कैलाली : डोटीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। दिपायलबाट गाउँपालिकाको केन्द्र चवराचौताराका लागी हिँडेको म १ च ५५० नम्बरको जिप आइतबार बिहान करिब १ बजेतिर दुर्घटना भएको हो।
दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका वडा नं. ७ चवराचौताराका वडा सचिव (नायब सुब्बा) वर्ष २८ की मञ्जु त्रिपाठी, उनका तीन वर्षीय छोरा र उनकी सासु आमाको मृत्यु भएको छ। उनीहरू नाम खुल्न नसकेको प्रहरीले जनाएको छ। त्यस्तै ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत केआईसिंह गाउँपालिका वडा नं ४ चन्केसैन निवासी कृर्षि प्राबिधिक हरि भट्टको पनि दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए।
घाइते हुनेहरूमा ग्लोबल आईएमई बैँकमा कार्यरत सुरक्षा गार्ड टिकाराम गिरी, उनकी श्रीमती खेमा गिरी, खत्याडी माध्यामिक विद्यालयका शिक्षक हेमन्त भट्ट र चालक कैलाश बम रहेका छन्।
रातिको समयमा जिप भिरबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइतेहरूको स्थानीय, गाउँपालिकाका कर्मचारी र प्रहरी मिलेर उद्धार गरिरहेका छन्।
घाइतेहरूलाई दिपायल पठाइएको घटनास्थलमा उद्धारमा खटिएका बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले जानकारी दिए।