PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सगरमाथाको उचाइ लिने यी दुई जो मृत्युको मुखमा पुगेर फर्किए...



कमलराज भट्ट

सगरमाथाको उचाइ लिने यी दुई जो मृत्युको मुखमा पुगेर फर्किए...

काठमाडौं :  नापी विभागको हल। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल सगरमाथाको नयाँ उचाइ घोषणा हुने कार्यक्रममा सरिक थिए। अगाडी स्क्रिनमा थिए चिनियाँ समकक्षीहरु। ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश पढेर विश्वकै सर्वोच्च शिखर सगरमाथाको बढेको उचाइ ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर सार्वजनिक गर्दै गर्दा इन्जिनियर रविन कार्की मंगलवार निकै खुसी देखिन्थे।

कार्की सगरमाथाको उचाइ नाप्ने टोलीका सदस्यका साथै नापी अधिकृत पनि। सगरमाथाको उचाइ नाप्न खटिएको टोलीका संयोजक प्रमुख नापी अधिकृत खिमलाल गौतम र अन्य सदस्यका साथमा उनले मे २२ को विहान ३ बजे सगरमाथाको चुचुरोमा पुगेर उचाइ नापेका थिए।

मंगलवार नापी विभागमा नेपाल र चीनले संयुक्त रुपमा उचाइ सार्वजनिक गरेपछि भव्य समारोहबीच पुरस्कृत हुँदा उनीहरुको खुसीको सीमा नै थिएन। उनीहरुसँग मन्त्रीदेखि कर्मचारी, पत्रकार, आम नागरिकसम्म तस्बिर खिचाउन भ्याई नभ्याई थियो। प्रतिक्रियाका लागि सञ्चारमाध्यमले तानातान नै गरिरहेका थिए।

खिमलाल र रविन चुचुरोमा पुग्दा उनीहरुलाई आधार शिविरबाट समन्वय गरिरहेका थिए सर्वेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धितालले। यी चारै जना नापी विभागका कर्मचारी। नेपालले ६६ वर्षपछि पहिलोपटक आफ्नै स्रोत साधनमा आरोहण, सर्वेक्षण र प्रशोधनसहित उचाइ मापन गर्नमा यी चार कर्मचारीको मुख्य भूमिका रह्यो। परराष्ट्रमन्त्री ज्ञवाली, भूमि व्यवस्था मन्त्री पद्मा अर्याल र सचिव टेकनारायण पाण्डेले उनीहरुलाई सम्मानित गरे।

सरकारले चुचुरोमा पुग्ने खिमलाल र रविनलाई १०/१० लाख तथा वेश क्याम्प सम्हाल्ने सुरज र युवराजलाई ५/५ लाखसहित पुरस्कृत गर्ने निर्णय गरिसकेको छ।

सम्मान कार्यक्रममा भूमि व्यवस्था मन्त्री अर्यालले नेपाली टोलीको प्रशंसा गर्दै भनिन्, 'सगरमाथामा सर्भेयरको पहिलो पाइला नेपालकै परेको छ। अब नेपालको क्षमताको चर्चा हुनेछ। हामी परनिर्भरताबाट मुक्त भएका छौं। नापी क्षेत्रको विकासको आधार बनेको छ। श्रीमती सिकिस्त विरामी हुँदा पनि देशका लागि चुचुरो चढ्ने आँट गर्ने खिमलाल गौतम र उचाइ मापन कार्य सकेर फर्किँदा अक्सिजन सकिएर बेहोस अवस्थामा झण्डै मृत्युको मुखमा पुगेका रविन कार्कीको महान योगदानको उच्च कदर गर्दछु।'

परराष्ट्रमन्त्री ज्ञवालीले पनि प्रशंसा गर्दै भने, 'सगरमाथा मात्र होइन नेपालको प्राविधिक क्षमताको नयाँ उचाइ पनि घोषणा भएको छ। सबैको योगदान प्रशंसनीय छ।'

सचिव पाण्डेले त उचाइ नाप्नेहरुको सम्मानमा नापी विभागभित्र सगरमाथा हल, त्यसमा खिमलाल र रविनको प्रतिमा वा तस्बिर, वरीपरी सबैको तस्बिर राख्न महानिर्देशकलाई निर्देशन दिए। त्यसैगरी विभाग परिसरमा सगरमाथा पार्क, पार्क चुचुरोमा पुग्ने दुबै जनाको प्रतिमा र वेशक्याम्प देखिका तस्विर राख्न पनि भने। उचाइ मापनमा खटिएका कर्मचारीहरुको अनुभव समेटेर पुस्तक प्रकाशन गर्न पनि सुझाव दिए।

मन्त्रीद्वय र सचिवको प्रशंसाबाट पुलंकित रविन भन्छन्, 'सुरुमा सगरमाथा उचाइ मापनको यत्रो महत्व होला भनेर आशा पनि गरेको थिएन। काम र अध्ययन गर्दै जाँदा राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय रुपमै उच्च महत्व रहेछ भन्ने महसुस भयो। सम्मानित हुँदा आउने दिनमा थप जोश जाँगरका साथ अरु कामहरु गर्ने उर्जा मिलेको छ। परिवारले मेरो काममा गर्व गर्दा खुसी लागेको छ।'

खिमलाल भन्छन्, 'यो सगरमाथाको राज्यारोहण समारोह हो। हामी उत्सव मनाउन सहभागी भएका छौं। सबैको योगदान छ। टिमले गरेको हो। टिम नै सम्मानित हुँदा खुसी लागेको छ।'

'इतिहासले दिएको ऐतिहासिक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने अवसर पायौं। यसका लागि नापी विभाग र नेपाल सरकारलाई धन्यवाद दिन्छु। गौरवान्वित महसुस गरिरहेको छु,' सर्भेक्षक सुरजले भने।

यसरी गरियो मापन

चुचुरोमा पुगेका इन्जिनियर कार्कीका अनुसार टोलीले उचाइ मापनमा जीएनएनएस रिसिभर र जीपीआर प्रविधि प्रयोग गरेको थियो। 'जिएनएनएसले पोजिसन र हाइट पत्ता लगाउँछ। जीपीआरले हिउँको मोटाई पत्ता लगाउने भयो,' उनले भने।

प्रमुख नापी अधिकृत गौतमको नेतृत्वमा सर्भे टोली मे २२ को विहान ३ बजे चुचुरोमा पुगेको थियो।

'अघिल्लो दिन मे २१ मा हामी क्याम्प फोरबाट दिउँसोको पौने २ बजे हिँडेको अनि विहान ३ बजे चुचरोमा पुग्यौं। १ घण्टा १६ मिनेटको अव्जरभेसन गरेर ५ बजे फर्कियौं,' इन्जिनियर कार्कीले चुचुरोको त्यो क्षण सम्झिए, 'सेटअप यताउता गर्दा हाम्रो बसाई करिब २ घण्टा जस्तो भयो। डाटा लिनलाई ट्राइपोर्टहरु फिक्स गर्नुपर्‍यो। हामीसँग दुइटा इन्स्टुमेन्ट थियो। पहिला एउटा इनस्टल गर्‍यौ। त्यसपछि अर्कोलाई इनस्टल गरेर डाटा लिँदाखेरी हामीलाई २ घण्टा जस्तो टाइम लाग्यो।'

फर्किने क्रममा भने टोलीलाई क्याम्प २ बाट उद्धार गरिएको थियो।

'हामी वेश क्याम्पबाट एक दिनमा क्याम्प २ पुग्यौं। अर्को दिनमा क्याम्प थ्री, अर्को दिन क्याम्प फोर पुग्यौं। मौसम बिग्रेपछि क्याम्प फोरमा थप एक दिन बस्यौं। अर्को दिन २२/२३ घण्टा हिँडेर समिट गएर आयौं। अर्को दिन क्याम्प २ झर्‍यौं। खिमलाल सरको खुट्टामा समस्या भएको हुनाले यहाँबाट उद्धार गरियो,' रविनले भने।

चुचुरोमा जानुअघि सर्भे टोलीले लाङटाङमा नेपाल माउन्टेन एकेडेमीबाट १५ दिन दिनको तालिम लिएको थियो।

टोलीमा नापीबाट चार जना र चार जना शेर्पा थिए। २ जना शेर्पा विरामी हुँदा नापी टोलीसँग २ शेर्पा चुचुरो गएका थिए। टोलीलाई हिमाली क्षेत्रमा आरोहण तयारी र चुचरोमा सर्भेक्षण गर्न करिब ४३ दिन लाग्यो।

भण्डारी आफ्नो टिमले आधार शिविरमा बसेर समन्वय गरेको बताउँछन्।

'मन्त्रालय, नापी विभागको टिमसँग समन्वय गर्‍यौं। चुचुरोमा स्याटलाइट फोनबाट सम्पर्क गर्‍यौं। समस्या पर्दा र केही हुँदा प्रत्येक क्षण अपडेट गराउने काम गर्‍यौं। सञ्चार, कोर्स स्टेशन स्थापनाको काम गर्‍यौं। विभाग र चुचरोमा जानुभएका सर्भेयरसँग समन्वय गर्‍यौं,' उनले भने।

वेश क्याम्पमा उनीहरुसँग माउन्टेन गाइडहरु, डिस्टेन्स म्यानेजरहरु लगायत व्यस्थापकीय पक्षहरु थिए। उनका अनुसार तालिम र छनोटमा ६ महिना र वेश क्याम्पमा बसेर ४३ दिनमा मापनको सबै काम सकिएको हो। 'मौसम सफा भएपछि मापनका लागि चुचुरोमा जान ४ दिन र झर्नलाई २ दिन गरेर ६ दिनमा वेश क्याम्पबाट टपमा पुगेर अव्जरभेसन गरेर फर्किनुभयो,' सुरजले भने।

मृत्युको मुखबाट बाँचेको दिन…

चुचुरोमा पुगेका रविन फर्किँदा झण्डै मृत्युसँग साक्षात्कार गर्न पुगे। बेहोसी अवस्थामा पुगेका उनी चुचुरोबाट कसरी बाँचेर आए? उनकै शब्दमा:

'हामी मे २२ को दिनमा चुचुरोमा पुग्यौ। त्यो दिन आरोहीहरुको धेरै भीड थियो। साउथ समिट र समिटको बीचमा हिलासी स्टेप छ । त्यो ठाउँ एकदम नाइफ रिज छ। दुई जना मान्छे क्रस गर्न गाह्रो हुन्छ। त्यो भीडमा अलिकति क्रस हुन समय लाग्यो। हामीले समिटको सर्भेक्षण गर्दा पनि बढी समय लागेको हुनाले मेरो अक्सिजन माथि नै सकियो। मेरो एक्स्ट्रा अक्सिजन सानो शेर्पासँग थियो। त्यो भाई अलि अनुभवी नभएको हुनाले मेरो एक्सट्रा सिलिण्डर बोकेर तल ओर्लियो।

जब मैले त्यो हिलासी स्टेपमा क्रस गरेर चेक गर्दा ५० मात्र थियो अक्सिजन प्रेसर। त्यसपछाडि म एकदमै आत्तिए। अबको आधा घण्टा वा एक घण्टापछि म मर्दैछु भन्ने फिल भयो।

पछाडि छिरिङ सर खिमलाल सर हुनुहुन्थ्यो। उहाँहरु पनि जाम क्रस गरेर आउनुभयो। मैले के गर्ने भनेर सोधे। छिरिङ सरले तपाई जतिसक्दो तल झर्नु भने। म उहाँहरुलाई छोडेर झरे। झर्दैगर्दा एक धेरै स्या स्या हुन थाल्यो। आँखा पनि नदेखेजस्तो, रिगटा लागेजस्तो हुन थाल्यो। मलाई साह्रै नै गाह्रो भएपछि मेरो एंकरमा सेफ्टीलाई लगाएर म त्यहाँ आराम गर्दै थिए। त्यतिबेला म आफै अन्कन्सियस भए। छिरिङ सर आएर मलाई अक्सिजनका लागि हेल्प माग्नुभयो।

निमा टेण्डी शेर्पाले मलाई अक्सिजन दिनुभयो। अक्सिजन दिएपछि विस्तारै ब्ल्याक एण्ड ह्वाइट टिभी जस्तो देख्न थाले। त्यसपछि रंगीन टिभी अनि त्यसपछि एचडी गर्दा गर्दै अलि पछि लाइभ देखे। त्यसपछाडि हिँडे। म बेहोस भएको विहान ८ बजेतिर हो। क्याम्प फोरमा आउँदा लगभग ३/४ बजेको थियो। त्यहाँ चिया खाएर आराम गर्‍यौ। भोलिपल्ट क्याम्प २ आयौं। क्याम्प २ बाट रेस्क्यु भयो।'

चुचुरोमा पुग्दा रात भएकाले रविनले खासै एडभेन्चर महसुस गर्न पाएनन्। 'जब उज्यालो भयो अक्सिजन सक्किन लाग्यो। टपबाट देखिने भ्युको मज्जासँग आनन्द लिन पाइनँ।'

बागलुङका रविन विगतमा खेलाडी थिए। छनोटमा पर्न उनलाई खासै समस्या भएन। 'तर उचाइमा काम गर्न यहाँजस्तो सजिलो रहेनछ। त्यो वातावरणमा घुलमिल हुनुपर्छ। त्यो हुँदा अलिकति समस्या आएकै हो। मेरो जीवनको सबैभन्दा आफ्ठ्यारो टास्क मध्येको एउटा हो,' उनले भने।

चुचुरोमा पुगेका रविनले चीनसँगको सहकार्यबारे भने, 'नेपाली टोली चुचुरोमा पुग्दा चीनले यता प्रस्ताव गरेको सुनेको छु। तर त्यसबारे डिटेल थाहा छैन।'

टिम वर्कबाट सफलता

टोलीका संयोजक एवम् प्रमुख नापी अधिकृत खिमलाल कठिन चुनौतीलाई टिम वर्कबाट सफलतापूर्वक सम्पन्न गरिएको बताउँछन्। उनी सगरमाथा चुचरोको मापनको आफ्नो अनुभव पुस्तकमा उतार्ने तयारीमा छन्।

'म मेरा सबै अनुभवहरु केही शब्दमा भन्न सक्दिन। ति अनुभव किताबमा लेख्दैछु। मेरो सहकर्मी मृत्यु मुखमा पुगेर बचाएर ल्याए। म आफै लगभग समस्या परे। ति ठूल्ठूला चुनौती छन्। विस्तारै खुल्छन्,' उनले भने, 'विज्ञान र प्रविधिको क्षेत्र र पर्यटनमा हामी गर्न सक्छौं भन्ने म्यासेज गएको छ।'

नापी विभागका महानिर्देशक प्रकाश जोशी विश्वमा नेपालले नै नाप्यो भन्ने सन्देश गएको र यो राष्ट्रिय गौरवको विषय भएको बताउँछन्। उनका अनुसार सगरमाथा मापनका क्रममा भारतले बंगालदेखिको डेटा उपलब्ध गराएको थियो। 'तराईदेखि हिमालसम्मको विभिन्न लेभलिङ र डाटाले ८८४८.८६ देखायो। यो ठूलो उपलब्धी हो। डाटामा भारतले पनि सहयोग गर्‍यो। प्राविधिक रुपमा संस्थाको क्यापासिटी बढ्यो,' उनले भने।

विश्वसनीयता र मित्रता प्रवर्द्धनका लागि चीनसँग सहकार्य

नेपालको सगरमाथाको उचाइ नाप्न तथा संयुक्त रुपमा सार्वजनिक गर्न उत्तरी छिमेकी चीनसँग सहकार्य गरिएकोमा धेरैले प्रश्न उठाएका छन्। यसको जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले भने, 'विश्वसनीयताका लागि चीन सहमत हुनपर्ने थियो। आधिकारिक वैज्ञानिक तथ्यमात्र होइन आम सहमति पनि भएको छ। नेपालले संकलन गरेको तथ्य चीनको प्रयोगशालामा परीक्षण गर्दा हाम्रो तथ्यांकसँग ठ्याक्कै मिल्यो। मापनको वैज्ञानिकता र आधिकारिकताको थप पुष्टि गरेको छ।'

मन्त्री ज्ञवालीले हिमालय क्षेत्रको पर्यावरणीय सुरक्षाका लागि चिनियाँ समकक्षी वाङ यीसँग छलफल गरेको पनि जानकारी गराए। 'जलवायु परिवर्तनको चुनौती हाम्रो गौरव र अस्तित्वसँग जोडिएको छ। उचाइ घोषणा गरिरहँदा केही वर्षपछि काला पहाडजस्तै हिउँ नभएको हुने हो कि भन्ने ठूलो चुनौती छ। चीन र सरोकारवाला सबैसाग प्रभावकारी ढंगबाट काम गर्नुपर्छ भनेको छु,' उनले भने।

सगरमाथा उचाइ मापनका सारथीहरु

उचाइ घोषणा कार्यक्रममा मापनका सारथीहरुलाई सम्मान गरियो। जसमा सेभेन ह्युमन सोर्सका टासी लाक्पा शेर्पा, सगरमाथाको वेश क्याम्पमा इन्टरनेट व्यवस्था गर्ने छिरिङ ग्याल्जेन शेर्पा, आरोहण दलसँग चुचुरोमा जाने छिरिङ जाङबु शेर्पा, अक्सिजन पुर्‍याउने क्लान्डिङ गाइड निमा टेण्डी शेर्पा, वेश क्याम्प कोर्डिनेटर लाक्पा नोर्गु शेर्पा, वेश क्याम्प इन्चार्ज छिरीङ तेन्जिङ शेर्पा, ल्याब सहयोग काजी विष्ट रहेका छन्।

त्यसैगरी पर्यटन बोर्डकी लिहाजन अफिसर मिरा आचार्य, फिल्ड सर्वेमा सघाउने सिम्रिक एयरका पाइलटहरु क्याप्टेन सिद्धार्थजंग गुरुङ, सुरेन्द्र पौडेल, विवेक खड्का, आनन्द थापा, हरेराम थापा, राजेन्द्र दवाल, विमल शर्मा सापकोटा, माउन्टेन गाइड तेन्जिङ शेर्पा, छिरिङ पाण्डे भोटेलगायत भूमि व्यवस्थामन्त्रीबाट सम्मानित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell