काठमाडौं : नापी विभागले आज सगरमाथाको नयाँ उचाइ घोषणा कार्यक्रम बारे जानकारी दिने भएको छ।
मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाइ घोषणा गर्न भूमि व्यवस्था मन्त्रालयलाई स्वीकृति दिएपछि आज नयाँ उचाइबारे जानकारी दिन लागेको हो। आज बिहान ११ बजे मीनभवनस्थित नापी विभाग परिसरमा पत्रकार सम्मेलन गरेर त्यसको तयारीबारे मन्त्रालयले जानकारी दिँदै छ। चीन र नेपालको सहमतिमा एकसाथ मंसिर २३ गते नयाँ उचाइ घोषणा गर्ने तयारी छ।
विभाग स्रोतका अनुसार सगरमाथाको उचाइ बढेको छ।
नेपालले गत वर्ष पहिलोपटक आफ्नै स्रोत साधनको उपयोग गर्दै विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरेको थियो। नापी विभागका प्रमुख अधिकृत खिमलाल गौतमको नेतृत्वमा गएको टोली उचाइ मापन पूरा गरेर गत वर्षको जेठ महिनामा काठमाडौं फर्किएको थियो। उनीहरुले सगरमाथाको चुचुरोमा एक घण्टाभन्दा बढी समय बिताएर अध्ययन गरेका थिए।
'ग्लोबल न्याभिगेसन स्याटालाइट सिस्टम' को प्रयोग गर्दै सगरमाथाको उचाइ लिने काम भएको थियो। ६ महिनामा नै उचाइ सार्वजनिक गर्ने भनिए पनि प्राविधिक कारणले नयाँ मिति घोषणा गर्न ढिला भएको हो।
नेपाल र चीनबीच संयुक्त रुपमा सगरमाथाको उचाइ घोषणा गर्ने सहमति भएकोले पनि यसले समय लिएको अधिकारीहरु बताउँछन्।
गत वर्ष असोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदा नेपाल र चीनका राष्ट्राध्यक्षहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा सगरमाथाको उचाइ संयुक्त रुपमा घोषणा गर्न वैज्ञानिक अध्ययन गर्ने सहमति भएको थियो। दुवै राष्ट्राध्यक्षहरुले 'सगरमाथा नेपाल र चीनबीच मित्रताको प्रतीक' रहेको बताएका थिए।
सी नेपाल आउनुअघि नै नेपालले सगरमाथाको उचाइ मापन गरिसकेको थियो। चीनले भने कोरोना संक्रमणबीच यही वैशाखमा सगरमाथाको उचाइ नापेको थियो। त्यसैले संयुक्त विज्ञप्तिमा सगरमाथाको उचाइ मापन गरेर संयुक्त रुपमा नै उचाइ घोषणा गर्ने सहमति भएकोले नेपालले गरेको अध्ययनको निष्कर्ष सार्वजनिक गर्न ढिला भएको हो।
२०७२ सालको भूकम्पपछि सगरमाथाको उचाइमा घटबढ भएको हुनसक्ने अनुमान गरिएको छ। चीनले भूकम्पअघि नै सगरमाथाको उचाइ घटेको दाबी गरेको थियो। तर, नेपालले भने सगरमाथाको उचाइ पहिले झै ८ हजार ८ सय ४८ मिटर नै रहेको दाबी गर्दै आएको थियो।
