PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

किम्फको उद्घाटनमा नेपालमा खिचिएको भुटानी फिल्म, फेस्टिभलमा अन्तर्क्रियादेखि पुस्तक विमोचनसम्म



पहिलोपोस्ट

किम्फको उद्घाटनमा नेपालमा खिचिएको भुटानी फिल्म, फेस्टिभलमा अन्तर्क्रियादेखि पुस्तक विमोचनसम्म

काठमाडौं : काठमाडौं  इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को अठारौं संस्करण डिसेम्बर महिनाको १० देखि सुरु हुँदैछ। ‘तमसोमा ज्योतिर्गमय' भन्ने नारासहितको फेस्टिभल ४ दिन लामो चल्नेछ। कोभिड-१९ का कारण यस पटक फेस्टिभल भर्चुअल्ली हुन लागेको हो।

यस पटक १५ देशका १८ वटा फिल्म प्रदर्शनका लागि छानिएका छन्। त्यस्तै नेपाली पानोरोमा अन्‍तर्गत कथानक र डकुमेन्ट्री गरी १२ वटा फिल्म देखाइनेछ। फेस्टिभलमा प्रदर्शनीबाहेक फिल्मकर्मी एवं अन्य वक्तासँग अन्तर्संवाद पनि राखिएको छ।

फिल्महरू भिमिओमार्फत हेर्न सकिनेछ

अन्तर्राष्ट्रिय फिल्महरू पर्वतीय जनजीवन, संस्कृति, वातावरण, पर्वतारोहण एवं अन्य साहसिक कर्महरू केन्द्रित छन्। नेपाली पानोरोमा अन्तर्गत भने नेपाली युवा फिल्मकर्मीको काम समेटिएका छन्।

किम्फको उद्घाटन भुटानी फिल्म निर्देशक खोन्चे नोर्बु रिम्पोचेको नयाँ फिल्म 'लुकिङ फर अ लेडी विद फ्याङ्गस एण्ड अ मुस्ट्याच' प्रदर्शनसँगै हुनेछ। उद्घाटन समारोहमा रिम्पोचेले भर्चुअल्ली प्रवचन दिनेछन्। उक्त फिल्म नेपालमै छायाँकन गरिएको हो।

दिवङ्गत लेखक पिटर कार्थकको हिमाल किताबद्वारा प्रकाशित 'नेपाली म्यूजिक मेकर्स' नामक पुस्तक पनि समारोहमा विमोचन हुनेछ।

यस पटकको तीन सदस्यीय निर्णायक मण्डलमा अमेरिकी डकुमेन्ट्री फिल्ममेकर जुली फिजह्याम, स्वीस पत्रकार र फिल्ममेकर फलजा रुस्ली र नेपालका लेखक नयनराज पाण्डे रहेका छन्। निर्णायकहरूले अन्तर्राष्ट्रियतर्फ उत्कृष्ट तीन र नेपाली पानोरोमा अन्तर्गत् उत्कृष्ट कथानक र उत्कृष्ट डकुमेन्ट्री छान्नेछन्।

अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने फिल्महरूले क्रमश:  दुई लाख, १ लाख ५० हजार र १ लाख नगद पुरस्कार पाउनेछन्। नेपालीतर्फ उत्कृष्ट कथानक फिल्मले एक लाख र उत्कृष्ट डकुमेन्ट्रीले ७५ हजार पाउनेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell