यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह 'बी' खेलमा स्पेनिस क्लब रियल मड्रिडले जर्मन क्लब मुन्छेनग्लाडबाखमाथि सहज जित निकालेको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा भएको खेलमा घरेलु टोली मड्रिडले ग्लाडबाखमाथि २-० को जित निकालेको हो।
मड्रिडको जितमा दुबै गोल करिम बेन्जेमाले गरे।
खेलको ९ औं मिनेटमै बेन्जेमाको गोलमा मड्रिडले अग्रता बनाएको थियो। त्यस्तै ३१ औं मिनेटमा बेन्जेमाले नै दोस्रो गोल थप्दा पहिलो हाफमै घरेलु टोली दुई गोलले अघि रह्यो। दोस्रो हाफमा दुवैतर्फबाट गोल नहुँदा मड्रिडले २-० ले खेल आफ्नो पक्षमा पार्यो।
त्यस्तै गएराति नै भएको समूह 'बी' कै अर्को खेलमा इन्टर मिलान र सख्तर डोनेस्कले गोलरहित बराबरी खेले। समूह बी बाट रियल र ग्लाडबाख क्रमश १० र ८ अंक जोड्दै अन्तिम १६ मा प्रवेश गरेका छन्।
