चितवन : चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षको हालसम्म विभिन्न चोरीशिकारका गतिविधिमा संलग्न भएको आशंकामा २४९ जनालाई पक्राउ गरेको छ।
उनीहरुमध्ये तीन जना कारागार चलान भएका छन् भने अन्य कतिपयलाई मुद्दा चलाइएको छ। कतिपयलाई ठाडो जरिबाना गरेर छाडिएको हो।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ परेकामध्ये सबैभन्दा बढी १२३ जना माछा मार्ने काममा संलग्न भएका हुन्। यसैगरी घाँस दाउराका ६३ जना, बालुवा गिट्टीका २५ जना, काठका १३ जना, गैँडा चोरीशिकारीका एक जना र अन्य वन्यजन्तु तस्करीका २३ जना रहेको उनले जानकारी दिए।
साउनमा १७ जना, भदौमा १०२ जना, असोजमा २१ जना, कात्तिकमा ५४ जना र मंसिरमा ५५ जना पक्राउ परेका हुन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार गैँडा तस्करीका एक जना र काठका दुई जना कारागार चलान भएका छन्। उनले पछिल्लो समय चोरीशिकारका घटना बढेसँगै सुरक्षामा कडाइ गरिएको बताए।
पैदल, हात्ती, साइकल, डुङ्गा, गाडीलगायतबाट निकुञ्ज कर्मचारी र सेनाको संयुक्त टोलीले गस्ती गरिरहेको छ। दिन र रातको समयमा निकुञ्जका संवेदनशील क्षेत्रमा गस्ती बढाइएको उनले जानकारी दिए। चालु आर्थिक वर्ष शुरु भएयता चार वटा दुर्लभ एकसिङ्गे गैँडा तस्करले मारेको अवस्थामा फेला परेका छन्। यससँगै सुरक्षालाई थप कडाइ गरिएको हो।
