काठमाडौं : मोरङमा मंगलबार बिहान शिक्षकको हत्या गोली हानि नभई धारिलो हतियारले घाँटी रेटेर हत्या भएको खुलेको छ।
प्रहरी टोली घटनास्थल पुगेर हेर्दा घाँटी काटिएको अवस्थामा फेला परेको थियो। शिक्षक श्रेष्ठको हात बाँधेर घाँटी काटिएको प्रहरीले जानकारी दिएको छ।
'सुरुमा स्थानियले गोलीको आवाज सुनेको भनेकाले गोली हानिएको भन्ने थियो। तर हाम्रो टोली पुगेर हेर्दा घाँटी काटिएको पाइयो,' जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले भने।
मोरङको मिक्लाजुङ् गाउँपालिका १ बर्खे भन्ने जंगलमा सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक रहेका ५२ वर्षीय राजेन्द्र श्रेष्ठको हत्या भएको हो। उनलाई आज बिहानै अज्ञात समूहले घरबाट लगेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको छ।
मृतकका परिवारले दिएको जानकारी अनुसार बिहान साढे ६ बजेतिर ४/५ जनाको समूहले उनलाई घरबाट 'उठाएर' लगेका थिए।
प्रहरीको प्रारम्भीक अनुसन्धानमा नेत्रविक्रम चन्द समूहले हत्या गरेको देखिएको छ। श्रेष्ठले प्रहरीलाई सुराकी दिएकाले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
'यो घटनाको प्राविधिकदेखि अन्य कोणबाट अनुसन्धान सुरु भइसकेको छ।' एसपी खड्काले भने।
सुरुमा उनलाई घरभन्दा करिब १ किलोमिटर पर रहेको जंगलमा लगेर गोली हानेको मृतका परिवारले जानकारी दिएको एसपी खड्काले जानकारी दिएका थिए।
शिक्षक श्रेष्ठको हत्या भएपछि प्रदेश १, प्रदेश प्रहरी कार्यालयले पूर्वका विभिन्न जिल्लामा सर्च अभियान चलाएको छ।
