PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपालको त्यो पुल जसले एकै दिनमा दिल्लीलाई जोड्न सक्छ तिब्बतको मानसरोबरसँग



कमलराज भट्ट

नेपालको त्यो पुल जसले एकै दिनमा दिल्लीलाई जोड्न सक्छ तिब्बतको मानसरोबरसँग

कुटनीतिक वृत्तमा जतिसुकै चिसोपन किन नआवस् भारतीयका लागि चीनको तिब्बतमा रहेको मानसरोवर पुग्न एउटा ठूलै महत्वकांक्षा हुने गर्छ। ‘धर्म’सँग जोडिएको सम्बन्ध सेतुलाई नेपालमा बन्दै गरेको एउटा पुलले साथ दिँदैछ। महाकाली नदीमाथि बनिरहेको यो पुलले भारत र चीनलाई नजिक्याउने मात्र होइन, पश्चिम नेपालको कायापल हुने अपेक्षामा छन् यहाँका मानिसहरु।

दिल्लीबाट एकै दिनमा मानसरोबरसम्मको यात्रा कुनै समय कल्पनाको पनि विषय थिएन। नेपालले बनाइरहेको महाकालीको यो पुल त्यहाँ छ जहाँबाट दिल्ली ३ सय २० किलोमिटरमात्र दुर छ। अनि तिंकर ४ सय २५ किलोमिटर। तिंकरबाट मानसरोबर ७५ किलोमिटर टाढा।

आर्थिक नीतिले कुटनीति र मुलुकको राजनीतिमा नै ठूलो असर पार्नसक्ने अहिलेको अवस्थामा यो पुलबाट नेपालले कति लाभ लिन सक्ला त? भारतीय र चिनियाँ पक्षलाई नजिक्याउने पुलले नेपालको अर्थतन्त्रलाई कति योगदान गर्ला?

यो पुल तयार हुँदा दिल्लीबाट ८ सय १९ किलोमिटर दुरीमा हुनेछ, मानसरोबर। दक्षिणी सीमाबाट उत्तरी सीमाको ५ सय किलोमिटर यात्रा नेपाल हुँदै गर्नुपर्नेछ। सडक बन्ने हो भने भारतको दिल्ली र नेपालको कञ्चनपुरबाट एक दिनमै सडकबाटै मानसरोवर पुग्न सकिनेछ।

यतिखेर महाकाली नदीमाथि नेपालकै तेस्रो लामो चार लेनको पुल बनिरहेको छ। दार्चुला २१२, बैतडी १४४, डडेल्धुरामा ५८ र कञ्चनपुरमा ११ किलोमिटर गरी महाकाली किनारैकिनार निर्माण हुने महाकाली करिडोरअन्तर्गत सडकको अन्तिम बिन्दु यहीँ पुल बन्नेछ। पुलबाटै तिंकरसम्मको महाकाली करिडोर हुँदै चीनको ताक्लाकोट र मानसरोवरसम्म एकैदिनमा पुग्न सकिने पूर्व सांसद रमेश लेखक बताउँछन्।

अहिले मानसरोवर पुग्न नेपालगञ्जबाट हुम्लाको सिमकोट र त्यहाँबाट हिल्सा हुँदै जाने गरिन्छ। अक्सर भारतीय पर्यटक यो रुट प्रयोग गर्छन्। यसका अलावा रसुवागढी र तातोपानी नाकाबाट पनि यात्रुहरु जाने गरेका छन्। यी नाकाबाट यात्रा गर्दा समय र खर्च बढी लाग्छ। ‘यो पुल भएर दिल्लीबाट एक दिनमा तिंकर पुग्न सकिनेछ। मानसरोवर पुग्ने यो सबैभन्दा छोटो रुट हुनेछ,’ लेखकले भने।

नेकपा सांसद दीपकप्रकाश भट्ट पनि लेखकको मतसँग सहमत छन्।

‘पुलले हाम्रो पूर्वपश्चिम राजमार्गको पहुँच बोर्डरसम्म पुग्छ। महाकाली करिडोरबाट चीनलाई जोड्छ,’ भट्टले भने, ‘मानसरोवर जान भारतीय पर्यटकका लागि यो सबैभन्दा छोटो र सहज रुट बन्नेछ। पैसा र समयको पनि बचत हुनेछ। यसले गर्दा मानसरोवर जाने पर्यटकहरु पनि भित्र्याउन सक्छौं।’

पुल अर्थात् भारतीय दुर्व्यवहारको अन्त्य

कञ्चनपुरको गड्डाचौकी नाका र भारतको बनबासालाई जोड्ने महाकाली नदीमा शारदा ब्यारेजको पुल भारतको पूर्ण स्वामित्वमा छ। पुल दैनिक ७ घण्टामात्रै खुल्छ। पुल खुल्ने पर्खाइमा नेपालीले दिनरात कुर्नुपर्छ। किनमेलका लागि बनवासा दौडिने नेपालीले पुलमा भारतीय कर्मचारी र सुरक्षाकर्मीबाट दुर्व्यवहार खेप्दै आएका छन्। त्यसैको असर हो, भारतबाट सामान ल्याउन नेपालगञ्ज, सुनौली र वीरगञ्ज नाकाबाट घुमाएर आउनुपर्ने बाध्यता। अब महाकाली नदीमा नेपालकै पूर्ण स्वामित्‍वमा पुल बनेपछि यी सबै बाध्यता हट्ने कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्ल बताउँछन्।

‘अहिलेको पुलमा दिनमा ७ घण्टा भारतको नियमअनुसार हामीले चल्नुपर्ने बाध्यता पूरै हट्नेछ। महाकाली नदीमा पुल पनि नेपालकै नियन्त्रणमा हुन्छ। भारततिर धेरै निर्भर दोधारा चाँदनी महेन्द्रनगरतिर केन्द्रित हुन्छ,’ मल्लले भने।

यसरी बन्यो चार लेनको पुलको योजना

पुष्पकमल दाहाल प्रचण्डको चुनावी सरकारमा रमेश लेखक भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिए। त्यहीबाट सुरु भयो महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणको योजना। सुशील कोइरालाको पालामा अर्थमन्त्री डा रामशरण महतले वार्षिक बजेटमा महाकाली पुललाई समावेश गरे। साथै दोधारा चाँदनीमा सुख्खा बन्दरगाहको योजना पनि।

‘सन् २०१५ भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आएर नेपालको संसदमा भाषण गरेर भारतले महाकाली पुल बनाइदिने भनेर सम्बोधन गरे। तर, काम अघि बढेन। म मन्त्री भएपछि तत्कालीन प्रधानमन्त्री प्रचण्डजी भारत भ्रमणमा जोइन्ट स्टेटमेन्टमा महाकाली पुलको विषय पर्‍यो। तर पछि भारतले पैसा भने दिएन,’ लेखकले भने, ‘ढिलो गरेपछि मैले पहल गरेर झण्डै ४ अर्ब रुपैयाँ पुलका लागि सुख्खा बन्दरगाहको टेण्डर नहुँदै म मन्त्रीबाट बाहिरिए।‘

तत्कालीन कञ्चनपुर क्षेत्र नम्बर ४ (हालको तीन) बाट निर्वाचित जनप्रतिनिधिका हिसाबले पनि त्यतिबेला मन्त्री रहेका लेखकले राज्यबाट उपेक्षित सुदूरपश्चिम प्रदेशलाई भारतसँग सिधा सम्पर्कमा जोड्ने तथा आर्थिक रुपमा पनि कायापलट गर्ने पुलको काम अघि बढाए।

‘मेरो सुरुदेखिकै एजेण्डा महाकालीमा पुल बनाएर कञ्चनपुरलाई त्रिदेशीय नाकामा जोड्ने हो। महाकाली पारीका दोधारा चाँदनी गाउँलाई जोड्न त दुई लेनको पुल बनाए पनि हुन्थ्यो। चार लेनको किन भन्दा ड्राइपोर्टबाट भारतलाई जोड्ने र गड्डाचौकी हुँदै बन्ने महाकाली करिडोरबाट तिंकरसम्म पुर्‍याएर चीनसँग जोड्न हो। कञ्चनपुर भएर भारत र चीन जोड्ने हो,’ उनले भने।

भारत चाहन्थ्यो आफ्नै स्वामित्वमा बनाउन

यो पुल बन्दैछ भारतको कब्जामा रहेको शारदा ब्यारेज (पुरानो महाकाली पुल) को करीब ८ किलोमिटर तल भुजेला क्षेत्रमा। महाकाली पारिका गाउँ दोधारा चाँदनी लाई जोड्ने लामो झोलुङ्गे पुल भन्दा केही उत्तरतिर। ढुंगाले बनेको भारतको पूर्ण स्वामित्वमा रहेको शारदा ब्यारेज १२५ वर्ष पुगेको छ। सय वर्ष अवधिको पुलमा ९ टनभन्दा बढीको लोडमा लैजान दिँदैन। यसको विकल्प त भारतले पनि नसोचेको होइन। ठीक ५ सय मिटर दक्षिणतिर आफ्नै स्वामित्वको पुल बनाउने भारतीय योजना थियो। जसरी भारतले पुरानो पुलमा कब्जा जमाउँदै आएका थिए त्यसैगरी नयाँ पुल बनाएर आफ्नो नियन्त्रणमा राख्ने उसको दाउ थियो।

तर, त्यतिबेलाको नेतृत्वले नेपालकै निर्माण योजनामा भारतलाई कन्भिन्स गरायो। ‘मन्त्री बन्नुअघि मैले तत्कालीन भारतीय राजदूत रञ्जीत रेलाई ल्याएर फिल्ड देखाएर कन्भिन्स गराएँ,’ उनले भने, ‘सुरुमा त पुल भारततिरै बनाउने तयारी थियो। पछि एक खुट्टा नेपालतिर एक भारततिर भनेर फिप्टी फिप्टीको अवधारणा पनि नल्याएको होइन। अन्तिममा हामीले पुल नेपालमै बनाउने र ड्राइपोर्टसँग भारतलाई जोड्ने, भारत हाइवे र रेल जोड्ने सहमत भयो।’

भारत सरकार सहमत भए पनि सुरुवाती चरणमा फिल्डमा भारतीय पक्षले निर्माणका क्रममा दु:ख दिन भने छोडेनन्। खासगरी शारदा ब्यारेजका कर्मचारीले महाकालीमा पानी धेरै छोडेर सुरुवाती चरणमा दु:ख दिएको ठेकेदार कम्पनीका इन्जिनियर बताउँछन्।

'सुरुका दुई वर्ष पानी धेरै छोडेर काम प्रभावित भयो। स्थानीयले पनि कहिल्यै पनि पानी छोड्न कञ्जुस्याई गर्ने भारतले यसपालि धेरै पानी छोड्यो भन्ने कुरा गरे। सुरुका दुई वर्ष पानी छोडेर अवरोध पुर्‍याउने कोसिस भयो। तै पनि हामीले कुशलतापूर्वक स्पर हाल्यौं। स्पर हालेपछि भारतीयले धेरै पानी छोडेको छैन,' इन्जिनियर किशोरराज पाण्डेले भने।

नेपालको तेस्रो लामो पुल

महाकाली पुल आयोजनाका अनुसार यो नेपालकै तेस्रो लामो पुल हो। आयोजनाका इन्जिनियर ध्रुब झाले एक किलोमिटरको कर्णाली र ८६५ मिटरको राप्ती पुलपछि ८ सय मिटरको महाकालीको पुल नेपालकै तेस्रो लामो भएको बताए। उनका अनुसार आयोजनाको ५७ प्रतिशत काम सकिएको छ। ‘पुलको फाउण्डेशनको काम सकिसकेको छ। मुआब्जामा ६४ करोड जति खर्च भएको छ,’ उनले भने।

झाका अनुसार मुआब्जाबाहेक पुल र सडक निर्माणको बजेट भ्याटसहित ३ अर्ब ६६ करोड ५ लाख ९० हजार ८३४ रहेको छ। २०७४ भदौमा गते सम्झौता भएको यो आयोजना २०७८ फागुनमा सम्पन्न हुनेछ।

निर्माण कम्पनी कुमार सीएफसीका इन्जिनियर किशोरराज पाण्डे आयोजनालाई तीन वटा पाटोमा चित्रण गर्छन्।

  • ८ सय मिटरको फोर लेनको पुल।
  • ७.८ किलोमिटर ६ लेनको बाटो (४ लेन पिच र दुई लेन सर्भिस ग्राभेल)।
  • वारि र पारी दुइटा ठूलो पोखरी (१७ सय मिटर लामो र ६ सय मिटर चौडाई, न्यूनतम २ मिटरदेखि अधिकतम ७ मिटरसम्म गहिराई)। पोखरीमा ६ वटा टापु अनि पिकनिक स्पट।

पाण्डेका अनुसार महाकाली पुलको मात्रै ७० प्रतिशत काम सकिसकेको छ। सडकको पनि ९० प्रतिशत काम सकिसकेको छ। असारसम्ममा ५ किलोमिटर पिच गर्ने तयारी छ।

राष्ट्रिय प्राथमिकताको आयोजनाको पुल प्रिक्सेस बक्स अर्डर (डोरीले माथिबाट तन्काउने) मोडेलमा बन्दैछ। ‘यो नेपालमा नौलो प्रयोग नै हो। यस्तो प्रविधिको नेपालमा ४/५ वटा मात्रै पुल छ। विकसित प्रविधि हो, काम गर्न छिटो सहज छ,’ इन्जिनियर पाण्डेले भने।

उनका अनुसार डबल लेनको दुईटा पुल सँगसँगै भएको चार लेनको पुल यो नेपालमा पहिलो नै हो। ‘एसियन हाइवे (ए वाचवान) वान मापदण्‍डमा पुल र बाटो बन्दैछ। यो मापदण्ड झापासम्म आइसकेको छ। नेपाल, भारत, बंगलादेश हुँदै भुटान थाइल्याण्डसम्म पुग्ने बाटो हो यो। एसियन देशलाई जोड्ने बाटो मेचीबाट छिरेर महाकालीबाट निस्कन्छ,’ पाण्डेले जानकारी दिए।

७५ वर्ष आयु भएको यो पुलमा कूल बजेटको ३३ प्रतिशत खर्च भएको छ। ५० प्रतिशत रोडमा खर्च भएको छ भने बाँकी रहेको पैसा पोखरी र अन्य सजावटमा।

आयोजना अन्तर्गत पुलबाट पारीतिर ८ सय मिटर ६ लेनको बाटोको ठेक्का पनि कुमार सीएफसीकै हो। त्यहाँबाट ४ किलोमिटर क्षेत्रफल नेपालकै पर्छ। यहीँ बीचमा कञ्चभोज क्षेत्रमा सुख्खा बन्दरगाह बन्ने भनिएको छ। नेपाली क्षेत्रफलबाट भारतको हाइवे जोडिने दुरी ४ किलोमिटर हाराहारी छ। उक्त बाटो भारतले नै बनाउने इन्जिनियर झाले बताए।

‘मलेरिया नालामा पुल हालेर सुख्खा बन्दरगाह हुँदै बोर्डरसम्म नेपालले बाटो बनाउँछ। बोर्डरबाट आफ्नो हाइवेसम्म भारतले बाटो बनाउँछ। चम्पावतको चक्रपुरभन्दा अलि माथि जोगबुडा पुलभन्दा अलि तल भारतीय हाइवेमा जोडिन्छ। अबको तीन वर्षभित्र सबै आवागमन यहीँबाट हुन्छ,’ इन्जिनियर पाण्डेले भने।

सजिलो छैन काम गर्न

इन्जिनियरहरु निर्माणका क्रममा ढुंगाको समस्या देखिएको बताउँछन्। ‘निर्माणमा ढुंगाको समस्या देखिएको छ। वन र स्थानीय जनताको विरोधले ल्याउन सकिएको छैन। १ लाख ८१ हजार घनमिटर ढुंगा आवश्यक छ। २५७ किलोको एउटा ढुंगा चाहिन्छ। ढुंगा आएन र गाइड वान बनाएन भने वर्खामा क्षति हुनसक्छ। आयोजनाले वनसँग समन्वय गरेको छ। अरु काम सन्तोषजनक भइराखेको छ,’ इन्जिनियर झाले भने।

इन्जिनियर पाण्डेका अनुसार पोखरीमा भने ढुंगाको समस्याले काम अघि बढेको छैन। ‘एउटै ढुंगा अढाई सय किलोभन्दा बढीको खोज्नुपर्ने भएकाले पहाडबाट ल्याउनुपर्ने, कानुनी बाध अड्चनले ढिलाई भयो। तर ढुंगा आउन सुरु भएको छ। वारी गड्डाचौकीतिरको काम यसै वर्षभित्र सक्काउने लक्ष्य छ। ढुंगाको समस्या भएन भने समयमै सक्छौं। अरु बाधा अड्चन छैन,’ उनले भने।

आयोजनामा सय जना भन्दा बढी कामदार खटिएका छन्। जसमा नेपाली बढी छन्। केही भारतीय पनि छन्। निर्माण सामग्री कंक्रिट महाकाली नदीबाटै प्रयोग गरिएको छ। सिमेन्ट डण्डीहरु फ्याक्ट्रीबाट आइरहेको छ। सांसद भट्ट पुलबाट यो बर्खाभन्दा अगाडि नै आवतजावत सुरु हुने दावी गर्छन्।

सुख्खा बन्दरगाह प्रक्रियामै

माहाकाली नगरपालिका ७ स्थित कञ्चभोजमा बन्ने वीरगंजपछि देशकै दोस्रो दोधारा चाँदनी सुख्खा बन्दरगाहको गुरुयोजना बनाउने काम तीव्र रुपमा अघि बढेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ। समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार टेण्डर प्रक्रिया पनि अघि बढेको छ।

सांसद भट्टले पनि सुख्खा बन्दरगाहका सम्बन्धमा नेपाल-भारतबीच बनबासा र चाँदनी जोड्ने गरी सहमत भएको तथा नेपालतर्फ जग्गा अधिग्रहण गर्ने सहमति भएको बताउँदै ६ महिनाभित्र निर्माण कार्य सुरु हुने दावी गरे। ‘एकीकृत जाँच चौकी, भन्सार र गोदामको निर्णय पनि भइसकेको छ,’ उनले भने।

सुख्खा बन्दरगाहमा ढिलाई भएकोमा नेता लेखकको भने असन्तुष्टि छ। ‘जहाँसम्म ड्राइपोर्टको कुरा छ, कम्युनिस्ट साथीहरुले हल्ला मात्रै गरिरहनुभएको छ। त्यतिखेर हामीले ड्राइपोर्ट टेण्डर गर्न सकिएन। सबै तयारी भइसकेको थियो। तीन वर्ष भइसक्यो टेण्डर गरेनन्। नेताहरु पुगेर कहिले अवलोकन, कहिले उद्घाटन भनेर गरिरहेका छन्। यसो गर्नुभन्दा केन्द्रबाट सिधै टेण्डर गरेर काम अघि बढाए हुन्थ्यो,’ उनले भने।

पश्चिम नेपालले के पाउँछ?

महाकाली पुल आयोजना र सुख्खा बन्दरगाहमा यहाँका जनप्रतिनिधि, व्यवसायी र स्थानीय थुप्रै सम्भावना देख्छन्। ‘यो ठूलो व्यापारिक र औद्योगिक नाका बन्ने छ। लाखौको रोजगारी वृद्धि हुनेछ। पर्यटकीय स्थल बन्छ। हिन्दुस्तानसँग जोड्ने छोटो नाका हुन्छ। भारतमार्फत युरोप र अमेरिकासम्म संसारभर पहुँच हुन्छ। प्रदेश र देशकै कायाकल्पमा योगदान पुर्‍याउँछ,’ नेता लेखकले भने।

सांसद भट्ट आयात निर्यातमा सहज सुगमता हुने, आर्थिक गतिविधि र रोजगारी बढ्ने र पर्यटनको गन्तव्य बन्ने बताउँछन्। ‘अहिले विशाखापट्टनमबाट १७ सय किलोमिटर दुरीमा वीरगञ्ज र वीरगञ्जबाट ७ सय किलोमिटर गरी २४ सय किलोमिटर भएर सुदूरपश्चिममा सामान आउँछ। दोधारा चाँदनी सुख्खा बन्दरगाहबाट गुजरातको मुन्द्रा पोर्ट १४५५ किलोमिटर दुरीमा पर्छ। एक हजार किलोमिटर छोटो पर्छ,’ उनले भने।

उनका अनुसार यसले पर्यटनको गन्तव्य बनाउने छ। शुक्लाफाँटा आरक्षमा भारतीय पर्यटक आउनेछन्। भारतका आरक्ष र कञ्चनपुरको आरक्षलाई इन्गेज गरेर अघि बढ्दा पर्यटन क्षेत्र विस्तार हुनेछ।

उनी कञ्चनपुरमात्रै होइन काठमाडौंकै पर्यटनको सम्भावना देख्छन्। ‘उत्तराखण्डका भारतीय नागरिकलाई बिहान फ्लाइटमा काठमाडौं गएर पशुपति दर्शन गरेर साँझ फर्किन सक्छन्। खप्तड, बढी मालिकामा पनि भारतीय पर्यटक लैजान सकिन्छ,’ भट्टले भने। अन्तर्राष्ट्रिय नाका बन्दा स्थानीय र राष्ट्रिय अर्थतन्तमा टेवा पुग्ने उनको विश्वास छ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्ल समग्र सुदूरपश्चिम र नेपालकै विकासको मुहार फेरिने बताउँछन्। ‘नयाँ उद्योग खुल्छन्। रोजगारी बढ्छ। भारतसँग कनेक्टिभी हुन्छ। कञ्चनपुरको बजारदेखि जमिनसम्म भ्यालु बढ्छ। लगानीको वातावरण बन्छ। भैरहवाबाट ल्याउनुपर्ने बाध्यता हटेसँगै लागत पनि घट्छ। साना र मझौला उद्योगमा लगानी फस्टाउँछ,’ उनले भने।

मल्ल पर्यटकीय हिसाबले पनि ठूलो सम्भावना देख्छन्। ‘सहज आगमन हुँदा पर्यटक आवतजावत बढ्छ। ठूल्ठूला होटलहरु फस्टाउँछन्। धार्मिक पर्यटन बढ्छ। भित्रिने र बाहिरिने हुन्छ। उपचार, पढाई र धार्मिक पर्यटनका लागि मुख्य द्वार बन्छ,’ उनले भन।

मल्लले महाकालीलाई व्यापारिक नाका बनाउनुपर्ने सुझाव पनि दिए। ‘खाली दोधारा चाँदनीलाई मात्रै फोकस गर्ने हो भने काम छैन। सुख्खा बन्दरगाह आवश्यक छ। पारवहन बाटो खुल्छ। महाकाली करिडोर लगेर तिंकर ताक्लाकोट पुर्‍याउनुपर्छ,’ उनले भने।

धनगढीको विमानस्थललाई स्तरोन्नती गरेर अन्तराष्ट्रिय स्तरको बनाउन लगिएको भन्दै महेन्द्रनगरको एयरपोर्ट पनि कुनै न कुनै हिसाबमा सञ्चालन गर्नुपर्ने उनले बताए।

इन्जिनियर पाण्डे सुदूरपश्चिमको विकासमा महाकाली पुलले धरै नै ठूलो टेवा पुर्‍याउने मत राख्छन्। ‘गह्रौं सामान ल्याउन नमिल्ने भएकाले कञ्चनपुरको र सुदूरपश्चिमको सामान नेपालगञ्ज सुनौली नाकामै भर पर्नुपर्ने अवस्था छ। यो पुल बनेपछि ७ नम्बर प्रदेशले सोझै भारतसँग समान ल्याउनलाई सहज हुन्छ। त्यसमाथि महाकाली पुलको अगाडि बाटोमा बन्ने सुख्खा बन्दरगाहले त सुपको मुहारै फेर्छ। ७ नम्बर प्रदेशले अन्य प्रदेशमा भर पर्नुपर्ने बाध्यता अन्त्य हुन्छ,’ उनले भने।

पर्यटकीय हिसाबले महाकाली पुल र पोखरी आफैमा सौन्दर्यको केन्द्र बन्ने पाण्डेको विश्वास छ। ‘जसरी दोधारा-चाँदनी झोलुङ्गे पुल हेर्न पर्यटकहरु आउँछन् त्यसरी नै यो पुल हेर्न आउँछन्। आन्तरिक पर्यटन त छँदैछ। छोटो बाटो भएकाले भारतीय पर्यटकहरु नेपाल छिर्ने सहज नाका हुन्छ,‘ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell