काठमाडौं : नेपालले पहिलोपटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाई मापन गरेको छ। ६६ वर्षअघि २ वर्ष लगाएर सन् १९५४ मा सर्वे अफ इण्डियाले सगरमाथाको उचाई मापन गरेको थियो। त्यतिबेला सर्वे अफ इण्डियाका बी एल गुलाटीले नापेका थिए। नेपालले हालसम्म सोही उचाई (२९०२९ फिट-८८४८ मिटर)लाई आधार मान्दै आएको छ।
नापी विभागले आज पत्रकार सम्मेलन गरेर ६६ वर्षपछि नेपाल आफैले सगरमाथाको उचाई मापन गरेको र त्यसलाई छिमेकी चीनले समेत स्वीकार गरिसकेको जनाएको छ। विभागका महानिर्देशक प्रकाश जोशीले नेपालले आफै मापन गर्नु राष्ट्रिय गौरवको कुरा भएको बताए।
‘फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांक समेत नापी विभागकै जनशक्तिबाट आफ्नै प्रयोगशालामा प्रशोधन तथा मिराष्ट्र चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भई संयुक्त रुपमा सगरमाथाको उचाई मापनको परिणाम सार्वजनिक गर्दैछौं,’ उनले भने।
नेपालका नापी अधिकृतले २ वर्ष लगाएर सगरमाथाको मापन गरेका हुन्।
जोशीका अनुसार भोलि दिउँसो साढे एक बजे नेपाल आफैले नापेको नयाँ उचाई परिणाम सार्वजनिक गरिँदैछ। चीनले पनि स्वीकार गरेको नयाँ उचाईलाई दुवै देशले संयुक्त रुपमा एकसाथ सार्वजनिक गर्ने महानिर्देशक जोशीले जानकारी दिए।
सर्वोच्च चुचुरोको नयाँ उचाई सार्वजनिक कार्यक्रममा मन्त्री, सचिव लगायत सहभागी हुनेछन्। चिनियाँ पक्ष भने भिडियो कन्फ्रेन्सका माध्यमबाट भाग लिनेछन्।
कार्यक्रममा उचाई मापनमा संलग्न अधिकृतहरुलाई सम्मान गरिने पनि विभागले जनाएको छ। विभाग स्रोतका अनुसार सगरमाथाको उचाइ बढेको छ।
घोषणामा ढिलाईं
मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाइ घोषणा गर्न भूमि व्यवस्था मन्त्रालयलाई स्वीकृति दिएको थियो।
नेपालले गत वर्ष पहिलोपटक आफ्नै स्रोत साधनको उपयोग गर्दै विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरेको थियो। नापी विभागका प्रमुख अधिकृत खिमलाल गौतमको नेतृत्वमा गएको टोली उचाइ मापन पूरा गरेर गत वर्षको जेठ महिनामा काठमाडौं फर्किएको थियो। उनीहरुले सगरमाथाको चुचुरोमा एक घण्टाभन्दा बढी समय बिताएर अध्ययन गरेका थिए।
'ग्लोबल न्याभिगेसन स्याटालाइट सिस्टम' को प्रयोग गर्दै सगरमाथाको उचाइ लिने काम भएको थियो। ६ महिनामा नै उचाइ सार्वजनिक गर्ने भनिए पनि प्राविधिक कारणले नयाँ मिति घोषणा गर्न ढिला भएको हो।
नेपाल र चीनबीच संयुक्त रुपमा सगरमाथाको उचाइ घोषणा गर्ने सहमति भएकोले पनि यसले समय लिएको अधिकारीहरु बताउँछन्।
गत वर्ष असोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदा नेपाल र चीनका राष्ट्राध्यक्षहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा सगरमाथाको उचाइ संयुक्त रुपमा घोषणा गर्न वैज्ञानिक अध्ययन गर्ने सहमति भएको थियो। दुवै राष्ट्राध्यक्षहरुले 'सगरमाथा नेपाल र चीनबीच मित्रताको प्रतीक' रहेको बताएका थिए।
सी नेपाल आउनुअघि नै नेपालले सगरमाथाको उचाइ मापन गरिसकेको थियो। चीनले भने कोरोना संक्रमणबीच यही वैशाखमा सगरमाथाको उचाइ नापेको थियो। त्यसैले संयुक्त विज्ञप्तिमा सगरमाथाको उचाइ मापन गरेर संयुक्त रुपमा नै उचाइ घोषणा गर्ने सहमति भएकोले नेपालले गरेको अध्ययनको निष्कर्ष सार्वजनिक गर्न ढिला भएको हो।
२०७२ सालको भूकम्पपछि सगरमाथाको उचाइमा घटबढ भएको हुनसक्ने अनुमान गरिएको छ। चीनले भूकम्पअघि नै सगरमाथाको उचाइ घटेको दाबी गरेको थियो। तर, नेपालले भने सगरमाथाको उचाइ पहिले झै ८ हजार ८ सय ४८ मिटर नै रहेको दाबी गर्दै आएको छ।
