PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

ओलीले थाले आफ्नो समूहको रणनीतिलाई निष्कर्षमा पुर्‍याउन बालुवाटारमा छलफल, खुमलटार पठाए दूत



प्रकाश भण्डारी

ओलीले थाले आफ्नो समूहको रणनीतिलाई निष्कर्षमा पुर्‍याउन बालुवाटारमा छलफल, खुमलटार पठाए दूत

काठमाडौं: प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुसँग छलफल थालेका छन्। अहिले बालुवाटारमा छलफल भइरहेको ओली निकट स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्रीले आफ्नो विपक्षमा रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल पक्षसँगको बिवादका विषयमा छलफल थालेका हुन्। 'म अहिले बालुवाटारमा छु। अहिलेको बिवादकै बारेमा छलफल भइरहेको छ। अब के गर्ने भन्ने निष्कर्षमा पुग्नका लागि प्रधानमन्त्रीले छलफल थाल्नुभएको हो,' स्रोतले भन्यो।

ओलीले बिहीवार राष्ट्रपति भण्डारीसँग भेटेर पार्टीमा देखिएको बिवादका बारेमा छलफल गरेका थिए। ओलीसँगको छलफलपछि भण्डारीले अर्का अध्यक्ष प्रचण्डलाई शीतल निवास बोलाएर छलफल गरेकी थिइन्।

भेटमा प्रचण्डले राष्ट्रपतिलाई ओलीले चाल्ने अप्रिय कदममा साथ नदिन आग्रह गरेको बताइएको छ।

ईश्वर पोखरेल खुमलटारमा

ओलीले सचिवालय सदस्य ईश्वर पोखरेललाई प्रचण्ड निवास खुमलटारमा पठाएका छन्। सहमतिका विभिन्न प्रस्ताव लिएर अहिले प्रचण्डसँग पोखरेलले छलफल गरिरेहको प्रचण्ड निकट स्रोतले जानकारी दिएको छ। 'अहिले ईश्वर कम्रेड आउनुभएको छ। छलफल भइरहेको छ, 'स्रोतले भन्यो।

१७ गतेको सचिवालय बैठकमा ओलीले उपस्थित नहुने अडान लिएपछि प्रचण्डले ३ दिन सचिवालय सार्दै शनिवारका लागि सचिवालय बैठक बोलाएका छन्। सचिवालय बैठक सर्दा १८ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक प्रभावित भएको थियो। मंसिर २१ गतेका लागि स्थायी कमिटी र मंसिर २५ मा केन्द्रीय कमिटीको बैठक बोलाइएको छ।

ओलीले प्रचण्डलाई सचिवालयमा दर्ता भएको प्रस्तावलाई फिर्ता लिएर सहमतिमा आउन आग्रह गरिरहेका छन्। तर प्रचण्ड-नेपाल समूहले कमिटी बैठकबाटै विवादको किनारा लाउन अडान राखेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell