष्ट्रिय अपांगता दिवसमा शिक्षक, विद्यार्थी र पत्रकारलाई 'अन्तर्दृष्टि पुरस्कार' घोषणा

काठमाडौं : शिक्षक, विद्यार्थी र पत्रकारका लागि अन्तर्दृष्टि पुरस्कार दिइने भएको छ। डाक्टर कमल लामिछानेले विज्ञप्तीमार्फत् उक्त पुरस्कार स्थापना घोषणा गरेका हुन्।

देशभर समावेशी तथा एकीकृत  शिक्षा कार्यक्रम सञ्चालन गर्ने तीन सयभन्दा बढी विद्यालयमा अध्यापनरत शिक्षकमध्ये एक जनालाई ‘अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार’ र तिनै विद्यालयमा अध्ययनरत अपांग विद्यार्थीहरूसँग काँधमा काँध र साथमा साथ मिलाई हातेमालो गर्दै आएका एक जना अपांगता नभएका विद्यार्थीलाई पुरस्कृत गर्ने गरी ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’ स्थापना गरिएको हो।

साथै पत्रकारिताका माध्यमबाट अपांगता भएका व्यक्तिप्रति सकारात्मक सोच र दृष्टिकोणसहित खोज, अन्वेषण एवम् उनीहरूका असीमित सम्भावना र अवसरको पहिचान गरी समावेशी विकास एवम् समतामूलक समाजको अंग बनाउन भूमिका खेल्ने पत्रकारमध्ये एक जनालाई पुरस्कृत गर्न ‘अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार’ पनि स्थापना भएको हो।

डिसेम्बर ३ लाई सन् १९९२ देखि अपांगता क्षेत्रमा अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो ।

'अपांगताप्रति समाजमा विद्यमान नकारात्मक, यदाकदा पूर्वाग्रही र विभेदपूर्ण धारणा अनि सोचमा परिवर्तन ल्याउन सकियोस्; आइसोलेसनको पर्खालको साटो समताको पुल निर्माण गरी सहअस्तित्व र सहकार्यसहित सबैको आत्मसम्मान र पहिचान स्वीकार गर्दै सँगसँगै हिँड्न सकियोस् भन्नु नै यी उल्लिखित पुरस्कार स्थापना गर्नुको ध्येय हो', लेखिएको छ।

यस्तो छ पुरस्कार छनोट प्रक्रिया

१. शिक्षकको शिक्षण सिकाइ क्रियाकलाप तथा व्यवहारलाई वस्तुपरक रूपमा नजिकबाट नियाल्न विद्यार्थीहरूले नै सक्छन् । तसर्थ, ‘अन्तर्दृष्टि नमूना शिक्षक पुरस्कार’का मुख्य निर्णायक देशभर रहेका तीन सयभन्दा बढी विद्यालयमा अपांगता नभएका विद्यार्थीसँगै पढिरहेका कक्षा ८ देखि १० सम्मका दृष्टिविहीन विद्यार्थी हुनेछन्।

२. शिक्षकको शिक्षण सिकाइ क्रियाकलाप, उनीहरूको सामाजिक व्यवहार, अपांगताप्रतिको सोच, दृष्टिकोणलगायतलाई आधार मानी विद्यार्थीहरूले १ देखि ५ सम्मको स्केलमा शिक्षकको मूल्यांकन गरी हरेक विद्यालयबाट दुई जना शिक्षकको विवरण अन्तर्दृष्टि पुरस्कार समितिसमक्ष पठाउनेछन्। यो प्रक्रियामा दृष्टिविहीन विद्यार्थीका लागि मात्रै भनी खटाइएका स्रोत शिक्षकलाई सामेल गरिनेछैन।

३. एकअर्कामा घुलमिल र सहयोग आदानप्रदान गर्न र अपांगताप्रतिको गलत बुझाइ हटाएर विभेद अनि पूर्वाग्रहरहित व्यवहार गरी समावेशीकरणको नमुना समाज निर्माण गर्न अपांगता भएका र नभएका विद्यार्थीबीच विद्यालय तहदेखि नै सहकार्य हुन जरुरी छ । यसका लागि अपांगता नभएका र दृष्टिविहीन विद्यार्थीबीच हातेमालो अति महत्वपूर्ण हुन्छ । दृष्टिविहीन विद्यार्थीहरूले आफूसँग हातेमालो गरेका अपांगता नभएका विद्यार्थीहरूको सहयोगी भूमिका, व्यवहार, सिकाइको आदानप्रदान आदिलाई आधार मानी १ देखि ५ सम्मको स्केलमा मूल्यांकन गरी हरेक विद्यालयबाट दुई जना विद्यार्थीको विवरण अन्तर्दृष्टि पुरस्कार समितिसमक्ष पठाउनेछन् । यो प्रक्रियामा दृष्टिविहीन विद्यार्थीका दृष्टिविहीन साथीहरू सामेल गरिनेछैन ।

४. देशभरका विद्यार्थीहरूबाट सिफारिस भई आएका शिक्षकमध्ये औसतमा सबैभन्दा बढी अंक हासिल गर्ने शिक्षकलाई ‘अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार’ र विद्यार्थीलाई ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’ प्रदान गरिनेछ । साथै सञ्चारमाध्यममा अपांगतासम्बन्धी समाचार प्रकाशित र प्रसारित गर्न सहयोग गर्ने पत्रकारमध्ये अब्बल एक जनालाई ‘अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ ।

५. हरेक वर्ष जेठदेखि भदौसम्ममा दृष्टिविहीन विद्यार्थीहरूबाट विवरण संकलन गरिनेछ ।

६. अन्तर्दृष्टि पुरस्कारको घोषणा २०७८ सालदेखि हरेक वर्ष डिसेम्बर ३ तारिख अर्थात् अपांगता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका दिनमा गरिनेछ । पुरस्कार वितरण भने हरेक वर्ष वसन्तपञ्चमी अर्थात् सरस्वती पूजाका दिन गरिनेछ ।

७. अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कारको रकम रु. २० हजारसहित प्रमाणपत्र, अन्तर्दृष्टि हातेमालो पुरस्कारको रकम रू. १० हजारसहित प्रमाणपत्र र अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कारको रकम रू. १० हजारसहित प्रमाणपत्र रहनेछ ।

८. नेपाल ब्रेल संघले विद्यार्थीहरूबाट जानकारी संकलन र पुरस्कार घोषणामा सहजीकरण गर्नेछ ।

९. अन्तर्दृष्टि पुरस्कार समितिमा होमनाथ अर्याल, डा. कमल लामिछाने, लोकबहादुर गुरुङ, सुनिता थापा र सरिता लामिछाने रहनुभएको छ । आगामी दिनमा आवश्यकताअनुरूप समितिको विस्तार या हेरफेर गरिनेछ ।

१०. अन्तर्दृष्टि पुरस्कारको सबल पक्ष पारदर्शिता हो । यसको मुख्य चुनौती पनि त्यही पारदर्शिता कायम गर्नुमै छ । देशभरका विद्यार्थीबाट उत्कृष्ट शिक्षक र सहपाठीको छनोट गरी पुरस्कार दिने काम सम्भवतः यो नै पहिलो हुन सक्छ । यस काममा आइपर्ने जटिलताहरू हल गर्न अधिकतम प्रयास गरिनेछ । अनुभवका आधारमा छनोट प्रक्रियालगायतमा परिवर्तन गर्नुपर्ने देखिए त्यसको जानकारी पारदर्शी रूपमै दिइनेछ । यो प्रयासमा अपांगता क्षेत्रमा कार्यरत संघसंस्था, व्यक्ति, शिक्षक, विद्यालय प्रशासन, सञ्चारमाध्यम तथा सम्बद्ध सबैको सहयोगको अपेक्षा गरेको छु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell