PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मापदण्ड विपरीत सञ्चालन भएको भन्दै इन्डो नेपाल हस्पिटलमा प्रशासनको छापा, कागजपत्र नियन्त्रणमा



राधेश्याम पटेल

मापदण्ड विपरीत सञ्चालन भएको भन्दै इन्डो नेपाल हस्पिटलमा प्रशासनको छापा, कागजपत्र नियन्त्रणमा

वीरगंज : वीरगंज-१६ रजयजयन्ती चोकमा रहेको नेपाल इन्डो हस्पिटल एण्ड आई सेन्टर (इन्डो नेपाल अस्पताल)मा स्थानीय प्रशासनले छापा मारेको छ। कर छली तथा मापदण्ड विपरित सञ्चालन भएको उजुरीको आधारमा प्रशासनले छापा मारेर कागजात नियन्त्रणमा लिएको हो।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको नेतृत्वमा गएको अनुगमन टोलीले अस्पतालका सबै कागजात नियन्त्रणमा लिएर छानबिन शुरु गरेको छ। अस्पताल सञ्चालनको लागि तोकिएको मापदण्ड पूरा नभएको र हचुवाको भरमा अस्पताल सञ्चालन गरी बिरामी र राज्यलाई ठग्ने काम भएकोले छानबिन शुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

‘अस्पतालमा कुनै पनि मेडिकल काउन्सिलमा दर्ता भएको डाक्टरलाई नियुक्त गरेको पाइएन, अर्कोतर्फ बिना भ्याट र प्यान नम्बरको दुई थरीबाट फलानो बिरामीको ६४ हजार रसिद काटेको छ,’ उनले भने, ‘सरोकारवाला निकायसहितको अनुगमनबाट धेरै कमीकमजोरी भेटिएको छ, स्थानीय प्रशासनले निर्णय गरी अस्पतालको छानबिन अघि बढाउँछौँ।’

उनले अस्पतालमा केही बिरामी उपचारत रहेकोले हाल शिल नगरिएको र सबै बिरामी डिस्चार्ज भएपछि अस्पतालमा पनि ताला लगाइने बताए। नेपाल भारत सीमा क्षेत्रमा सञ्चालित उक्त अस्पतालमा भारतीय बिरामी बढि आउने गरेका छन्। अस्पतालमा कार्यरत स्वास्थयकर्मीहरुको पनि कागजात नभेटिएको र अस्पताल सञ्चालन गर्ने व्यवस्थापन पक्ष छापा हानिएको समयमा उपस्थित नरहेको बताइएको छ।

उक्त अस्पताल पहिले आँखा अस्प्तालबाट सञ्चालनमा आएको थियो। अस्पतालमा पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँका भाइ मोसालिम मियाँको लगानी छ।अस्पताल मोसालिम मियाँकी छोरी खालिदा खातुनको नाममा दर्ता छ। अस्पतालाई वीरगंज महानगरले २५ शय्याको अस्पताल सञ्चालनको लागि अनुमति दिइएको कागजात भेटिएको छ। छापा हानिएपछि डाक्टर तथा स्वास्थ्यकर्मीहरुको भागाभाग भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell