स्पेनिस ला लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना काडिजसँग पराजित भएको छ। स्टेडियो रामोन डी कार्रन्जामा भएको खेलमा घरेलु टोलीले बार्सिलोनामाथि २-१ गोलअन्तरले जित निकालेको हो।
अल्भेरो जिमिनेटको गोलमा खेलको ८ औं मिनेटमै काडिजले खेलमा अग्रता बनाएको थियो। आफ्नो अग्रतालाई पहिलो हाफमा घरेलु टोलीले कायम राख्यो। दोस्रो हाफमा बार्सिलोनाले खेल बराबरीमा ल्यायो। खेलको ५७ औं मिनेटमा काडिजका पेड्रो अल्कालाले आत्मघाती गोल गरेपछी बार्सिलोना खेलमा फर्कियो। तर घरेलु टोलीका अल्भेरो निग्रेडोले ६३ औं मिनेटमा गोल गरेपछि काडिजले फेरि अग्रता लियो। र गोल जितका लागि निर्णायक पनि बन्यो। यो सँगै काडिजले बार्सिलोनालाई सन् १९९१ यता पहिलो पटक हराएको हो।
बार्सिलोनामाथिको जितसँगै काडिज १२ खेलबाट १८ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। उता १० खेल खेलेको बार्सिलोना १४ अंकसहित सातौं स्थानमा छ।
