काठमाडौं : सहकारी क्षेत्रको एकमात्र राष्ट्रिय सहकारी बैंकको एटिएम सेवा सञ्चालनमा ढिलाई भएको छ। गत वर्ष नै एटीएम सेवा सञ्चालन गर्ने योजनामा रहेको बैंक उत्तरी छिमेकी चीनबाट कार्ड नआएपछि ढिलाई भएको हो।
कोभिड १९ महामारीका कारण कार्ड आयात नभएपछि एटीएम सेवा सञ्चालन गर्न नसकिएको सहकारी बैंकका प्रमुख कार्यकारी निर्देशक बद्रीकुमार गुरागाईंले जानकारी दिए।
पछिल्लो समय सहकारी बैंकले आफूलाई प्रविधिमैत्री बनाउँदै लगेको छ। यसअन्तर्गत विद्युतीय ट्रान्सफरदेखि एटीएम सेवासम्म सञ्चालन गर्ने निर्णय भएकोमा एटीएम सेवा भने सुरु हुन सकेको छैन।
सहकारी बैंकले कृषि विकास बैंकसँग सहकार्य गरेर एटीएम सेवा सञ्चालनमा ल्याउन खोजेको हो। यसका लागि गत वर्षको पुसमै दुई बैंकबीच सम्झौता भएको थियो। सम्झौताअनुसार कृषि र सहकारी बैंकको संयुक्त कार्ड हुने र कृषिकै एटिएमबाट सहकारी बैंकको पनि कारोवार हुने उल्लेख छ।
तर युनियन पे को कार्ड नेपालमा नछापिने भएकाले चीनबाट ल्याउन गत माघमै प्रक्रिया थालियो। ‘भिसा कार्ड नेपालमै छापिन्छ। युनियन पे को नेपालमा भेण्डर छैन। चीनबाटै छापिएर आउँछ। हामीले अर्डर गरेको फिजिकल कार्ड कोभिडका कारणले आएन,’ प्रमुख कार्यकारी निर्देशक गुरागाईंले भने।
सहकारी बैंकले ५० हजार कार्ड अर्डर गरेको थियो। बैंकमा हाल १२ हजार ३ सय ८१ सहकारी संस्था सदस्य छन्। बैंकले देशभर ५० वटा शाखाबाट सेवा दिँदै आएको छ। १८ वटा शाखा खुल्ने क्रममा छन्।
प्रमुख कार्यकारी निर्देशक गुरागाईं चीनबाट कार्ड भित्र्याउन पहल भइरहेको बताए। ‘कृषि बैंकसँग समन्वय गरेर ताकेका गरिरहेका छौं। कुनै न कुनै समाधान निस्किन्छ। चाँडै एटीएम सेवा सुरु गर्छौं,’ उनले भने।
गुरागाईंका अनुसार बैंकका सदस्यका लागि ५ लाख कार्ड खपत हुने देखिन्छ। कृषिसँग संयुक्त रुपमा एटीएम चलाउँदा उपभोक्तालाई सस्तो सेवा हुने र लागत पनि कम लाग्ने सीईओ गुरागाईंको भनाई छ।
ब्याजमा १० प्रतिशत सहुलियत
बैंकले गत आ.व. २०७६/०७७ मा शेयर रकम २ अर्ब २२ करोड, निक्षेप ४६ अर्ब ८८ करोड, कर्जा २७ अर्ब १५ करोड वित्तीय परिचालन गरेको छ।
सदस्यहरुलाई समयमै किस्ता बुझाँउदा ब्याजमा १० प्रतिशत र असार महिनामा कर्जामा २ प्रतिशत सहुलियत प्रदान गरेको छ। यस दौरान बैंकले ४ करोड २२ लाख २८ हजार २८२ रुपैयाँ ब्याज छुट गरेको छ। १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
लकडाउनका दौरान बैंकले तालिम कार्यक्रमहरु विद्युतीय माध्यमबाट प्रभावकारी रुपमा सञ्चालन गरेको र अनलाइनमार्फत संचालित कार्यक्रममा करीब १ लाख ५० हजार व्यक्ति लाभान्वित भएको अध्यक्ष केबी उप्रेतीले जानकारी दिए।
कोभिड-१९ का कारण बैंकको १७ औं वार्षिक साधारणसभा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय बाट जारी भएको सहकारी सस्थाको साधारणसभा (कार्यव्यवस्था) निर्देशिका, २०७६ अनुरूप भर्चुअल रुपमा संचालन गर्न लागेको अध्यक्ष उप्रेतीले बताए।
