मुम्बई : बलिउड अभिनेता सलमान खानले आफ्नो नयाँ फिल्मको सुटिङ शुरु गरेका छन्। सलमानले आगामी फिल्म ‘अन्तिम’को सुटिङ शुरु गरेको भएपनि उनले यसको पत्तो कसैलाई दिएनन्। यो फिल्मको सुटिङ आइतवारबाट शुरु भएको हो। उक्त फिल्ममा सलमान एक सिख प्रहरीको रुपमा देखिने भारतीय मिडिया चर्चा छ।
‘गन्स अफ नर्थ’ शिर्षकमा यो फिल्मको सुटिङ केही समय अघिदेखि शुरु भएको भएपनि हाल नयाँ शिर्षक ‘अन्तिम’को रुपमा पुनः सुटिङ थालिएको बताइएको छ। जसको निर्देशकमा सलमानले महेश मांजरेकरलाई चुनेका छन्। सुरुवाती समयमा सलमान यस फिल्ममा केमियो रोलको रुपमा मात्रै देखिने कुरा चलेको थियो। तर, हाल स्क्रिप्टमा परिवर्तन गरिएपछि उनी मुख्य भूमिकामै देखिने भएका हुन्।
भारतीय मिडियाका अनुसार सिख प्रहरीको रुपमा देखिने सलमान माफियाको सफाई गर्ने तथा ग्याङवारको अन्त्य गर्ने काममा लाग्ने छन्। फिल्ममा सलवान अलि नयाँ अवतारमा देखिने कुरा चलेको छ। जसको लागि उनले दाह्री पनि पालेको बताइएको छ। उनी पहिलो पटक सिख प्रहरीको भूमिकामा देखिन लागेका हुन्।
सलमानले उनको यो नयाँ अवतारको माध्यमबाट दर्शकलाई चकित पार्न चाहेको बताइएको छ। जसको लागि उनले उक्त नयाँ लुकलाई लिक हुन नदिन हरसम्भव कोशिस गरेको बताइन्छ।
फिल्ममा अभिनेता आयुष शर्मा एक ग्याङस्टारको भूमिकामा देखिने छन्। उनको टक्कर सलमानसँग हुनेछ। फिल्ममा आयुषका अलावा निकितिन धीर पनि मुख्य भूमिकामा रहने छन्।
