PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

के भइरहेको छ मेलम्ची खानेपानी आयोजनामा?



दिनेश खड्का

के भइरहेको छ मेलम्ची खानेपानी आयोजनामा?

काठमाडौं : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको परीक्षणका क्रममा पहिलो अडिट टनेलको गेट फुस्किएपछि अहिले मर्मतको काम जारी छ।

संशोधित पछिल्लो तालिका अनुसार मेलम्चीको पानी काठमाडौं उपत्यकामा आगामी वैशाखसम्ममा ल्याउने लक्ष्य आयोजनाको छ। बर्सेनि बढेको लागत, ठेक्कामा विवाद र ठेकेदार कम्पनी परिवर्तन लगायतले सरकार र खानेपानी मन्त्रालयको टाउको दुखाइ बनेको आयोजनामा यतिबेला काम धमाधम छ। 

भित्रबाट खोल्न मिल्नेगरी डिजाइन गरिएको गेट प्राविधिक हिसाबले नसोची सजिलोका लागि बाहिरबाट राखेपछि गत असारमा दुर्घटना भएको थियो। जसका कारण आयोजना लक्ष्यमा ६ महिनाभन्दा पछाडि धकेलियो। यतिबेला त्यही घटना स्मरण गर्दै प्राविधिकहरू सुरक्षित तवरले काम गरिरहेका छन्। केही ढिला भए पनि सुरक्षित रहने तरिकाबाट काम भइरहेको छ।

अम्बाथान, ग्याल्थुम, सिन्धु गरी तीन अडिट टनेल र सुन्दरीजल आउटलेट सहित  चार वटा गेट करेक्सनको काम चलिरहेको छ। चारै स्थानमा कंक्रिट प्लग राखेर त्यसमाथि स्टिल फ्रेम राखिएको  आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले बताए। उनका अनुसार कंक्रिट प्लगले २८ दिनमा फुल स्ट्रेन्थ दिन्छ। सोही कारण गेट जडान हुन सकेको छैन। करिब तीन सातामा सक्ने लक्ष्य छ। त्यसपछि पुनः परीक्षण थालिनेछ। 

सबैभन्दा माथिल्लो भागमा स्थायी हेडवर्क्स निर्माणको काम भइरहेको छ। १३० जना कामदार हेडवर्क्समा खटिएको आयोजनाका साइट इन्जिनियर शेखर खनालले बताए। 'आयोजनाको सबैतिर गरि करिब १७० जना खटिएका छन्। हेडवर्क्समा कंक्रिटको काम ९० प्रतिशत सकिएको छ,' उनले भने, 'बिचमा कुनै ठूलो बाधा आएन भने अब हामी निर्धारित लक्ष्यअनुसार काम पूरा हुने अवस्थातिर गइरहेका छौं।'

हेडवर्क्सको समग्र भौतिक प्रगति भने ८० प्रतिशत छ। अहिले बाँधको आसपास कंक्रिटिङ चलिरहेको छ। हेडवर्क्समा अब गेट जडान, इन्स्ट्रुमेन्टेसन लगायतका कामहरु बाँकी छन्। साना ठुला गरि १५ वटा गेट जडान हुनेछ। त्यसका लागि कंक्रिट प्लगसमेत तयार भइसकेको छ। २ महिनाभित्र स्थायी हेडवर्क्स समेत तयार हुने इन्जिनियर खनालको दाबी छ।

तत्कालका अस्थायी (कफर) ड्यामबाट परीक्षण गर्ने तयारी छ। करिब तीन सातामा परीक्षण लागि पानी हाल्ने योजना छ। स्थायी हेडवर्क्स तयार भएपछि त्यहीँबाट पानी पथान्तरण हुनेछ।

३१ अर्ब ३६ करोड कुल लागत रहने आयोजनामा ३० अर्ब खर्च भइसकेको छ। सन् २००९ मा निर्माण थाल्दा आयोजनाको लागत १७ अर्ब रहने अनुमान थियो। आयोजनाको टनेलको काम पूरा हुनमात्रै आठ वर्ष लाग्यो। सुरुमा २००९ देखि २०१२ सम्म चिनियाँ कम्पनी सीआरसीसीले काम गरेको थियो। कम्पनीको आन्तरिक कारण र लक्ष्यअनुसार काम गर्न नसकेको भन्दै उक्त कम्पनीले कामबाट हात झिक्यो। त्यसको २ वर्षसम्म ठेक्का लाग्न सकेन। २०१४ मा इटालियन कम्पनी सीएमएसीले ठेक्का पायो। 

२०१७ मा सुरुङमार्ग छेडियो। फिनिसिङको काम चल्दै गर्दा २०१८ डिसेम्बरमा सीएमसीले पनि छाड्यो। २०१९ सेप्टेम्बरदेखि सिनो हाइड्रोले जिम्मेवारी पाएको आयोजनाले काठमाडौंमा सहजरूपमा पानी ल्याउन अझै वर्षदिन लाग्नसक्ने अवस्था छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell