PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

एक वर्षपछि नेपाल वायुसेवा निगमको हुम्ला उडान पुनः सञ्चालनमा



रासस

एक वर्षपछि नेपाल वायुसेवा निगमको हुम्ला उडान पुनः सञ्चालनमा

सिमकोट : नेपाल वायुसेवा निगमको हुम्ला उडान सोमवारदेखि पुनः सञ्चालनमा आएको छ।

कर्णाली प्रदेशको जुम्ला र रुकुममा नियमित उडान भर्दै आएको सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले हुम्लामा झण्डै एक वर्षपछि सोमवारदेखि उडान शुरु गरेको हो। नेपालगञ्जबाट हुम्लाका लागि हप्ताको एकपटक उडान गर्ने भएको हुम्ला स्टेसन इञ्चार्ज बलबहादुर सुनारले जानकारी दिए।

दुई वर्षमुनिका बालबालिका तथा विद्यार्थीलाई परिचयपत्रका आधारमा टिकटमा २५ प्रतिशत छुटको व्यवस्था रहेको उनले बताए। यस्तै, वृद्धवृद्धालाई पचास प्रतिशत टिकटमा छुटको व्यवस्था रहेको इञ्चार्ज सुनारले बताए।

अन्य नागरिकका लागि हुम्लाबाट नेपालगञ्जको भाडादर ६ हजार ३०० रुपैयाँ रहेको छ भने नेपालगञ्जदेखि हुम्लाका लागि सात हजार रुपैयाँ भाडादर कायम गरेको उनले बताए। नेपालगञ्जदेखि हुम्ला पुग्नका लागि निजी एयरलाइन्सहरुले प्रतिव्यक्ति भाडादर दश हजार रुपैयाँ भन्दा बढी लिने गरेका छन्।

नेपाल एयरलाइन्सले हुम्लाका हप्ताको एक, जुम्लामा हप्ताको दुई र रुकुममा एक दिन उडान गर्दै आएको छ। हुम्लामा यात्रुको सङ्ख्या हेरेर उडान तालिका थप्न सकिने बताइएको छ।

सोमवारदेखि नेपाल एयरलाइन्सले हुम्लामा उडान गरेपछि यहाँका नागरिकले सहुलियत भाडादरमा जिल्लाबाहिर आवतजावत गर्न पाएकोमा खुशी भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell