PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

कोभिड सम्बन्धी राष्ट्रसंघ महासभाको विशेष सत्रमा प्रधानमन्त्रीको सम्बोधन:  'कसैलाई लाग्ला सुरक्षित छौँ, तर हामी सानो डुंगामा छौं खतरामा छौँ'



पहिलोपोस्ट

कोभिड सम्बन्धी राष्ट्रसंघ महासभाको विशेष सत्रमा प्रधानमन्त्रीको सम्बोधन:  'कसैलाई लाग्ला सुरक्षित छौँ, तर हामी सानो डुंगामा छौं खतरामा छौँ'

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को महामारी स्वास्थ्य समस्या मात्र नभएर विश्वका लागि 'वेकअप कल' भएको बताएका छन्।

'अहिलेको पाण्डेमिक स्वास्थ्य संकट मात्र नभएर यो राष्ट्रहरुबीचको बढ्दो असमानता र प्रकृतिसँग मिलाप गर्न सक्ने मानवताको असफलताको वेक अप कल हो,' संयुक्त राष्ट्र संघको महासभा अन्तर्गतको कोभिड-१९ सम्बन्धि ३१औं विशेष सत्रलाई सम्बोधन गर्दै उनले भने,  'हो हामी सबै एउटै आगाको भुंग्रोमा छौँ। हामी मध्ये कसैलाई लाग्न सक्ला हामी सुरक्षितछौं भनेर तर, यो त्यस्तो होइन हामी सबै खतरामा छौं।'

पूर्ववत रेकर्ड गरिएको भिडियो सम्बोधनमा उनले विश्वका जुनसुकै कुनामा रहेका सबै मानिसहरु यसबाट प्रभावित भएको भन्दै यसले दिएको पीडा शव्दमा बयान गर्न नसकिने बताए।

'पान्डेमिकले हामीलाई विशेष पाठ पढाएको छ। यो विश्व एउटा सानो डुंगा हो। हामी सबै यसका यात्रुहरु हौँ। हामी यसलाई मन पराउँ वा नपराउँ हामी सबैको भाग्य यही हो।'

उनले नेपाल अरु देशहरु जस्तै यो किसिमको महामारीको सामना गर्न तयारी अवस्थामा नरहेको स्वीकार गरे। तर, उनले भाइरसलाई नियन्त्रण गर्न सबै राजनैतिक, आर्थिक, मानव, र प्राविधिक संसाधनहरू परिचालन गरेको दाबी प्रस्तुत गरे।

आवश्यक परेका नागरिकलाई कोरोना परीक्षण र उपचार निशुल्क गरिएको दाबी गर्दै उनले देशका हरेक तहमा स्वास्थ्य प्रणालीको लागि आवश्यक पूर्वाधार, मानव र वित्तीय स्रोतहरू र चिकित्सा उपकरणहरू सुनिश्चित गरिएको दाबी गरे।

उनले सुरुमा कोभिड-१९ परीक्षणका लागि एउटा पनि प्रयोगशाला नभएको अवस्थामा हाल ६८ वटा प्रयोगशालाको विस्तार गरिएको भन्दै उनले ७० वटा कोभिड-१९ अस्पताललाई तोकिएको बताए।

सबै ७५३ स्थानीय स्तरमा आधारभूत स्वास्थ्य सुविधा सहितका अस्पताल निर्माणको दिशामा अगाडि बढेको प्रधानमन्त्री ओलीले बताए। त्यस्तै कोभिड १९ सम्बन्धित ४८ वटा निर्देशिकाहरु तयार पारेर लागु गरेको उनको भनाइ थियो।

उनले कोभिड-१९ विरुद्धको भ्याक्सिन तयार भएको भन्ने समाचारले उत्साहीत भएको बताउँदै जबसम्म भ्याक्सिनको विश्वव्यापी उपलब्धता हुँदैन तबसम्म विश्व सुरक्षित नहुने बताए।

उनले जीवन जोगाउने भ्याक्सिन नाफाका लागि प्रयोग गर्न नहुनेसमेत बताए। 'समग्र मानवता नै संकटमा परेको बेला हामी विश्वास गर्छौं कि मानिसको जीवन जोगाउने भ्याक्सिनहरु नाफा बढाउने साधन हुनुहुँदैन्। यी सबै विश्वव्यापी सबैदेशका सबै नागरिकहरुका लागि सर्वसुलभ उपलब्ध हुने सार्वजनिक सम्पत्ति हुनुपर्छ,' उनले भनेका छन्।

उनले महामारीलाई अन्तर्राष्ट्रिय प्रतिवद्धता र एकताबाट पछाडि हट्ने बहाना बनाइन नहुने उनले बताए । विशेष परिस्थितिमा रहेका देशहरूलाई आफ्नो अर्थव्यवस्था स्थिर राख्न र ऋण संकटलाई समाधान गर्न अझ बढी सहयोगको खाँचो रहेको उनको भनाइ छ।

‘वर्तमान संकटले समाजको रक्षा गर्न जीवन बचाउने र विश्वव्यापी एकताको साँचो प्रतिबद्धताको माग गर्दछ। हामी विचलित हुनु हुँदैन। हामीले एउटा समुदाय, एक सभ्यता र एक विश्वको रूपमा कार्य गर्नुपर्दछ,’ उनले भनेका थिए।

महासभाको विशेष सत्रमा ३७ देशका राष्ट्र प्रमुख तथा ३९ देशका सरकार प्रमुखसहित विश्वका १५५ नेताहरुले सम्बोधन गर्दै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell