PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

भारतसँगको वार्तामा सीमा विवाद प्रमुख एजेन्डा हुने मन्त्री ज्ञवालीको भनाइ, चीनसँग विवाद नरहेको स्पष्टोक्ति



पहिलोपोस्ट

भारतसँगको वार्तामा सीमा विवाद प्रमुख एजेन्डा हुने मन्त्री ज्ञवालीको भनाइ, चीनसँग विवाद नरहेको स्पष्टोक्ति
फाइल फोटो।

काठमाडौं : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले डिसेम्बरको अन्त्यतिर आफू भारत भ्रमणमा जाने र भ्रमणको प्रमुख एजेन्डा सीमा विवाद हुने बताएका छन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उपस्थित भएका मन्त्री ज्ञवालीले भारतसँगको सम्वादहीनताको अवस्था पनि अन्त्य भएको बताए।

उनले भारतीय 'रअ' प्रमुख सामन्त गोयल र भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाको नेपाल भ्रमणले दुई देशबीच उत्पन्न संवादहीनताको अवस्था अन्त्य गरेको बताए। उनले विदेश सचिवको नेपाल भ्रमणमा सीमा सम्बन्धी समस्यालाई औपचारिक एजेन्डा बनाएर उठाइसकेको बताए।

उनले नेपालले जुन उचाइबाट सीमा समस्याको कुरा राख्नुपर्ने हो त्यसलाई औपचारिक रुपमा नै एजेन्डा बनाएर राखिएको दाबी गरे। उनले नेपाल र भारतबिच रहेका सीमा विवाद लगायतका सबै विषयमा छलफल हुने बाटो खुल्ला भएको पनि बताए।

व्यापार, वाणिज्य, जलस्रोत, सीमा विवादका विषयमा भारतसँग स्पष्ट छलफल गर्ने बाटो खुल्ला भएको र त्यसलाई भारतीय सरकारले पनि स्वीकार गरेको बताए। सीमा सम्बन्धी विषयमा छलफल गर्ने गरी दुई देशका सचिवस्तरीय बैठक बस्ने तयारी भइरहेको पनि मन्त्री ज्ञवालीले बताए।

साथै परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक गर्ने तयारी भएको र त्यसका लागि आफू भारत जाने तयारी गरिरहेको उनले बताए। सो बैठकको प्रमुख एजेन्डा नै सीमा विवाद हुने उनले जानकारी दिए।

सांसदहरुले 'रअ' प्रमुखको नेपाल भ्रमणको विषयलाई लिएर सरकारको आलोचना गरेपछि गोयल नेपालमा 'रअ' प्रमुखको रुपमा नभई विशेष दूतको रुपमा आएको स्पष्ट पारे।

'कुटनीतिमा यस्तो हुन्छ। विशेष दूतको रुपमा व्यक्ति पठाउन सकिन्छ। त्यो सांस्कृतिक रुपमा ब्यापारिक रुपमा पनि हुन सक्छ। व्यापारीहरु पनि पठाउन सकिन्छ,' उनले भने, 'हामीले पनि नेपालमा भारतले नाका बन्दी लगाउँदा राजेन्द्र क्षेत्रीलाई भारत पठाएका थियौं। 'रअ' प्रमुख नेपाल आएका होइनन्। दूत आएका हुन्।'

उनले 'रअ' प्रमुखको नेपाल भ्रमणले धेरै कुराहरुमा परिणाम दिन थालेको समेत दाबी गरे। उनले सीमाको विषयमा नेपालको स्पष्ट अडान रहेको भन्दै सुगौली सन्धी अनुसार हुने र सोही अनुसार बैठकमा कुरा उठाउने उनले बताए।

यसैबिच मन्त्री ज्ञवालीले चीनसँगको कुनै पनि सीमा विवाद नभएको दाबी गरे। '२०७३ सालतिर पनि त्यस्तै अतिरन्जित हल्ला भएका थिए। अहिले पनि भए। हुँदै नभएको विभागको प्रतिवदेनलाई लिएर अतिरञ्जित हल्ला फैलाइयो,' उनले भने, 'चीनसँग सीमा विवाद छैन। चीनसँग सीमाको विषयमा प्रोटोकलमा हस्ताक्षर भएको छ। विवाद भए पनि सहजै रुपमा सुल्टिन्छ। भारतसँग जस्तो विवाद हुन्न।'

यसैबिच मन्त्री ज्ञवालीले साता भित्र परराष्ट्र नीति सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए। त्यस्तै सगरमाथाको उचाइ पनि एक साताभित्रै सार्वजनिक हुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell