PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

नेपाल-भारत आइजीसी बैठक : व्यापार, पारवाहनदेखि रेल्वे र लगानी प्रवर्द्धनसम्म छलफल



पहिलोपोस्ट

नेपाल-भारत आइजीसी बैठक : व्यापार, पारवाहनदेखि रेल्वे र लगानी प्रवर्द्धनसम्म छलफल

काठमाडौं: नेपाल-भारत अन्तर सरकारी समितिको बैठकमा व्यापार, पारवाहनदेखि लगानी प्रवर्द्धनसम्मका विषयका छलफल भएको छ।

भिडियो कन्फरेन्समार्फत सोमवार सम्पन्न बैठकमा भारतीय टोलीको नेतृत्व नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रासँगसँगै भारत सरकारका वाणिज्य मन्त्रालयका वाणिज्य सचिव अनुप वाधवाले गरेका थिए। विभिन्न मन्त्रालय एवम् विभागका अधिकारी सम्मिलित नेपाली टोलीको नेतृत्व वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले गरेका थिए।

१५ सदस्यीय आइजीसी दुई देशबीच व्यापार तथा लगानीलाई प्रवर्द्धन गर्ने प्रमुख द्धिपक्षीय संयन्त्रको रुपमा रहेको छ। बैठकको विषय अनाधिकृत व्यापार नियन्त्रणका लागि व्यापार, पारवाहन तथा सहकार्य रहेको थियो।

बैठकमा व्यापार एवम् वाणिज्य क्षेत्रका प्रमुख एजेण्डामा भएका प्रगतिबारे समीक्षा गरिएको भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। व्यापार तथा पारवाहन सन्धिको बृहत समीक्षा, रेलसेवा सम्झौतामा संशोधन, लगानी प्रवर्द्धनका लागि भएका पहल तथा प्रयास, संयुक्त विजनेस फोरमको गठन, दुवै पक्षबीच व्यापार पूर्वाधारको विकास तथा स्तरमा सामन्जस्यता कायम लगायतका विषयमा गहन छलफल भएको जनाइएको छ।

व्यापार तथा वाणिज्य सम्बन्ध तथा सम्पर्कलाई भविष्यमा अझ सुदृढ बनाउन सरकारी स्तरमा गर्नुपर्ने प्रयासकाबारे पनि दुवै पक्षबीच विस्तृत छलफल भएको उल्लेख छ।

आइसीजी बैठकको तयारीका लागि मंसीर १८ देखि १९ सम्म अन्तर सरकारी उपसमितिको सहसचिव स्तरको बैठक बसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell