PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

आठ महिनापछि सदर चिडियाखाना खुल्दै, प्रवेशका लागि स्वास्थ्यका मापदण्ड तयार



रासस

आठ महिनापछि सदर चिडियाखाना खुल्दै, प्रवेशका लागि स्वास्थ्यका मापदण्ड तयार
फाइल फोटो।

काठमाडौं : विश्व महामारीका रुपमा फैलिएको कोभिड-१९ को संक्रमण नेपालमा पनि देखिएसँगै गत चैत ७ गतेदेखि बन्द भएको जावलाखेलस्थित सदर चिडियाखा बिहीवारदेखि खुल्ने भएको छ।

नेपाल सरकारको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी बिहीवारदेखि चिडियाखाना खुल्न लागेको व्यवस्थापन पक्षले जनाएको छ। चिडियाखानामा प्रवेशका लागि स्वास्थ्यका मापदण्ड तयार गरिएको बताउँदै चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेलले प्रवेश टिकटको डिजिटलाइजेसन गरिएको र अनलाइनमार्फत पनि लिन सकिने जानकारी दिए।

चिडियाखानामा प्रवेश गर्दा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउनुपर्ने र प्रवेश क्षेत्रमा सेनिटाइजरको व्यवस्था गरिएको छ। भिडभाड व्यवस्थापन गर्न एकपटकमा बढीमा ७०० देखि ८०० व्यक्तिलाई मात्र प्रवेश दिने र त्यसपछि अवलोकर्ताको संख्या धेरै भएमा जति व्यक्ति अवलोकनपछि बाहिरिन्छन् त्यति नै सङ्ख्यामा मात्र नयाँ प्रवेश गर्न दिने व्यवस्था गरिएको उनले बताए।

यसैगरी चिडियाखानाभित्र बसेर खान र वन्यजन्तुलाई खुवाउन, छुन नपाउने, एक व्यक्ति बढीमा डेढ घण्टामात्र बस्न पाउने, बालबालिकालाई खेलाउन नपाउनेजस्ता मापदण्ड तयार गरिएको छ। यसअघि झैँ हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुनेगरी नै मापदण्ड तयार गरिएको छ। हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ वन्यजन्तु छन्।

अवलोकन गर्न विदेशीका लागि ७५० रुपैयाँ, सार्क राष्ट्रका पाहुनाका लागि ५०० रुपैयाँ, नेपालीलाई १५० र नेपाली विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। वार्षिक ११ लाख दर्शक अवलोकन गर्न आउने यहाँ प्रवेश शुल्कबाट नै वार्षिक १५ देखि १६ करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने गरेको छ।

अवलोकन गर्न आएका अवलोकनकर्ताबाट प्राप्त शुल्कबाट कर्मचारी व्यवस्थापन र जनावरलाई खानपानको व्यवस्थापन गर्दै आएको चिडियाखानामा विगत आठ महिना बढी समयदेखि आम्दानी शून्य भएपछि खर्च व्यवस्थापन गर्न समस्या भएको चिडियाखाना व्यवस्थापन पक्षले जनाएको छ।

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरद्वारा विसं १९८९ मा निजीरुपमा स्थापना गरिएको सदर चिडियाखाना विसं २०११ देखिमात्र सर्वसाधारणलाई खुला गरिएको थियो। चिडियाखाना २०५२ सालदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा व्यवस्थापन गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell