PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कानुनमा फोहोर गर्नेलाई महंगो जरिवाना, तै पनि किन सडकमै फोहोर फालिन्छ उपत्यकामा?



कमलराज भट्ट

कानुनमा फोहोर गर्नेलाई महंगो जरिवाना, तै पनि किन सडकमै फोहोर फालिन्छ उपत्यकामा?

काठमाडौं: सरसफाई मानव स्वच्छताको अभिन्न अंग हो। मानवको पहिलो परिचयको प्रतीक पनि। सरसफाई व्यक्तिगत तहमा, सहरको तहमा, देशको तहमा र विश्वको तहमा हुन्छ। हामी यहाँ देशको राजधानी काठमाडौं सहरको तहमा सरसफाईको चर्चा गर्दैछौं। सबैलाई थाहा भएकै कुरा हो, हाम्रो काठमाडौं त्यति सफा छैन। धुलोधुवा त भइहाल्यो, घरबाट निस्कने फोहोर सडकमा यत्रतत्र फ्याँकेको पाउँछौं।

काठमाडौं उपत्यकामा ठाउँ ठाउँमा खुल्ला फोहोरका डंगुर देख्न पाइन्छ। हुन त काठमाडौंको फोहोर नुवाकोटको सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। यसका बाबजुद पनि सडकमा फोहोर फाल्ने क्रम रोकिएको छैन। बाटोमा हिँड्दा दुर्गन्धले नाक बन्द गर्नुपर्ने अवस्था छ।

झन बर्खामा त सिसडोल पुग्ने बाटो बिग्रिने समस्याले फोहोर नियमित उठ्दैन। स्थानीयले सडकमा फाल्दा राजधानी सहरमा फोहोरको डंगुर थुप्रिन्छ। २०६२ सालबाट नुवाकोटको सिसडोलमा तीन वर्षका लागि भनेर फोहोर फाल्न सुरू गरियो। तर अहिलेसम्म त्यहीँ फाल्ने गरिएको छ। तीन वर्षपछि बञ्चरेडाँडामा दीर्घकालीन डम्पिङ साइट बनाउने योजना भए पनि हालसम्म बन्न सकेको छैन।

काठमाडौं महानगरपालिका वातावरण प्रमुख हरिकुमार श्रेष्ठ फोहोर व्यवस्थापन जटिल बन्दै गएको स्वीकार्छन्। उनी डम्पिङ साइटदेखि नागरिकको चेतनास्तरसम्मले व्यवस्थापनमा प्रभाव पार्ने मत राख्छन्।

सामाखुसीका पूर्ण चौलागाईं बाटोमा देखिने फोहोरको डंगुरबाट आजित छन्। विभिन्न देशको भ्रमण समेत गरिसकेका उनी यसमा महानगरको व्यवस्थापन नपुगेको देख्छन्। 'विदेशमा सडकमा पनि धुलो हुँदैन। हाम्रो त सडकमै फोहोरको डंगुर छ। यसमा महानगर र पब्लिक दुबैको कमजोरी छ,' उनी भन्छन्।

अनामनगर बस्ने तुलसी सुवेदी महानगरको गाडी लिन नलाउँदा बाटोमा फाल्नुपर्ने बाध्यता रहेको सुनाउँछन्। 'महानगरले समयमा फोहोर उठाउँदैन। एउटा कोठा लिएर बसेका छौं। फोहोर राख्ने कि आफू बस्ने?' उनी प्रश्न गर्छन्।

जावलाखेल बस्ने नेत्र तामाङ बाटोमा फालिने फोहोरले सहरको सौन्दर्यलाई कुरुप बनाएको बताउँछन्। 'फोहोरको समस्या कहिल्यै समाधान हुने जस्तो देखिएन,' उनी निराशा व्यक्त गर्छन्, 'राजधानी फोहोर हुँदा देशै फोहोरजस्तो सन्देश गयो।'

लकडाउन हुँदा काठमाडौं केही मात्रामा भए पनि सफा देखिन्थ्यो। तर लकडाउन खुलेसँगै सडकमा फोहोरका थुप्रो देखिन थालेको छ। यसलाई काठमाडौं महानगर वातावरण प्रमुख श्रेष्ठ दण्डहिनताको पराकाष्ठ भन्छन्। 'ऐनकानुन र कारवाहीले खासै प्रभाव परेन। मान्छे अनुशासित भएनन्,' उनले भने।

तै पनि बाटोमा फोहोर फाल्ने क्रम न्युनिकरण गर्न महानगरले अनुगमन गर्दै आएको छ। श्रेष्ठ अनुगमनका क्रममा धेरैलाई भेटेर कारवाही गरिएको बताउँछन्। 'कारवाही गर्दा पनि नियन्त्रण हुन सकेन,' उनी भन्छन्।

कारवाहीका साथसाथै महानगरले फोहोर नफाल्ने अवस्थाका लागि सचेतना कार्यक्रम पनि गरिरहेको छ।

वातावरण विभाग प्रमुख श्रेष्ठ भन्छन्, 'महानगर फोहोर उठाउन टाइममै गएको छ। ८ बजेभित्र सकिसक्छौं। सडकबाट पनि उठाएका छौं। डस्टविन पनि राखिदिएका छौं। तर आएर सडकमा फाल्ने प्रवृत्ति छ।'

श्रेष्ठ काठमाडौंलाई फोहोरमैलामा व्यवस्थित बनाउन महानगर लागिरहेको बताउँछन्। 'अनुगमन र कारवाहीलाई तीव्रता दिन्छौं। विहानदेखि रातीसम्म अनुगमन भइरहेको छ। तुलनात्मक रुपमा कम भएको छ। तर अवस्था सन्तोषजनक छैन,' उनले भने।

उनले फोहोरमैला व्यवस्थापनमा नागरिकले पनि सहयोग गर्नुपर्नेमा जोड दिए।

श्रेष्ठका अनुसार फोहोरमैला व्यवस्थापन ऐन २०६८ अनुसार सार्वजनिक स्थानमा फोहोर गर्नेलाई ५ हजारदेखि १ लाखसम्म जरिवाना हुन्छ।

काठमाडौं महानगरपालिकाका प्रमुख एवं उपत्यका फोरमका अध्यक्ष विद्यासुन्दर शाक्य उपत्यकाकै फोहोर व्यवस्थापनका लागि वञ्चरेडाँडामा डम्पिङ साइट बनिरहेको र नगरपालिकाहरुले प्रभावकारी रुपमा उठाउने प्रयास गरिरहेको बताउँछन्।

'स्वच्छ उपत्यका हाम्रो मिसन हो, खानेपानी तथा सरसफाई मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सहरी विकास मन्त्रालयसँग कोर्डिनेसन गरेर फोहोर व्यवस्थापनलाई सुधार्दै गइरहेका छौं। पब्लिक पनि सचेत हुन जरुरी छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell