काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दूर्व्यवहारविरुद्ध मंसिर २७ गते देशव्यापी प्रदर्शन गर्ने भएको छ। कांग्रेसले पौडेलमाथि भएको दूर्व्यवहारले सरकारमा सर्वसत्तावादी प्रवृत्ति देखिएको भन्दै आलोचना पनि गरेको छ।
पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले विरोध प्रदर्शनको निर्णय गरेको हो।
बैठकको निर्णयमा भनिएको छ, ‘तनहुँ जिल्लामा गत १७ गते सरकारले प्रस्तुत गरेको दमनकारी व्यवहारलगायत देशका विभिन्न भागमा पटक-पटक सरकारबाट प्रस्तुत विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड—१९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता र अकर्मण्यता तथा स्वास्थ्य सामग्री खरिदमा गरिएको भ्रष्टाचारदेखि अनेकन भ्रष्टाचार काण्ड र बेथितिविरुद्ध यही मंसिर २९ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने।’
यस्तै, बैठकले तत्काल संसद् अधिवेशन बोलाउन पनि माग गरेको छ। राष्ट्रिय रुपमा उठेका जीवन्त प्रश्नहरुमा छलफलको आवश्यकता रहेको भन्दै बैठक बोलाउन सरकार र सभामुखसमक्ष माग गरेको हो।
