काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या १५ लाख पार भएको छ। जोन्स हप्किन्स विश्वविद्यालयले संकलन गरेको तथ्याङ्कअनुसार संयुक्त राज्य अमेरिका, ब्राजिल र भारतमा सबैभन्दा धेरै मानिसको ज्यान गएको छ।
आज बिहान ८:१२ बजेसम्मको तथ्याङ्क अनुसार १५ लाख ४ हजार ४ सय ४३ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको हो। यसमध्ये अमेरिकामा सबैभन्दा धेरै मानिसले ज्यान गुमाएका छन्। अमेरिकामा अहिलेसम्म २ लाख ७६ हजार १ सय ४८ जना संक्रमितको मृत्यु भएको छ। दोस्रो स्थानमा रहेको ब्राजिलमा मृत्यु हुने संक्रमितको संख्या १ लाख ७५ हजार २ सय ७० पुगेको छ। यता भारतमा मृत्यु हुनेको संख्या १ लाख ३८ हजार ६ सय ४८ पुगेको छ।
अमेरिकामा दैनिक संक्रमितको संख्या दुई लाखको हाराहारीमा पुग्न थालेको छ भने दैनिक १ लाख जनासम्म अस्पताल भर्ना हुन पुगेको तथ्याङ्क सार्वजनिक भएको छ। यसले आगामी दिनमा मृत्यु हुनेको संख्या तीब्र गतिमा बढाउने देखिन्छ।
एकातिर कोभिड १९ विरुद्धको खोपका लागि प्रकृयाहरु अगाडि बढिसकेको सुखद् खबर छ भने अर्कातिर मृत्युको रफ्तार पनि तीब्र गतिमा बढिरहेको देखिन्छ।
मेक्सिकोमा १ लाख ७ हजार ५ सय ६५ जना मानिसले कोभिड १९ को संक्रमणकै क्रममा ज्यान गुमाइसकेका छन्। बेलायतमा मृत्यु हुनेको संख्या ६० हजार २ सय १० पुगेको छ। इटालीमा यो संख्या ५८ हजार २८ रहेको छ। फ्रान्समा ५४ हजार २ सय ३१ जनाले ज्यान गुमाइसकेका छन्। नेपालमा संक्रमणबाट १ हजार ५ सय ५१ जनाले ज्यान गुमाएका छन्।
