काठमाडौं : नायिका श्वेता खड्काले नयाँ जीवन शुरु गरेको घोषणा गर्दै सामाजिक सञ्जालमा भावुक पोस्ट गरेकी छिन्। आइतवार श्वेताले फेसबुकमार्फत विवाहको घोषणा गरेकी हुन्।
श्वेताले लेखेकी छिन्, ‘आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु। विगतको पीडालाई भुलाउने एउटा बहाना पाएकी छु। मेरो अतीतलाई सहर्ष स्वीकार गरी मसँगै सुख र दुःख बाँड्न तयार एउटा साथी पाएकी छु।’
उनले एकल जीवन कठिन भएको र धेरै संघर्ष गर्नु परेको पनि बताएकी छिन्।
‘एक्लै जीवन काट्न सकिन्छ भन्ने कठोर निर्णय लिएर विगत ६ वर्षदेखि एक्लै हिँडिरहेकी थिएँ म। मेरो यो एकल यात्राका बखतमा धेरै पटक लडेकी छु,’ उनले भनेकी छिन्।
उनले थप लेखेकी छिन्, ‘महामारीको यो माहौलमा सीमित व्यक्तिहरुलाई साक्षी राखी जीवनको नयाँ यात्रा शुरु गर्दै गर्दा तपाईंहरु सम्पूर्णले मलाई आशिर्वाद दिनुहुनेछ भन्ने आशा र विश्वाश लिएकी छु।’
म: जीवनको नविन यात्रामा 🙏🙏 जीवनका बिभिन्न आरोह-अवरोह , उकाली-ओराली , सुख-दु:ख अनि हाँसो-रोदनका पलहरुलाई आत्मसाथ गर्दै...
Gepostet von Shweta Khadka am Sonntag, 6. Dezember 2020
चर्चित अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी उनले श्रीकृष्णको मृत्युपछि विवाह नगर्ने घोषणा गरेकी थिइन्। विवाह गरेको केही समयमै श्रीकृष्णको साउन २५, २०७१ मा निधन भएको थियो।
नायिका खड्काले श्रीकृष्णसँग असार २३, २०७१ गते बिहे गरेकी थिइन्। दोस्रो बिहे भने सोमवार धनगढीका विजयेन्द्रसिंह रावतसँग गर्दैछिन्।
