अक्सिजन अभावका कारण पाँच कोभिड १९ संक्रमित सहित ६ जनाले पाकिस्तानको एउटा अस्पतालमा ज्यान गुमाएका छन्।
पेशावरमा रहेको सरकारी अस्पतालमा अक्सिजन अभाव हुँदा उनीहरुको मृत्यु भएको आफन्तहरुले जनाएका छन्। अस्पतालमा २ सय भन्दा धेरै विरामीलाई अक्सिजनको दिनुपर्ने अक्सिजनको लेभल नपुर्याइ घन्टौ राखिएको थियो।
अस्पतालले भने अक्सिजन सप्लाइ गर्ने कम्पनीलाई दोष लगाएको छ।
पाकिस्तान अहिले कोरोना संक्रमणको दोस्रो वेभसँग जुधिरहेको छ। त्यहाँ अहिलेसम्म ४ लाख भन्दा धेरै संक्रमित भएका छन् भने ८ हजार भन्दा धेरैले ज्यान गुमाएका छन्।
स्थानीय मिडियाका अनुसार खैबर शिक्षण अस्पतालमा नियमित रुपमा आउनुपर्ने अक्सिजन सिलिन्डर आइतवार आएन। ब्यक अपमा राखिएका ३ सय वटा सिलिन्डरले भेन्टिलेटरमा राखेर उपचार गराइरहेका विरामीको माग समेत धान्न सकेन।
आमालाई अस्पतालमा उपचार गराइरहेका मुरिद अलीले अक्सिजनका लागि अस्पतालमा गुहार लगाइरहन परेको सुनाए। 'पूरै अस्पतालभरि हामी यता र उता आफन्त बचाउन दौडिरह्यौं, मेडिकल स्टाफसँग गुहार लगाइरह्यौं,' उनले भने।
अस्पतालमा अक्सिजन अभावको यस्तो अवस्था पनि आयो कि भर्ना भएका विरामीहरुलाई इमर्जेन्सीमा सारेर उपचार गर्न पर्यो किनकि त्यहाँ केहीमात्रमा भए पनि अक्सिजन थियो। त्यो अक्सिजन पनि सकिँदै गएपछि मानिसहरु मर्नेक्रम सुरु भयो। कतिपय थप चिन्ताजनक अवस्थामा पुगे।
अलीका अनुसार अस्पतालका कर्मचारीहरुले विरामीका आफन्तलाई मिलेदेखि बाहिरबाट अक्सिजन किनेर ल्याउन समेत भनेका थिए। तर, सबैले अक्सिजन सिलिन्डर किनेर ल्याउन सकेनन्।
अस्पतालका प्रवक्ताले मृत्यु भएका ६ जनामध्ये ५ जनामा कोभिड १९ को संक्रमण रहेको जानकारी दिए। एकजना भने आइसीयूमा रहेका विरामी थिए।
ढिलोगरी अस्पतालमा अक्सिजनका सिलिन्डर त आइपुग्यो तर त्यतिखेर ६ जनाले ज्यान गुमाइसकेका थिए। अस्पतालका कर्मचारीले अक्सिन अभाव हुनुलाई फौजदारी अपराधसरह भएको बताएका छन्।
'अक्सिजन सप्लाइ हुन नसक्दा अस्पतालमा दुखद् घटना हुन पुग्यो,' प्रान्तका स्वास्थ्य मन्त्री तिमोर सलिम झागराले भने, 'घटनाको गहिराईसम्म पुग्नेगरी छानविन हुनेछ।'
