PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

चियाको अध्ययन तथा परीक्षण केन्द्रको शिलान्यास



रासस

चियाको अध्ययन तथा परीक्षण केन्द्रको शिलान्यास

पशुपतिनगर : नेपाली चियाको उत्पादन, प्रशोधन र बजारीकरणको प्रवर्द्धन गर्ने उद्देश्यले इलाममा चिया अध्ययन तथा परीक्षण केन्द्र निर्माण शुरु भएको छ। सूर्योदय नगरपालिका इलामको २० प्रतिशत र प्रदेश नम्बर १ सरकारको ८० प्रतिशत लगानीमा सो केन्द्र निर्माण शुरु भएको हो।

२३ करोड रुपैयाँ लगानीमा निर्माण शुरु भएको केन्द्रको प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गर्दै देशभर उत्पादन हुने चिया गुणस्तर जाँच गरी विश्व बजारमा पुर्‍याइने भएकाले केन्द्रले नेपाली चियाको प्रवर्द्धनमा ठूलो योगदान गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा प्रदेश नम्बर १ सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामबहादुर रानाले केन्द्रमा प्रदेश सरकारको लगानी भए पनि देशभरको चियाको गुणस्तर जाँच हुने बताउए। चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णु भट्टराईले केन्द्रबाट चियाको अन्तरराष्ट्रिय बजार विस्तारमा सहयोग पुग्ने बताए।

प्रदेशसभा सदस्य काजीमान कागतेले चियाको राजधानी घोषित सूर्योदय नगरपालिकामा निर्माण हुने केन्द्रले इलामको मात्रै नभएर देशभरका चियाखेती गर्ने किसान, उद्योगी र व्यवसायीको मनोबल बढ्ने बताए।

कन्याम चिया बगानसँगै रहेको ११ रोपनी क्षेत्रफलमा केन्द्र निर्माण हुनेछ। सूर्योदय-७ मा १८ महिनामा केन्द्र निर्माण सम्पन्न भइसक्ने नगरपालिकाका प्रमुख रणबहादुर राईले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell