PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

सुर्खेतमा कोरोना संक्रमितको मृत्यु, कर्णालीमा मृत्यु हुनेको संख्या २० पुग्यो



रासस

सुर्खेतमा कोरोना संक्रमितको मृत्यु, कर्णालीमा मृत्यु हुनेको संख्या २० पुग्यो

कर्णाली: सुर्खेतमा थप एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। पञ्चपुरी नगरपालिका–६ का ५३ वर्षीय पुरुषको शनिबार राति प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

मङ्सिर ९ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनी होम आइसोलेसन बसेका थिए। एक्कासी स्वासप्रश्वासमा समस्या देखिएपछि प्रदेश अस्पतालको कोभिड–१९ वार्डमा भर्ना गरिएको थियो। अस्पताल भर्ना हुँदा उनमा अक्सिजन स्याचुरेशन कम रहेको, अक्सिजन आदान प्रदानका साथै भेन्टिलेटरमा राखेर उपचार गरिएको र सुधार नभएपछि शनिबार राति मृत्यु भएको महाशाखाले जनाएको छ। ती बिरामी बेहोस भएपछि छाती थिचेर ब्युँताउने प्रयास गरिएको थियो।

स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जनस्वास्थ्य कार्यालय सुर्खेतको समन्वय तथा नेपाली सेनाको सहयोगमा मृतकको शव व्यवस्थापनको तयारी भइरहेको बताए। यससँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ।

सङ्क्रमितको सङ्ख्या ६ हजार ९८३

कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ९८३ पुगेको छ। पछिल्लो २४ घण्टामा पिसीआर विधिबाट गरिएको परीक्षणमा थप १२ जनाको पहिचान भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यस्तै विभिन्न प्रयोगशालामा गरी हालसम्म ९३ हजार ३७३ जनाको पिसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ। पछिल्लो तथ्याङ्कअनुसार छ हजार ४५१ जना सङ्क्रमणमुक्त भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell