PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

हराएका सवारी साधन खोजी गर्न प्रहरीको अप्रेसन, बिक्री हुनसक्ने बस्तीमा प्रहरीको सुराकी



पहिलोपोस्ट

हराएका सवारी साधन खोजी गर्न प्रहरीको अप्रेसन, बिक्री हुनसक्ने बस्तीमा प्रहरीको सुराकी

काठमाडौं : काठमाडौं उपत्यकाभित्र चोरी भएका मोटरसाइकल उपत्यका बाहिरका जिल्लामा पुर्‍याएर सस्तोमा बिक्री गर्ने गरेको खुलेको छ। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले केही समयदेखि चोरी भएका मोटरसाइकल खोजतलास अभियानमा यस्तो देखिएको हो। उनीहरुले गाउँमा पुर्‍याएर नम्बर प्लेटदेखि अन्य सामानसमेत परिवर्तन गरेर सस्तोमा बिक्री गर्ने गरेको खुलेको हो।

महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने १४ जनालाई चालु आर्थिक वर्षमा पक्राउ गरी कारबाही गरेको जानकारी दिएको छ। त्यस्तै, महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट हराएका ८५ वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।

'विगत लामो समयदेखि मोटरसाइकल चोरी गर्ने पेशेवर गिरोहलाई निगरानीमा राखी सादा पोशाकमा विशेष अपरेसन टोली खटाइएका छौं, धेरै जसो उपत्यकाबाट हराएका मोटरसाइकलहरु उपत्यका बाहिरका ग्रामीण बस्तीमा पुग्ने गरेको पाइएको छ। त्यस्ता बस्तीमा समेत सुराकी परिचालन गरी सूचना संकलन गर्ने काम समेत भइरहेको छ,' महाशाखाका एसएसपी जनक भट्टराइले भने।

विशेषगरी काठमाडौंका सार्वजनिक स्थल र एकान्तमा पार्किङ गरी राखिएका मोटरसाइकल चोरी हुने गरेको तथ्याङ्कबाट देखिएको छ। सवारी धनीहरुले अतिरिक्त लक एव सुरक्षाका उपायहरु नअपनाउँदा चोरी हुने संख्या समेत बढ्दै गएको देखिएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकल चोरी भएर उपत्यकामा नै किनबेच भएका र मोटरसाइकल चोरले नै नम्बर प्लेट परिवर्तन तथा पार्टपुर्जा फेरेर नचिनिने गरी चलाउने गरेको पाइन्छ। त्यस्ता मोटरसाइकलहरुलाई विशेष संकेतको आधारमा पहिचान गरी समातिने गरेको गरेको महाशाखाले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell