
पोखरा : सुस्ताएको पर्यटन चलायमान बनाउन पश्चिमाञ्चल होटल संघ पोखराले बुधवारदेखि चारदिने ‘जाऔँ है पोखरा अभियान’ शुरु गरेको छ। कोभिड-१९ को महामारीमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न संघले मंसिर २४ देखि २७ गतेसम्म चारदिने भ्रमण कार्यक्रमको सुरुवात गरिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए।
जनकपुर, पर्सा, वीरगंज, विराटनगर र चितवनलाई समेटिएको अभियानमा अन्तर्गत ती स्थानमा पत्रकार सम्मेलन, प्रदेशस्तरीय, स्थानीय सरकारी तथा गैरसरकारी र पर्यटन व्यवसायीलगायतका सरोकार पक्षसँग अन्तरक्रिया गरिने जनाइएको छ। पहिलो दिन वीरगंजमा स्थानीय सरकार, पत्रकार र पर्यटन व्यवसायीबीच अन्तक्रिया हुनेछ।
संघले १८ वर्षदेखि सो अभियान शुरु गर्दै आएको छ। कोरोनाले सुस्ताएको पर्यटनलाई जगाउनु नै मुख्य उद्देश्य भएको आन्तरिक पर्यटन पुनरोत्थान समिति गण्डकीका सहसंयोजकसमेत रहेका तुलाचनले बताए। अभियानका कार्यक्रममा होटल सञ्चालक, पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र पत्रकार सहभागिता रहनेछन्।
संक्रमण जारी रहे पनि कोरोनासँगसँगै स्वास्थ्य सतर्कतासहित पर्यटन चलायमान बनाउनुको विकल्प नरहेकाले जाऔँ है पोखरा कार्यक्रमलाई निरन्तरता दिएको आयोजकले जनाएको छ।