उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मुम्बई पुगेर अक्षय कुमारलाई भेटे। त्यहाँ उनको ५० भन्दा बढी फिल्मकर्मीलाई भेट्ने कार्यक्रम छ। कारण – नोएडामा बन्ने भनिएको भारतको सबैभन्दा ठूलो र अत्याधुनिक फिल्म सिटी। उक्त फिल्म सिटीका लागि अभिनेता, निर्माता र निर्देशकहरूको सल्लाह सुझाव लिइरहेका छन्।
फिल्म सिटी यमुना एक्सप्रेस-वेबाट सेट ग्रेटर नोएडा सेक्टर-२१ मा एक हजार एक्कडमा बनिरहेको छ। भलै उनको परियोजनामाथि मुम्बईको फिल्म उद्योगसँग जोडिएका मानिसहरूको राय बाँडिएको छ। ठूला स्टारहरू अमिताभ बच्चन, शाहरूख खान र सलमान खानले समेत फरक धारणा राखेका छन्।
अल इन्डिया सिने वर्कर्स एसोसिएसनका प्रमुख सुरेश श्यामलाल गुप्तालाई लाग्दैन फिल्म सिटी निर्माणको योजना सफल हुनेछ।
उनी भन्छन्, 'हेर्दा त लखनउमा धेरै छायाँकनहरू भइरहेका छन्। कहिले काहीं हुनु स्वभाविक हो। तर, सधैं हुनु सम्भव छैन। मुम्बईमा पो महिला फिल्मकर्मी सुरक्षित महसुस गर्छन्। त्यहाँ फिल्मसँग जोडिएका ३० प्रतिशत महिला उत्तर प्रदेशका हुन्। दिनरात काम गर्ने जुन स्वतन्त्रता यहाँ छ त्यो अन्य ठाउँमा मिल्दैन।'
यस विषयमा योगीसँग कुरा गर्न अक्षय कुमार पुग्नुलाई उनले भने– 'उनलाई भेट्न ती मानिस पुगे, जो मोदीजीको कुरा नकार्न सक्दैनन्। तर, अमिताभ, शाहरुख र सलमानजस्ता कलाकार गएनन्। किन कि सबैका लागि सुरक्षा प्रमुख मुद्दा हो।'
उनले पहिले पनि नोएडामा असफल ठहरिएको फिल्म सिटीको उदाहरण दिए। 'भइरहेकोलाई व्यवस्थित बनाउन सकिएको छैन कसरी अर्को अत्याधुनिक फिल्म सिटी बनाउनु?'
श्यामलालका अनुसार योगी २०२२ मा उत्तर प्रदेशमा हुने चुनावका लागि माहोल बनाउँदै छन्।
फिल्म विश्लेषक एवं वितरक राज बंसल भने फिल्म सिटी निर्माणलाई स्वागत योग्य मान्छन्। 'मुम्बईमा फिल्म निर्माणका लागि सीमित अवसर थियो। उत्तर प्रदेश सरकारको यो प्रयासले फिल्म निर्माणलाई वृहत बनाउँछ', उनले भने। उनका अनुसार टिभी सिरियल, वेब सिरिजका लागि आवश्यक सेट एवं अन्य व्यवस्थापनका लागि पनि फिल्म सिटी आवश्यक छ।
यस्ता घोषणा पहिले पनि भएको तर योजना सफल नभएको विषयमा चाहिं चिन्तित सुनिन्छन् उनी।
फेडरेशन अफ वेस्टर्न इन्डिया सिने इम्प्लोइ युनियनका अध्यक्ष बीएन तिवारीले पनि फिल्म निर्माणका कारण उद्योग र कामदारलाई फाइदा हुने तर्क राख्छन्।
