काठमाडौं : मंगलावार नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उचाई घोषणा गरे। यसअघि मान्यता पाएको उचाइ ८ हजार ८४८ मिटरमा ८६ सेन्टिमिटर थपिँदै नयाँ उचाइलाई दुवै देशले मान्यता दिएका छन्।
दुई देशबिच सगरमाथाको उचाइलाई एकरुपता दिनका लागि सात पटक सम्म छलफल भएको थियो। दुवै देशले छुट्टा छुट्टै सगरमाथाको उचाइ मापनका लागि सर्भे गरेका थिए। दुवै सर्भेको नतिजामा फरक-फरक नतिजा आएपछि सात चरणको छलफल भयो र उचाइलाई एकरुपता दिइएको चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले सर्भेमा सहभागी स्रोतलाई उदृत गर्दै जनाएको छ।
दुवै देशका वैज्ञानिकहरुले सबै हिसाब तथा प्रमाणिकरणको काम नोभेम्बरमा नै सम्पन्न गरिसेका चीन तर्फबाट संयुक्त उचाइ मापन प्राविधिक टोलीका सदस्य तथा चाइना एकेडेमी अफ सर्भेइङ एण्ड म्यापिङका एसोसिएट रिसर्चर जियाङ थाओले भनेका छन्। उचाइ नाप्ने काम तथा घोषणा राजनीतिक नभएको समेत बताए।
'विज्ञानले यथार्थता खोज्छ। यदि तथ्यांकमा कुनै समस्या आयो भने यो ऐतिहासिक कमजोरीमा दर्ता हुने छ। त्यस्तैले तथ्यांकको प्रकाशन राजनीतिक होइन,' उनले भनेका छन्।
चिनियाँ पक्षले सेप्टेम्बरको सुरुवातमै प्रारम्भिक नतिजा निकालिसकेको थियो। त्यसपछि सात चरणमा नेपाली पक्षसँग छलफल भएको थियो। जुन छलफल सातामा एक पटक जस्तो हुन्थ्यो। छलफलमा विज्ञहरुलाई पनि सहभागी गराइएको थियो।
'हरेक पटकको छलफलमा केही भिन्नता हुन्थे केही सामान्य प्राविधिक कमजोरी हुन्थे, जस्तो कि मापनको स्तरीयता जस्ता कुराहरु,' उनले भनेका छन्।
चीनले उचाइ मापनका लागि 'एल्लो सी' लाई आधार बनाएको थियो। अर्को तर्फ नेपालले हिन्द महासागरलाई आधार बनाएको थियो।
यसअघि सगरमाथाको उचाइ मापन र घोषणामा नेपालको संलग्नता थिएन। यसपटक नेपाल आफैँले छुट्टै उचाइ मापन गर्यो। र, चीनसँग मिलेर संयुक्त रुपमा घोषणा गर्यो।
यसअघि नेपाल र चीन बिचमा सगरमाथाको उचाइलाई लिएर भिन्नता थियो। नेपालले सर्भे अफ इन्डियाले १९५४ मा गरेको सर्भे अनुसारको ८ हजार ८४८ मिटरलाई मान्यता दिएको थियो। जसमा चुचुरोमा रहेको हिउँलाई पनि समावेश गरिएको थियो। अर्कोतर्फ चीनले भने हिउँ छाडी चट्टानी भागलाई मात्र समेटेर सन् २००५ मा एक्लैले नापेर उचाइ घोषणा गरेको थियो। त्यतिबेला चीनले सगरमाथाको उचाइ ८ हजार ८४४ भनेको थियो।
१५ वर्षको उचाइ सम्बन्धी यो मतभिन्नता पनि मंगलवारबाट हटेको छ।
'हामीले चट्टानी उचाइलाई छाडेका हौइनौँ। हामीले दुई देशबीच भएको सहमतिलाई हेर्दै संयुक्त रुपमा उचाई घोषणा गरेका हौँ,' जियाङले भने, 'नेपाल असल मित्र हो। हामी चिनियाँहरुले शान्तिलाई महत्त्व दिन्छौँ।'
उचाई सम्बन्धी फरक तथ्यांकलाई दुई देशका नेताहरुबिच भएको सहमतिले सहमतिमा ल्याएको उनको भनाइ छ। चिनियाँ राष्ट्रपति सीले गत वर्ष नेपालको भ्रमण गर्दा जारी भएको संयुक्त वक्तव्यका कारण दुई देशले संयुक्त उचाई तय गरेको उनले बताएका छन्।
उचाई सम्बन्धी एकमतका लागि चीनले आफ्नो पुरानो मान्यता चट्टानी उचाईलाई छाड्दै नेपालले मान्दै आएको तथा अन्तर्राष्ट्रिय मान्यता अनुसार हिउँको उचाईमा सहमत जनाएको चिनियाँ टोलीका प्रमुख ताङ यामिङले बताएका छन्। उनले हिमालको उचाई चट्टानी भाग मात्र नभएर आरोहीले हिउको चुचुरो नै आरोहण गर्ने हुँदा हिमचुचुरोलाई मान्यता दिएको उनले बताएका छन्। तर उनले चुचुराको उचाई दिन प्रतिदिन तलमाथि हुनसक्ने बताए।
'यथार्थ उचाई मापनका लागि टोलीले आरोहण गरेको अर्क दिन हिमपात भयो भने उचाई बढ्न सक्छ। त्यसैले उचाई जुन दिन वैज्ञानिकहरुले आरोहण गरेका हुन्। त्यही दिनको उचाई हो,' उनले भनेका छन्।
उचाईको संयुक्त घोषणा दुई देशबिचको आपसी सम्मान र सूचनाको आदानप्रदान मार्फत साझेदारीलाई बढाउने कदम भएको चिनियाँ बैज्ञानिकहरुले बताएका छन्।
उचाइको संयुक्त घोषणाले राजनीतिक र कुटनीतिक महत्त्व पनि राख्छ। वर्ष २०२० नेपाल-चीन कुटनीतिक सम्बन्ध स्थापनाको ६५ औं वर्षगाँठ मनाइँदै छ। सगरमाथाको उचाईको संयुक्त घोषणाले दुई देशबिचको सम्बन्धलाई थप उचाइमा पुर्याएको विश्वास गरिएको छ।
चिनियाँ राष्ट्रपति सीले आफ्नो बधाई सन्देशमा पनि यसलाई जोड दिएका छन्। 'छोमोलुङ्गमा (सगरमाथाको तिब्बती नाम) हिमालको उचाई संयुक्त रुपमा घोषणा हुनुले विगतलाई जोड्दै भविष्य निर्माणको महत्त्वपूर्ण संकेत' भएको सीले बताएका छन्।
सीले सगरमाथा दुई देशबीचको मित्रको प्रतीकको रुपमा पुस्ता पुस्तान्तरणदेखि रहँदै आएको भन्दै विश्वको अग्लो चुचुरोलाई दुई देशबीचको सीमाको रुपमा दुवै देशले स्थापित गरेको भनेका छन्, 'यो चीन-नेपाल मित्रताको उचाई हो।'
नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीले पनि संयुक्त उचाइ घोषणा दुई देशबीचको ऐतिहासिक र सदियौंदेखि रहँदै आएको नेपाल चीन सम्बन्धको प्रतीक भएको बताएकी छिन्।
संयुक्त रुपमा उचाई घोषणाको अर्को महत्त्व भनेको अन्तर्राष्ट्रिय मान्यता हो। 'यसअघि उचाईमा रहेको भिन्नतालाई यसले समाधान गरिदिएको छ। संयुक्त रुपमा घोषणाले अन्तर्राष्ट्रिय मान्यता हासिल गर्न महत्त्वपूर्ण छ,' सीमाविद् वुद्धिनारायण श्रेष्ठले भने, 'अब सगरमाथाको उचाई विश्वभर एक हुने छ। यसअघि फरक फरक थियो।'