PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

ऋण झिकेर घर फर्किन नपाउँदै बाटोमै लुटियो चार लाख रुपैयाँ



रासस

ऋण झिकेर घर फर्किन नपाउँदै बाटोमै लुटियो चार लाख रुपैयाँ

लहान : अज्ञात समूहले हतियार देखाएर सिरहाको लहान नगरपालिका-३ भगवानपुर गाउँ नजिकबाट बुधवार एक जनाको चार लाख रुपैयाँ लुटेर लगेको छ।

लहानस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाबाट ऋणबापतको रकम झिकेर घर फर्किदै गरेका लहान नगरपालिका-२३ गाढाका ५४ वर्षीय जागेश्वर यादवलाई दुई जनाको समूहमा आएकाहरुले हतियार देखाएर रकम लुटेका हुन्।

‘रकम झिकेर साइकलमा घर फर्किदै थिएँ’, उनले भने, ‘लहान-ठाडी सडकअन्तर्गत भगवानपुरस्थित स्मार्टफोनको टावर नजिकै मास्क लगाएर बसेका अपरिचित दुई जनाको समूहले पेस्तोल देखाएर मसँग भएको सबै रकम लुटेर लग्यो।’

अलिकति पनि हल्ला गरिए ज्यान मर्ने धम्की दिएकोसमेत पीडित यादवको दुखेसो छ।

इलाका प्रहरी कार्यालय लहानका निमित्त प्रमुख प्रहरी निरीक्षक सुवास खतिवडाले रकम लुटिएको थाहा पाएलगत्तै घटनास्थल पुगेर अनुसन्धान गरिएको जानकारी दिए। पीडितको प्रारम्भिक बयानबमोजिम जनउत्थान सहकारीमा समेत गएर बुझ्दा रकम झिकेको पुष्टि भएको उल्लेख गर्दै उनले सहकारीको सीसीटीभी फुटेज हेरेर थप अनुसन्धान गरिने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell