PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

नेकपाको तीन दिने ‘कुलिङ पिरियड’मा झनै बढ्यो विवाद : प्रचण्ड-नेपाल पक्षको चेतावनी, ‘अध्यक्ष पार्टीभन्दा माथि होइन, बहुमतको निर्णय मान्नुपर्छ’



प्रकाश भण्डारी

नेकपाको तीन दिने ‘कुलिङ पिरियड’मा झनै बढ्यो विवाद : प्रचण्ड-नेपाल पक्षको चेतावनी, ‘अध्यक्ष पार्टीभन्दा माथि होइन, बहुमतको निर्णय मान्नुपर्छ’

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधानका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पाएको ३ दिनको समयमा तिक्तता झनै बढेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियतामा कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ र ओलीबीच सहमति गराउन ओली पक्षका नेताहरु सक्रिए भएपनि सहमति हुन नसकेपछि विवाद झनै चर्किएको हो।

प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहका नेताहरुले अब ओली बहुमतको निर्णय मान्न तयार हुनुपर्ने चेतावनी दिएका छन्।

सहमति मात्रै पार्टीको विधि होइन

प्रचण्ड-नेपाल पक्षका विद्यार्थी नेताले राजधानीको थापाथली क्याम्पसमा आयोजना गरेको भेलामा सहभागी भएको दोस्रो तहका नेताहरुले ओलीलाई बहुमतको निर्णय मान्नुपर्ने बताएका हुन्। स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले अब पार्टीले बहुमतको निर्णय गरेर अघि बढने बताइन्।

‘सहमति मात्रै पार्टीको विधि होइन। पार्टी बहुमतको निर्णय गरेर अघि बढ्छ,’ उनले भनिन्।

जसले नेकपालाई सिध्याउन खोज्छ उ आफैँ सकिएर जाने उनको तर्क छ। उनले अध्यक्ष तथा प्रधानमन्त्री ओली पार्टीभन्दा माथि नभएको भन्दै बहुमतको निर्णय मान्न तयार रहन चेतावनी दिइन्।

‘जसले सिध्याउन खोज्छ उही आफैँ सिधिन्छ। अध्यक्ष भएपनि पार्टीभन्दा माथि होइन,’ उनले भनिन्।

सकेसम्म सहमति नभए बहुमतबाट निकास

भेलामा सहभागी अर्की स्थायी कमिटी सदस्य पम्फा भुसालले पार्टीमा गम्भीर संकट देखिएको बताइन्। उनले अहिले देखिएको समस्या पार्टी कमिटीबाट हल गरिने तर्क गरिन्। सकेसम्म सर्वसम्मत निर्णय गरेर अहिलेको संकटको समाधान गरिने भुसालको भनाइ छ।

‘पार्टीमा संकट छ। सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीबाट गम्भीर छलफल गर्छौँ। एकता संघर्ष र रुपान्तरण विधिबाट हल गर्छौँ। सकेसम्म सर्वसम्मत नभए संगठनात्मक विधि छ। त्यसबाट हल गर्छौँ,’ उनले भनिन्।

उनले प्रधानमन्त्री ओलीलाई बैठकबाट नभाग्न चेतावनी दिएकी छन्। शनिवारको सचिवालय बैठकमा ओली आउनुपर्ने उनको भनाइ छ। प्रधानमन्त्रीले बैठकमा जसरी पनि आउनुपर्ने भुसालले बताइन्।

‘उहाँ आउनुपर्छ। समस्याको समाधान नगर्ने नेतृत्व हुन सक्दैन। उहाँ आउनुहन्छ। समस्याबाट भाग्न मिल्दैन,’ भुसालले भनिन्।

लचकता कहिले सम्म?

नेकपाभित्र गत बैशाख यता लगातार विवाद देखिँदै आएको छ। बितेको ८ महिनामा विवाद-सहमति-विवादको श्रृंखला चलेको भएपनि अहिले भने नेताहरुले सहमतिको सम्भावना क्षिण भएको बताइरहेका छन्। ओलीले आफ्ना विरुद्ध कदम चालिए आफू त्यो भन्दा ठूलो कदम चाल्ने भन्दै आफू इतरका नेताहरुलाई चेतावनी दिइरहेका छन्।

उनले सचिवालयमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा पनि महाधिवेशन अघि नेतृत्व परिवर्तनको सम्भावना नभएको उल्लेख गरेका छन्। तर, प्रचण्ड-नेपाल समूह भने ओलीलाई गलाएरै अघि बढ्ने रणनीतिमा लागेकाले विवादको निष्कर्ष निस्कन सकेको छैन।

स्थायी कमिटी सदस्य भुसालले अब लचकता कहिले सम्म भन्ने प्रश्नको जवाफमा आफूले नेतालाई निर्णय गरेर अघि बढ्न भनेको बताइन्। उनले भोलि बस्ने सचिवालय बैठक निर्णायक हुने जानकारी दिइन्।

‘नेताहरुलाई अगाडि बढ्नुस् भनेका छौँ। भोलिको बैठक निर्णायक हुन्छ,’ भुसालले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell