संयुक्त राज्य अमेरिकाका हुँदै गरेका राष्ट्रपति जोय बाइडेनले अमेरिकी नागरिकलाई एक सय दिन मास्क लगाएर कोरोना भाइरस संक्रमणलाई नियन्त्रणमा सघाउन आग्रह गरेका छन्। हरेक अमेरिकीले मुख छोप्नेगरी मास्क ल गाउने हो भने कोभिड १९ संक्रमितको संख्यामा उल्लेख्य कमी ल्याउन सकिने उनले बताएको सीएनएनलाई उदृत गर्दै बीबीसीले जनाएको छ।
साथै बाइडेनले अमेरिकी सरकारी कार्यालयमा अनिवार्य मास्कको प्रयोग गर्नेबारे आदेश दिनसक्ने बताएका छन्।
अमेरिकामा अहिलेसम्म १ करोड ४० लाखभन्दा धेरै मानिसमा कोभिड १९ को संक्रमण देखिएको छ। त्यहाँ २ लाख ७५ हजार मानिसले यसैका कारण ज्यान गुमाइसकेका छन्।
सीएनएनमा ज्याक टपरसँगको अन्तर्वार्तामा बाइडेनले भने, 'मेरो पहिलो दिन नै म सर्वसाधारणलाई १०० दिन मास्क प्रयोगका लागि आग्रह गर्नेछु। केबल १०० दिनमात्र मास्क, सधैंका लागि होइन। एक सय दिन। र, मलाई लाग्छ यसले संक्रमितको संख्या घट्न योगदान दिनेछ। यदि त्यसो भयो भने मास्क र भ्याक्सिनले यो संख्यामा कमी ल्याउने छ।'
संविधानविदहरु अमेरिकी राष्ट्रपतिसँग त्यहाँका नागरिकलाई मास्क लगाउन निर्देशन दिने कानुनी आधार नभएको बताएका छन्। तर, बाइडेन र उप राष्ट्रपति निर्वाचित कमला ह्यारिसनले भने मास्कको प्रयोग गरेर उदाहरण प्रस्तुत गर्ने जनाएका छन्।
अमेरिकी सरकारी सम्पत्तिमा राष्ट्रपतिले कार्यकारी अधिकारको प्रयोग गर्नसक्ने व्यवस्था छ। त्यसैमा टेकेर सबै सरकारी कार्यालयमा मास्क प्रयोग अनिवार्य गराउने उनको रणनीति छ। 'म फेडरल बिल्डिङहरुमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नका लागि आदेश जारी गर्ने छु,'बाइडेनले भनेका छन्।
