PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

सिपिङ कम्पनीले बढाए तीन गुणा भाडा, सामान महँगो हुने निश्चित



अनन्तराज न्यौपाने

सिपिङ कम्पनीले बढाए तीन गुणा भाडा, सामान महँगो हुने निश्चित

विराटनगर : समुद्री मार्गमा कन्टेनर ढुवानी गर्ने सिपिङ कम्पनीहरूले भाडादर तीन गुणासम्म बढाएपछि औद्योगिक कच्चा पदार्थ र व्यापारिक मालवस्तुको मूल्य बढेको छ।

कोभिडका कारण पानीजहाज, कन्टेनर र ढुवानीकर्मीसमेतको उपलब्धता कम भएपछि सिपिङ एजेन्सीहरूले भाडादरमा वृद्धि गरेका हुन्। पूर्वाञ्चल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का कोषाध्यक्ष रमेश राठीले चीनबाट कोलकाता बन्दरगाहमा २० फिटे कन्टेनरमा मालवस्तु ल्याएको भाडादर २ महिनाअघि सम्म ८ सय देखि ९ सय डलर भएकोमा अहिले २७ सय डलर पुगिसकेको जानकारी दिए।

कोषाध्यक्ष राठी प्लास्टिक भाँडाकुँडा तथा अन्य सामग्री उत्पादन गर्ने स्वस्तिक पोलिमर नामको उद्योगका सञ्चालक हुन्।‘कोरोना महाव्याधिका कारण प्लास्टिक दानको मूल्यमा पनि वृद्धि भएको छ’, उनले भने, ‘पिपिई, मास्क, स्यानिटाइजरका कन्टेनर, पञ्जा आदिको खपत बढेसँगै प्लास्टिकका सामग्रीको खपत बढेपछि प्लास्टिक दाना पनि महँगो भएको हो। त्यसमा पनि सिपिङ एजेन्सीहरूले भाडादरमा तीन गुणासम्म वृद्धि गरेपछि उत्पादन लागत बढेको छ।’

हुलास वायर इन्डस्ट्रिजका प्रबन्ध निर्देशक मुकेश कोठारीका अनुासर चीनको निम्बोबाट कोलकाता बन्दरगाहसम्म आउने कन्टेनरलाई २ महिनाअघिसम्म २ हजार २ सय डलर भाडा तिर्नुपथ्र्यो। अहिले ६ हजार डलर भएको छ।त्यस्तै थाईल्यान्डबाट कोलकाता बन्दरगाहसम्म आउने कन्टेनरको भाडादर पनि ८ सयबाट २ हजार ५ सय डलर भएको छ।

हाइलाइफ चप्पलका निर्माता सुरभी पोलिमर्सका सञ्चालक विकास चौधरीले भने, ‘हामी सिङ्गापुर र मलेसियाबाट कोलकाता बन्दरगाहसम्म प्रति टन १ सय डलर भाडा तिरेर कच्चा सामग्री मगाइरहेका थियौँ । दुई महिनायता भाडादर बढ्दै–बढ्दै प्रति टन ३ सय डलर भएको छ।’
मोरङ व्यापार सङ्घका उपाध्यक्ष अनुपम राठीका अनुसार कोभिड कहरपछि भारतबाट हुने निकासीमा ह्रास आउँदा भारतका विभिन्न बन्दरगाहमा खाली कन्टेनर ठूलो मात्रामा थन्किएर बसेका छन्।

त्यस्तै कतिपय स्थानमा जहाज र जहाजका कामदारलाई क्वारेन्टाइनमा राखिने गरेका कारण तीनको उपलब्धता कम हुँदै गएको छ। कन्टेनर उत्पादन कम्पनीहरूले पनि कोरोना महाव्याधिका कारण उत्पादनमा कटौती गरेका छन्।उपाध्यक्ष राठीले कोभिड कहरपछि सिपिङ कम्पनीहरूले भाडामा कार्टेलिङ गरिरहेका कारणले पनि भाडामा वृद्धि भएको बताए।

‘चर्को भाडादरका कारण आयातीत हरेक मालवस्तुका मूल्यमा वृद्धि भएको छ र उत्पादन लागत पनि बढेको छ’, उनले भने, ‘त्यसैले अहिले हामीले अत्यन्त सीमित परिमाणमा पैठारी गर्ने अवस्था छ । किनकि भोलि स्थिति सामान्य हुनेबित्तिकै भाडादरमा पनि ह्रास आउँछ र मालवस्तु सस्ता हुन्छन्। त्यस बेला अहिले महँगोमा पैठारी गरिएका मालवस्तु सस्तोमा विक्री गर्नुपर्ने हुनसक्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell