PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

पुनर्निर्माण प्राधिकरणको अवधि एक वर्ष थप गर्ने सरकारको निर्णय



रासस

पुनर्निर्माण प्राधिकरणको अवधि एक वर्ष थप गर्ने सरकारको निर्णय

काठमाडौं : नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप गरेको छ। मन्त्रिपरिषद्को यही मंसिर १५ गते बसेको बैठकले प्राधिकरणको म्याद २०७७ पुस १० गतेदेखि एक वर्षका लागि थप गरेको हो।

भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन २०७२ को दफा ३ को उपदफा (३) बमोजिम प्राधिकरणको अवधि एक वर्ष थप गरिएको मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ। थपिएको एक वर्षमध्ये २०७८ असार मसान्तसम्मको अवधिमा प्राधिकरणले चालू आव २०७७/७८ मा विनियोजित बजेटअन्तर्गतका काम कार्यान्वयन गर्नेछ। आगामी आर्थिक वर्षको बाँकी अवधि (२०७८ साउन १ गतेदेखि २०७८ पुस १० गते)मा भने प्राधिकरणले निजी आवास, सिंहदरबार, रानीपोखरी एवं धरहरा पुनर्निर्माणसँग सम्बन्धित अन्तिम फर्छ्योट गर्ने जनाइएको छ।

सो अवधिमा लेखा स्रेस्ता अद्यावधिक गर्ने, लेखा परीक्षण गर्ने गराउने तथा प्राधिकरणको जिम्मेवारी र सम्पत्ति नेपाल सरकारले तोकेका निकायमा हस्तान्तरण गर्ने कार्य पनि सम्पादन हुनेछन्। यसअघि २०७७ असोज ५ गते प्रधानमन्त्री एवं प्राधिकरणको निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको बैठकले प्राधिकरणको कार्यावधि एक वर्ष थप गर्न सिफारिस गरेको थियो।

निर्देशक समितिको बैठकले विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड-१९ का कारणले सिर्जना गरेको जोखिमपूर्ण अवस्था, स्रोत व्यवस्थापनमा उत्पन्न कठिनाइ र निजी आवास पुनर्निर्माणतर्फ सीमान्तकृत घरपरिवारले घर बनाई नसकेका कारण म्याद थपको सिफारिस गर्ने निर्णय गरेको थियो। पुनर्निर्माणसम्बन्धी अन्य महत्वपूर्ण आयोजनालाई प्राधिकरणबाट नै मूलभूत रुपमा सम्पन्न गर्नका लागि थप समय आवश्यक भएको समितिको ठहर छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell