PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

राप्रपाको आरोप : राष्ट्रपति भण्डारी नेकपाको एउटा गुटमा सीमित

राप्रपाको आरोप : राष्ट्रपति भण्डारी नेकपाको एउटा गुटमा सीमित

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले राष्ट्रपति विद्यादेवी भण्डारी एउटा पार्टी र त्यसको एउटा समूहको जस्तोमात्र देखिएको आरोप लगाएका छन्। राप्रपाको चुनाव चिन्ह अनावरण तथा झण्डोत्तोलन कार्यक्रममा बोल्दै अध्यक्ष लोहनीले राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाउँदै देशमा संवैधानिक राजतन्त्रको आवश्यकता रहेको औल्याए।

'नेपालका लागि,संवैधानिक राजतन्त्रको आवश्यकता छ। स्पेनजस्तो विकसित देशमा दुईपटकको गणतन्त्र पछि आयो। नेपालमा पनि त्यो आवश्यक देखिएको छ,' अध्यक्ष लोहनीले भने, 'राष्ट्रपति एउटा पार्टीमा एउटा गुटका भए। सरकारको आफ्नालाई मात्र हेर्‍यो। ट्रास्परेन्सीले भ्रष्टाचारमा देखाएको सूचक लज्जास्पद छ।'

कार्यक्रममा राप्रपाका अर्का अध्यक्ष कमल थापाले राजस्था र हिन्दु राष्ट्र राजनीतिक स्वार्थ नभएर देशको सार्वभौमिकतासँग जोडिएको विषय भएको दाबी गरे। त्यस्तै चुनाव चिन्ह हलो भएकोमा दुख मनाउ गर्नुपर्ने अवस्था नभएको भन्दै हलोको सामाजिक सांस्कृतिक महत्वबारे चर्चा गरे।

'हिन्दु राष्ट्रको नारा बोकेकाले गाई चुनाव चिन्ह चाहे पनि पार्टी एकताका लागि हलो स्वीकार गर्‍यौं। हामीले अवलम्बन गरेको हलोको पनि सामाजिक आर्थिक र धार्मिक महत्व छ,' उनले थपे, 'हलो भनेको भगवान बलरामको प्रतीक हो। हामिले यो चिन्ह कायम गर्ने सौभाग्य पायौं यसमा आत्मग्लानी गर्नुपर्ने कारण छैन।'

त्यस्तै, पछिल्लो समय हिन्दुराष्ट्र र राजतन्त्रको माग गर्दै भइरहेको आन्दोलनमा आफ्नो सहयोग र समर्थन रहने बताए। उनले यो आन्दोलनलाई देशका राजनीतिक शक्तिहरु र विदेशीहरुले पनि हेरिरहेको बताउँदै यसको मुल संवाहक राप्रपा भएको दाबी गरे।

यसरी महामारीका बिच नै आन्‍दोलन सुरु हुनुका तीन कारण उनले औंल्याए। जसमा उनले हिन्दुराष्ट्र र राजा बाहिरी शक्तिका कारण हटाइएको, जनताले गणतन्त्रको सकारात्मक परिवर्तन महसुस नगरेको र पूर्वाराजाको सालिन र सकारात्मक जीवनशैली रहेको दाबी गरे।

त्यस्तै, अर्का अध्यक्ष पशुपति शमशेर जबराले 'सरकारले सिन्को पनि नभाँचेको' आरोप लगाए।

'मुलुक अहिले नराम्रो अवस्थामा छ। दुई तिहाई सरकार २ वर्षमम दिशाहीन उपलब्धिहीन बाटोमा छ। सरकारले सिन्का भाच्न सकेको छैन,' उनले भने, 'सरकारसँग केही ठोस बाटो छैन। काण्डको नाम लिन साध्य छैन। स्थायित्वका लागि प्राप्त जनादेशको पनि आपसी कलहमा परेर सरकारले खिल्ली उडायो।'

त्यस्तै, पूर्व प्रधानमन्त्री समेत रहेका नेता लोकेन्द्रबहादुर चन्दले पार्टीले जे निर्णय गर्छ त्यसमा आफ्नो सहमति हुने बताए।

तीनैजना अध्यक्षले पार्टीको अधिवेसन गर्नुपर्नेमा जोड दिएका थिए।

पार्टी एकता पछि राप्रपाले हाल चुनाव चिन्ह हलो र झण्डमा गाई चिन्हको प्रयोग गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell