PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

निरञ्जन कुँवरको स्वअस्तित्वको खोजी, पुस्तक ‘बिट्विन क्विन्स एन्ड द सिटिज’ सार्वजनिक



पहिलोपोस्ट

निरञ्जन कुँवरको स्वअस्तित्वको खोजी, पुस्तक ‘बिट्विन क्विन्स एन्ड द सिटिज’ सार्वजनिक

काठमाडौं : लेखक निरञ्जन कुँवरको पुस्तक ‘बिट्विन क्विन्स एन्ड द सिटिज’ सार्वजनिक भएको छ । अङ्ग्रेजी भाषामा लिखित उक्त पुस्तकको शनिवार जुममार्फत् भर्चुअल विमोचन भएको हो।

पुस्तक लैङ्गिक पहिचान, समलिङ्गी सम्बन्ध र रूढिवादी नेपाली समाजमा आफ्नो स्वअस्तित्वको खोज गर्ने प्रयास केन्द्रित छ। नेपाली ‘गे’ले लेखेको सम्भवतः पहिलो संस्मरण हो, यो पुस्तक।

लेखक मञ्जुश्री थापाले पुस्तकबारे भनिन्,’असाध्यै राम्रोसँग लेखिएको, लयात्मक र मन छुने पुस्तक। यसले लैङ्गिक अल्पसङ्ख्यकलाई आफ्नो लैंगिकता र पहिचानबारे बोल्ने भाषा दिएको छ।‘ क्वयेर पहिचानलाई व्याख्या गर्ने भाषाको खोज भइरहेको समयमा संस्मरण लेखन एउटा सिर्जनात्मक हस्तक्षेप नै रहेको उनको भनाइ छ। उनले थपिन्, ‘यो पुस्तक राजनीतिक भाषण होइन। यो त आफ्नो वरिपरिका मानिसभन्दा पृथक् भएर नेपाल जस्तो ठाउँमा हुर्कनु कति गाह्रो, कति डरलाग्दो हुन्छ भनेर देखाउन लेखिएको निजात्मक अनुभव हो।’

पुस्तकमाथि टिप्पणी गर्दै अर्का वक्ता ब्लगर लेक्स लिम्बुले यस्ता पुस्तक धेरै सङ्ख्यामा। चाहिएको बताए। ‘म लन्डनमा हुर्कंदै गर्दा। क्वयेर लेखन पढ्न पाइन्थ्यो। नेपालमा भने त्यस्तो केही पाइँदैनथ्यो। तर केही वर्षदेखि नेपाली क्वयेरहरूले आफ्ना कथा लुकाउने होइन, बाहिर ल्याउने गरिरहेका छन्, ती कथाको स्वामित्व आफूले ग्रहण गर्न थालेका छन्। ‘बिट्विन क्विन्स एन्ड द सिटिज’ थुप्रै क्वयेरहरुलाई आफ्नो अनुभव बाढ्न प्रोत्साहित गर्नेछ।’

युवा वयस्कताको सुरुवाती समयमै नेपाली गे पुरुषका रुपमा आफ्नो अनुभवबारे लेख्ने प्रेरणा आफूलाई मिलेको लेखक कुँवरले बताए। ‘त्यो प्रेरणाका पछाडि नेपाली साहित्यिक धरातलमा ठूलो खाडल छ भन्ने ज्ञान थियो कि सायद, जब मैले नेपाल फर्कने निर्णय गरें, त्यो मुख्यतः लेख्नका लागि नै थियो,’ उनले भने, ‘अन्य कुनै काममा झैं लेखनका लागि अभ्यास र प्रतिबद्धता चाहिन्छ। म खुसी छु, मैले त्यो उद्देश्य प्राप्त गर्न सकें।’ 

पुस्तक फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell