काठमाडौं : रौतहटको राजपुर बमकाण्डमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
२ नम्वर प्रदेश प्रहरी कार्यालयको टोलीले आज ५५ वर्षीय महताव आलमलाई नियन्त्रणमा लिएको हो। आलमलाई नेपाल भारतको सिमामा पर्ने रौतहटको बौधीमाई नगरपालिका वडा नम्वर ७ बाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। तर उनलाई भारतिय प्रहरीको सहयोगमा भारतबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जानकारी दिएको छ।
प्रकाउ परेका आलम घटनाका मुख्य योजनाकार सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमका भाई हुन्। उनी अदालतको आदेश अनुसर पूर्पक्षको लागि कारागारमा छन्।
सरकारी वकिलको कार्यालयले कार्तिक १८ गते रौतहटमा सांसद आलमसहित ११ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ ऐन २०१८ बमोजिम मुद्दा दायर गरेको थियो।
२०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा गत असोज २६ गते आलमलाई इद्रिस गेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो। २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको विस्फोटमा घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोग आलममाथि लाग्दै आएको छ। पीडित परिवारले आलमविरुद्ध किटानी जाहेरी दिए पनि प्रहरीले दर्ता गरेको थिएन। सर्वोच्च अदालतले २०६९ जेठ १६ गते जाहेरी दर्ता गर्न प्रहरीलाई आदेश गरेको थियो।
आलम रौतहट २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनप्रतिनिधि समेत हुन्।
