अघिल्लो साल शहीद स्मारक ए डिभिजन लिग सकियो, बी डिभिजन लिग चल्दै गर्दा कोरोना महामारी आयो। त्यसपछि आधा वर्ष फुटबल ठप्प रह्यो। खेलाडीहरु घर भित्रै थुनिए। खेल र अभ्यास नहुँदा खेलाडी चिन्तामा परे। बीचमा एकपटक विश्वकप छनोटका खेलको तयारीका लागि खेलाडीको कोभिड परीक्षण पनि गराइयो। तर संक्रमण बढेपछि प्रतियोगिता पछि सर्यो। अभ्यास पनि।
महामारीपछि नेपाली फुटबल जुर्मुरायो बंगलादेशसँगको सिरिजका लागि। यता तिहार मनाइरहँदा नेपाली फुटबल टोली बंगलादेशमा घरेलु टोलीसँग दुई खेलको सिरिज खेलिरहेको थियो। उक्त सिरिजमा नेपालले एक बराबरी र अर्को पराजय बेहोर्यो।
खेलको नतिजा जे भए पनि नेपाल र बंगलादेश दुबैका लागि त्यो सिरिज विश्वकप छनोट अन्तर्गतका खेलका लागि तयारी थियो। उक्त सिरिजका क्रममा नेपाली टोलीबाट पहिलो रोजाइका केही खेलाडीहरु कोरोना संक्रमण र चोटका कारण देखिएनन्। अर्कोतर्फ नयाँ खेलाडीहरुले टिममा डेब्यु गर्दै आफ्नो प्रदर्शन देखाउने मौका पाए।
तिनै नयाँ अवसर पाएका खेलाडीमध्येका एक खेलाडी हुन विकास खवास। विभागीय टोली त्रिभुवन आर्मी क्लबका डिफेन्डरसमेत रहेका उनले बंगलादेशविरुद्ध दुवै खेल खेले। दक्षिण एसियाली खेलकुद र ए डिभिजन लिगमा प्रभावशाली प्रदर्शन गरेका उनले महामारीका बीच नै सही उनको राष्ट्रिय टिमबाट डेब्यु गरे।
+++
घर मोरङ, हरैँचा। उनको घर नजिकै मैदान थियो। दाईहरुले फुटबल खेलेको हेर्न जाँदाजाँदै उनले खेल्न सिके। र आफ्नो प्रतिभा प्रस्फुटन गर्दै लगे। खवास जिल्ला, क्षेत्र हुँदै ०६९ मा एन्फा एकेडेमीमा पुगे। उनले खेलेको पहिलो अन्तर्राष्ट्रिय म्याच भनेको ताजकिस्तानमा यू १४ को म्याच हो २०७२ सालमा। त्यसपछि यू १९ हुँदै सिनियर टिममा आईपुगेका छन् खवास। ए डिभिजन लिगमा उनी त्रिभुवन आर्मी क्लबबाट खेल्छन्।
‘आर्मी इन सर्भिस होइन म चाहीँ करारमा हो,’ खवासले भने।
लिगपछि लामो समय महामारीका कारण फुटबल रोकिँदा उनी घरमै रहे। सामान्य कसरतहरु गरे फिटनेसका लागि।
बंगलादेश अनुभव
लकडाउनमा म घरतिरै थिएँ। बीचमा एकपटक पीसीआरका लागि बोलाएको थियो। तर अभ्यास भने सरेको थियो। फेरि एन्फाले फ्रेन्ड्ली म्याचको लागि भनेर कल गर्यो। त्यसपछि ट्रेनिङ गइयो।
लकडाउनको बेला सबैभन्दा धेरै आफ्नो फर्म बिग्रिएला भन्ने पनि डर थियो। कहिले फुटबल फेरि सुरु हुन्छ भन्ने पर्खाइ थियो। मनमा आतुर हुन्छ नि त्यो भएको थियो।
लामो समयपछि अभ्यासमा निस्कँदा पनि पुरै अनफिट त भइएन तर म्याच फिटनेस चाहीँ अलि नपुग्ने जस्तो चाहिँ भएको थियो। आफूले आफूलाई फिट चाहीँ राखिरहेको थिएँ मैले। म्याच नखेलेपछि म्याच फिटनेस त त्यतिकै बिग्रिहाल्छ नि। ट्रेनिङमा गएपछि बिस्तारै फिट होइदै छ भन्ने फिल भएको थियो।
फुटबल खेलिसके पछि राष्ट्रिय टिमबाट खेल्छु भन्ने त सबैको एउटा सपना हुन्छ नै। त्यो सपना पूरा भयो। तर सपना पूरा भयो भनेर यसलाई यतिमै रोक्ने कुरा आउँदैन। अझै धेरै गर्न बाँकी छ। त्यस्कै लागि निरन्तर मिहिनेत गरिरहने छु।
बंगलादेशको अभ्यास चाहीँ हाम्रो लागि धेरै महत्वपूर्ण थियो किनभने त्यहाँको वातावरणमा भिज्न पर्ने थियो। हामीले त्यही भएर नेपालभन्दा अलि गर्मी ठाउँ भएकाले ट्रेनिङ पनि दशदेखि बाह्रको गरिरहेका थियौं। नयाँ क्लाइमेट भएकाले बिरामी पो भइएलाकी भन्ने पनि डर थियो।
खेलमा डेब्यु गरियो। आफूलाई कोचले विश्वास गर्नुभयो। दाईहरुले मोटिभेट गर्नुभएको थियो। मैले आफूलाई प्रमाणित गर्नु थियो। आफूले आफूमा दबाव चाहीँ अनुभव गरेको थिएँ। सबैले सहयोग गरेकाले टिममा खेल्न सजिलै भयो।
पहिलो म्याचमा भनेको हामी धेरै पछि खेलेको थियो। म आफू नयाँ थिएँ। अभ्यास छोटो भएकाले म्याच फिटनेसको केही अभाव रह्यो जस्तो लाग्छ मलाई चाहीँ। त्यसमा बंगलादेशले होमग्राउन्डको फाइदा पाएको थियो।
पहिलो खेलपछि हामी गएर त्यो खेलको क्लिपहरु हेर्यौं। हाम्रो गल्तीहरु कहाँ के भयो भनेर। जहाँसम्म कोचले नै म्याच फिटनेसको कमी भन्नु भएको थियो। अनि अलि टिम सेट हुन पनि गाह्रो भएको होकी जस्तो लाग्छ।
दोस्रो खेलमा चाहीँ हामीलाई पनि हाम्रो कमी कमजोरी थाहा भयो। को खेलाडी कस्तो छ भनेर पनि अझै भेउ पाइयो र त्यही अनुसार कोचले पनि ब्रिफिङ गर्नुभएको थियो। हामीले पनि यो प्लेयर यस्तो छ र हामीले यसरी मार्क गर्न पर्छ भनेर योजना बनाएका थियौं। अनि मनमा के थियो भने टाइटल जित्नु नजित्न एउटा ठाउँमा छ तर यो म्याच चाहीँ हाम्रो लागि लास्ट म्याच जस्तै हो भन्ने हिसाबले खेलेका थियौं।
सिनियर टिमबाट दुईवटा खेल खेलेपछि कन्फिडेन्स आइहाल्छ। अगाडि विश्वकप क्वालिफायर्सका खेलहरु आउँदैछन्। मैत्रीपूर्ण खेलहरु पनि हुन सक्लान। अझै खेल्दै गए विश्वकप छनोटममा टिमको प्रदर्शन राम्रो हुन्छ भन्ने लाग्छ मलाई।
अबको तयारी भनेको विश्वकप छनोटका खेलहरुका लागि नै हो। अब फेरि ट्रेनिङ सुरु हुँदैछ। त्यसका लागि आफूलाई फिट राखिरहेको छु।