PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ठूलो पर्दामा फिल्म हेर्न कहिले मिल्ला? तर्सिएका दर्शक फर्किएलान् सिनेमाघरमा?



पहिलोपोस्ट

ठूलो पर्दामा फिल्म हेर्न कहिले मिल्ला? तर्सिएका दर्शक फर्किएलान् सिनेमाघरमा?

कोभिड-१९ नियन्त्रणका लागि अमेरिकाका सिनेमाघरहरू बन्‍द गरिएका थिए। सिनेमाको सर्वाधिक ठूलो बजार रहेको अमेरिकामा सिनेमाघरहरू ठप्प रहेपछि भएको आर्थिक क्षतिबारे विविध विश्लेषण भए। करिव ६ महिनापछि, गत सेप्टेम्बरदेखि सिनेमाघरहरू खुले। तर, दर्शक फर्किएनन्।

एक्सन थ्रिलर 'टेनेट' सोही समय प्रदर्शनमा आएको थियो। उक्त फिल्मले सिनेमाको बजारलाई लयमा फर्काउने अनुमान गरिएको थियो। तर, त्यसो भएन। फिल्मले दुई सातामा जम्मा २९.५ मिलियन डलर बक्सअफिस कलेक्सन गर्‍यो। फिल्मको व्यवसायिक असफलतासँगै निर्माण कम्पनी वार्नर ब्रोजले आफ्ना अन्य ठूला फिल्मको प्रदर्शन स्थगित गरेको थियो।

अब भने मनोरञ्जन क्षेत्रकै ठूलो कम्पनी वार्नर ब्रोजले आफ्नो निर्माण रहने फिल्महरू अनलाइन स्ट्रिमिङमार्फत् देखाउने योजना बनाएको छ। सिनेमाघरमार्फत् सार्वजनिक भए लगत्तै स्ट्रिमिङ साइटमा उपलब्ध गराउने भएको हो। ठूलो बजेटमा निर्मित 'वन्डर वुमन १९८४' लाई पनि क्रिस्टमसको उपलक्ष्यमा एचबिओ म्याक्समार्फत् रिलिज गर्ने भएको छ।

कोभिड-१९ का कारण ठप्प सिनेमा घरहरू तत्काल खुल्ने छाँट छैन। त्यसैले कम्पनीले सन् २०२१ मा 'ड्यून', 'मेट्रिक्स'को सिक्वेलसहित अन्य फिल्महरू स्ट्रिमिङ साइटमै उपलब्ध गराउँदै छ। यस निर्णयले हलिउडका फिल्म निर्माण कम्पनी र सिनेमा घरहरू बीच तनाव सिर्जना गर्ने अनुमान गरिएको छ।

तर, वार्नर मिडिया स्टुडियोजकी अध्यक्ष एवं प्रमुख कार्यकारी एन सर्नोफ भने यस निर्णयलाई 'सिर्जनात्मक समाधान'को संज्ञा दिन्छिन्। बीबीसीसँग भनेकी छिन्,'सिनेमा घरमा फिल्म प्रदर्शन हुने दिनको पर्खाइमा छौं हामी। हामीलाई जति हतार कसैलाई छैन।' तर, सिनेमा घरमा दर्शक नआउने स्थितिकै कारण स्ट्रिमिङ् प्ल्याटफर्म रोजेको उनको दावी छ।

यसअघि युनिभर्सल फिल्म्सले पनि फिल्म सिनेमा घरमा प्रदर्शन भएको १७ दिनपछि अनलाइन प्ल्याटफर्ममा उपलब्ध गराउने बताएको छ।

विश्वभर फिल्म सिनेमाघर मार्फत् सार्वजनिक हुन्थे। फिल्मले पाउने दर्शक, बक्सअफिस कलेक्सन साथै प्रतिक्रिया र समीक्षाको आधारमा सिनेमाघरमा टिक्थे। कुनै महिनौंसम्म त कुनै एक साता नबित्दै नयाँ फिल्मले बिस्थापित गर्थ्यो।

सन् २०२० को सुरुवातमा कोभिड-१९ संक्रमणको फैलदै गएपछि एकपछि अर्को देशका सिनेमाघरहरू बन्द गरिए। संक्रमण नियन्त्रणका लागि भन्दै सबैभन्दा अगाडि सिनेमा घर बन्द गर्ने देशहरूमध्य हुन् भारत र नेपाल।

भारत केन्द्र सरकारले लकडाउन यता ठप्प रहेका सिनेमाघरहरू अक्टोबर १५ देखि पुन: सञ्चालनको अनुमति दियो। त्यहाँको गृह मन्त्रालयले पाँचौ चरणमा जारी गरेको निर्देशिकामा सिनेमा क्षेत्रलाई राहत दिन ५० प्रतिशत अकुपेन्सीका साथ सिनेमाघर सञ्चालन गर्न भनेको थियो।

सिनेमाघर सञ्चालकहरूले पूराना फिल्म प्रदर्शन अपनाउनु पर्‍यो। किनकि निर्माण भइसकेका फिल्महरू धमाधम डिजिटल प्ल्याटफर्ममार्फत् सार्वजनिक भइरहेका छन्। केही भने दर्शक हलमा फर्कन सक्ने अनुकुल समयको प्रतीक्षा गरिरहेका छन्।

एकातिर सिनेमा क्षेत्र ठप्प हुनुका कारण परेको आर्थिक क्षतिको हिसाब किताब। अर्कोतिर हल सञ्चालनमा आउँदा बढ्ने खर्च र फिल्म एवं दर्शक नहुँदा व्यहोर्नु पर्ने घाटा। तत्काल सिनेमा घर खुलेपनि सञ्चालकले चाहेजस्तो राहत निश्चित भने छैन भन्ने पुष्टि गर्छ वार्नर ब्रोजको नयाँ फिल्मसमेत ओटीटी प्ल्याटफर्ममा राख्ने निर्णय र बलिउडले नयाँ फिल्म सिनेमाघरलाई नदिनुले।

नेपालको हकमा फागुन ८ गतेदेखि सिनेमा घर बन्द छ। कोरोना भाइरस रोकथाम सम्बन्धी उच्चस्तरीय समन्वय समितिको निर्देशनपछि हलहरू बन्द भएका हुन्। कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गरिएको निर्णय नेपाल चलचित्र संघ (सिनेमा घर संचालकहरूको संगठन)ले नस्वीकार्ने कुरै भएन। त्यस समय वैशाख १८ गते सिनेमाघर खुल्ने बताइएको थियो।

तर, आठ महिना बित्यो। सबै क्षेत्र खुले। ठप्प व्यापार- व्यवसाय चल्न चाले। तर, सिनेमाघर खुलेन।

यतिखेर नेपाल चलचित्र संघसहित यस क्षेत्र सम्बन्धित ६ संस्था एकजुट भएर सिनेमा क्षेत्रलाई चलायमान बनाउन दवाव दिइरहेका छन्। फिल्म सम्बन्धी क्रियाकलाप ठप्प हुँदा प्रभावित सम्पूर्णको जीवन सहज बनाउनका लागि पनि यो क्षेत्र खुल्नु पर्ने उनीहरूको माग हो। त्यसमाथि सञ्चालन नहुँदा पनि दैनिक खर्च धानिरहेका सिनेमाघर सञ्चालकहरू सरकारको सकारात्मक प्रतिक्रियाको अपेक्षा गरिरहेका छन्।

‘हल खुलिहाले पनि दर्शक आउने टुंगो छैन। आर्थिक जोखिम मोल्न निर्माता तयार नहोलान्? चुनौती त छन्,’ क्यूज सिनेमाका सञ्चालक सुमित मैनालीले भने, ‘चुनौतीबीच हामीलाई मासिक खर्चको भार छ। ठाउँको भाडा, सुरक्षाकर्मी, सर-सफाइ कर्मचारी, बिजुली, जहाँ हल छ त्यस मलको कम्युनिटी चार्ज। सबै तिर्नै पर्छ।‘

सिनेमाघर सञ्चालकहरू पुरानै फिल्म लगाएर भएपनि दर्शकलाई फेरि फिल्मप्रति आकर्षित गर्न तयार भएको बताउँछन् उनी। हालका लागि बेरोजगार भएका हलका कर्मचारीका लागि भए पनि सोच्नु पर्ने उनको तर्क हो।

नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले आवश्यक सुरक्षा मापदण्ड पालनासहित सिनेमाघर सञ्चालन गरिनु पर्ने बताए।

संघले ५० प्रतिशत अकुपेन्सी, सिनेमाघरमा स्वास्थ्यकर्मी खटाउने, शत् प्रतिशत् अनलाइन बुकिङ, सामाजिक दूरी कायम गर्ने, प्रत्येक शोपछि हल डिस्इन्फेक्ट गर्ने, कर्मचारीहरूलाई पीपीइमा खटाउने, अनलाइन बुकिङ उपलब्ध नभएका हल र ठाउँहरूमा सामाजिक दूरी र आवश्यक परीक्षण पछि मात्र हल परिसरमा प्रवेश दिइने लगायत नियमहरूमा जोड दिएको प्रधानले बताए।

सरकार यी मागलाई सम्बोधन गर्ने र तिहार अघि नै सिनेमाघर सञ्चालनमा ल्याउने तयारीमा थियो। तर, कोभिड-१९ संक्रमण दर बढेपछि उक्त तयारी थाँती राखेको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताएका थिए।

चलचित्र क्षेत्रका ६ संघ संस्थाको माग लिइ चलचित्र विकास बोर्ड सरकारसँगको नियमित बैठकमा छ। बैठक उचित निस्कर्षमा नपुगेको दयाराम दाहाल बताउँछन्। भने, ‘तत्काल यसो हुन्छ भन्ने अवस्थामा म छैन। बैठक जारी छ। योजनाहरू बन्दै छन्। चाँडै निर्णय घोषणा हुन्छ।‘

कोरोना भाइरसका कारण नयाँ फिल्म छायाँकनदेखि प्रदर्शनसम्मका कामहरू प्रभावित बने पनि पहिल्यै सार्वजनिक भइसकेका फिल्महरू भने विभिन्न अनलाइन/एपहरूमार्फत् फेरि रिलिज गरियो। केही फिल्म युट्युबमा समेत राखिएका छन्। दर्शकका लागि सिनेमाघर बन्द हुँदा पनि विकल्प पाए। रोगले त्राहिमाम पारेको अवस्थामा के फर्कलान् दर्शक हलसम्म?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell