काठमाडौं : मोरङमा एक शिक्षकको आज बिहान गोली हानी हत्या गरिएको छ।
मोरङको मिक्लाजुङ् गाउँपालिका १ बर्खे भन्ने जंगलमा गोली हानी हत्या गरिएको प्रहरीले जानकारी दिएको छ। तर अहिलेसम्म प्रहरी घटनास्थल पुगिसकेको छैन। मृतका परिवार तथा स्थानियले शिक्षकलाई गोली हानेको जानकारी दिएका थिए।
'त्यो अलिक विकट ठाउँ भएकाले पुग्न केही समय लागेको हो। हाम्रो टोली घटनास्थल पुग्दैछ,' जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले भने।
सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक रहेका ५२ वर्षीया राजेन्द्र श्रेष्ठको हत्या भएको हो। उनलाई आज बिहानै अज्ञात समूहले घरबाट लगेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको छ। मृतका परिवारले दिएको जानकारी अनुसार बिहान साढे ६ बजेतिर ४/५ जनाको समूहले उनलाई घरबाट 'उठाएर' लगेका थिए।
प्रहरीको प्रारम्भीक अनुसन्धानमा नेत्रविक्रम चन्द समूहले हत्या गरेको देखिएको छ। उनलाई घरभन्दा करिब १ किलोमिटर पर रहेको जंगलमा लगेर गोली हानेको मृतका परिवारले जानकारी दिएको एसपी खड्काले जानकारी दिए।
'४/५ जना हतियार बोकेर आएको भनेपछि यो अपराधिक समूह नै हो। योजनावद्ध देखिन्छ। थप अनुसन्धान भइरहेको छ,' एसपी खड्काले भने।
