PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मनाङका कप्तान श्रेष्ठ भन्‍छन् : के खेल्नु फुटबल?



मुकुन्द घिमिरे

मनाङका कप्तान श्रेष्ठ भन्‍छन् : के खेल्नु फुटबल?

काठमाडौं: मंसिर १७ गते अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रशिक्षणका लागि खेलाडीहरुलाई बोलाउने जनायो। कोरोना महामारीका क्रममा लामो समय ठप्प नेपाली खेलकुद बंगलादेश सिरिज पछि जुर्मुराएको थियो। बंगलादेशमा दुई खेलको सिरिजमा एक हार र एक बराबरी खेल्दै समग्रमा पराजित भएर टोली नेपाल फर्कियो। एक हप्ताको छोटो तयारी पछि बंगलादेश सिरिजका लागि गएको नेपाल र घरेलु टोली दुबैको लक्ष्य थियो विश्वकप छनोट अन्तर्गतको खेलहरुको तयारी।

विश्वकप छनोटका खेलहरुमा नेपालले अब 'होम गेम' हरु खेल्न बाँकी छ। त्यसैको तयारीका लागि निमित्त प्रशिक्षक बालगोपाल महर्जनले ५८ खेलाडीलाई क्याम्पमा बोलाए। ठूलो संख्यामा खेलाडी बोलाउँदा कतिले त्यसलाई ठट्टा पनि बनाए: यो फुटबलकै खेलाडी बोलाएको हो कि अरु खेलका पनि?

एकरुपमा हेर्दा उक्त ठट्टा जायज नै पनि थियो, बोलाइएको खेलाडीको संख्या ठूलो थियो। तर उक्त बोलावटले एउटा सकारात्मक सन्देश पनि दिँदै थियो, धेरै प्रतिभाहरुबाट छानेर फुटबल टिम बनाइँदैछ भनेर।

तर, सामाजिक सञ्जालमा ए डिभिजन लिगमा सर्वाधिक सफल टिम मनाङ मर्स्याङदी क्लबका कप्तान कमल श्रेष्ठले आफू फ्रस्टेट भएको भन्दै स्टाटस राखे, लेखे, 'के खेल्नु फुटबल?'

+++

पछिल्लो सिजन ए डिभिजन लिगमा मनाङ मर्स्याङदी क्लबबाट तत्कालिन कप्तान बिराज महर्जनसहित अधिकांश चिनिएका अनुहारहरु मछिन्द्र क्लब पुगे। त्यसैले मछिन्द्र क्लबले लगानी अनुरुप पहिलो पटक ए डिभिजन लिग पनि जित्यो। उता मनाङ मर्स्याङदी क्लबको कप्तानीमा आए कमल श्रेष्ठ। उनको कप्तानीमा मनाङले गतिलो टक्कर दियो लिगमा र तेस्रो स्थान सुरक्षित गर्‍यो।

कमललाई विश्वास थियो ए डिभिजन लिगमा गरेको प्रदर्शन र मेहनतको आधारमा उनले राष्ट्रिय टिममा मौका पाउने छन्। तर त्यस्तो भएन।

लिगपछि लगत्तै कोरोना महामारी फैलियो। झण्डै आधा वर्ष फुटबल ठप्प भयो। अनि नेपाली फुटबल फर्कियो बंगलादेशसँगको सिरिजबाट। छोटो समयको तयारी पछि नेपालले बंगलादेशसँग खेल्ने भयो तर त्यो टिममा श्रेष्ठले स्थान पाएनन्। सोचे छोटो समयमा सबैकुरा सकिएकाले उनले स्थान पाएनन्। पछि त अवसर मिल्छ नै।

यता, विश्वकप छनोटका लागि एन्फाले बोलाएको ५८ जना खेलाडीमा पनि श्रेष्ठ अटाएनन्।

के भन्छन् श्रेष्ठ

म घाइते छैन। यी यत्रो ट्रेनिङ गरिरहेको छु। म आँफैले कुरा बुझ्न सकिरहेको छैन। एन्फामा रिसिइबी हो की के हो कुन्नी। ५८ भनेको त धेरै पो हो म त ११ मा खेलिरहेको मान्छे। एक्कासी अब कल नै हुन छाड्यो। अब ठिकै छ अर्को पटक मेहनत गर्छु भन्ने सोचेँ। अर्को पटक पनि कल आउँदैन। मैले मेहनत गरिरहेँ। अब त फ्रस्टेड नै भैसकेँ।

यो ५८ भनेको त मैले याद भएसम्म धेरै कल भएको यही पटक हो। क्लब साइडमा पनि मनाङ मर्स्याङदीबाट खेल्छु म। त्यसमा पनि क्याप्टेन छु। गोल्डकपहरु पनि आहा रारा, बुढा सुब्बा पनि जित्यौं। यसबाट त मलाई प्लस पोइन्ट हुन्छ होला भन्ने सोचेको थिएँ। डाइरेक्ट टिममा नभए पनि कलमा पर्छु भन्ने थियो। अनि ५८ जनालाई बोलाउँदा पनि मलाई मात्र नबोलाउँदा कस्तो भयो होला?

अझ लिगमा पनि राम्रो भएको थियो। तेस्रो स्थानमा थियौं हामी। थाहै छैन के भयो भयो। एकपटक  कारण मात्रै भन्दिए पनि हुन्थ्यो। कसलाई सोध्ने के भन्ने। केही थाहा भएन। बंगलादेशको लागि पनि कलिङ नै भएन। मैले सोचेको थिएँ हतारहतारमा टिम बनाएको होला भनेर। त्यो पछि अब फुटबल राम्रो हुँदैछ भन्ने लागि रहेको थियो। यसरी त करियर नै डामाडोल भइहाल्छ नि एउटा खेलाडीको। टिममा पर्नु नपर्नु आफ्नो ठाउँमा छ तर त्यत्रो खेलाडीहरुलाई बोलाउँदा कलिङमा त पर्नुपर्ने हो नि। मेरो चित्त दुखेको चाहीँ त्यही हो।

फेरि नाम सुन्छु त्यहाँ कति जना त चिन्दै नचिनेका खेलाडीहरु पनि छन्। म त्यही छक्क परिरहेको छु मेरो नामचाहिँ त्यहाँ किन परेन भनेर। मसँग पो केही समस्या छ कि? केहि बुझ्न सकेको छैन। अघिल्लो वर्ष अन्तिम पटक कतारसँग खेलेयता म राष्ट्रिय टिममा परेको छैन।

यद्यपि यस्तो अवस्थाबाट गुज्रिएका श्रेष्ठ एक्ला खेलाडी भने होइनन्। उनी अघि राष्ट्रिय टिमबाट कप्तानी गर्दै आएका बिराज महर्जन पनि एक्कासी टिमबाट बाहिरिएका थिए। त्यस्तै अनुशासन प्रकरणमा मुछिएका खेलाडीहरु कारवाही भोगिसकेपछि पनि टिममा नपरेको भनेर आलोचना भएको थियो। यद्यपि यसपटक महर्जन लगायत विमल घर्तीमगरलाई पनि एन्फाले प्रशिक्षणमा बोलाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell