यूईएफए च्याम्पियन्स लिग अन्तर्गत आजराति भएको खेलमा इटालियन क्लब युभेन्टसले स्पेनिस क्लब बार्सिलोनामाथि सहज जित निकालेको छ। क्याम्प नाउमा भएको समूह ‘जी’ को खेलमा युभेन्टसले घरेलु टोली बार्सिलोनामाथि ३-० को सानदार जित निकालेको हो।
खेलको १३ औं मिनेटमा नै युभेन्टसले क्रिस्टियानो रोनाल्डोको गोलमार्फत खेलमा अग्रता बनाएको थियो। रोनाल्डोलाई बार्सिलोनाका डिफेन्डर रोनाल्ड अरौजोले पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि युभेन्टसले पेनाल्टीको अवसर पाएको थियो।
त्यस्तै २० औं मिनेटमा वेस्टोन म्याकिनीले युभेन्टसका लागि गोल थप्दा पहिलो हाफमै युभेन्टस २ गोलले अघि रह्यो।

दोस्रो हाफमा युभेन्टसले फेरि पेनाल्टीको अवसर पायो। पेनाल्टी क्षेत्रभित्र क्लेमेन्ट लेङलेटले ह्याण्डबल गरेपछि पाएको अवसरको सदुपयोग गर्दै फेरि रोनाल्डोले नै गोल गरे। र युभन्टेस ३-० को जित निकाल्न सफल भयो।
जितसँगै युभेन्टस समूह विजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ भने बार्सिलोना दोस्रो हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ।
