PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

६ हजार रुपैयाँ पर्ने सुनको मुन्द्राका लागि ६ वर्षीया बालिकाको अपहरणपछि हत्या, पटके चोरबाट खुल्यो रहस्य



पहिलोपोस्ट

६ हजार रुपैयाँ पर्ने सुनको मुन्द्राका लागि ६ वर्षीया बालिकाको अपहरणपछि हत्या, पटके चोरबाट खुल्यो रहस्य

काठमाडौं : रसुवामा एक ६ वर्षीय बालिकाको हत्या भएको छ।

आइतबारदेखि परिवारसँग सम्पर्कबिहीन भएकी कालिका गाउँपालिका १ फैलिगाङकी सुमिना तामाङको शव हत्या गरिएको अवस्थामा फेला परेको हो।

आइतबार दिउँसो ग्राङ प्राविबाट पढेर फर्किएकी बालिका घर नफर्किएपछि आफन्तले भोलिपल्ट(सोमबार) प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले खोजतलास गर्दा मंगलबार साँझ बालिकाको शव कालिका गाउँपालिका १ स्थित नागुर्दुङको ओडारमा फेला परेको हो।

'आइतबारदेखि हराएपछि आफन्तले त्यो दिन हामीलाई खबर गरेनन्। भोलिपल्ट पनि नभेटिएपछि हामी कहाँ आउनु भएको थियो। हिजो मृत फेलाा पर्‍यो,' जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी इन्द्रप्रसाद सुवेदीले भने।

बालिकाको विभत्स तरिकाले हत्या गरिएको डीएसपी सुवेदीले जानकारी दिए। हत्यापछि शवलाई ओडारमा स्याउलाले छोपेर राखिएको थियो।
प्रहरीले हत्याको अभियोगमा एक १९ वर्षीय युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। नुवाकोट किस्पाङ गाउँपालिकाकी १९ वर्षीया सपना तामाङलाई नियन्त्रणमा लिएको डीएसपी सुवेदीले जानकारी दिए। युवतीले आफूले हत्या गरेको समेत स्वीकार गरेकी छिन्। 

किन भयो हत्या?
अभियुक्त तामाङ यसअघि पनि पटके चोरीमा पटकपटक समातिसकेकी छिन्। उनी रसुवा चोरी गर्दै हिँड्ने गरेको खुलेको छ। बालिकाले कानमा लगाएको मुन्द्रा चोरी गर्ने लोभमा उनले बालिकाको हत्या गरेको खुलेको छ।

'कानमा बालिकाको सुनको मुन्द्रा थियो। त्यसलाई नै निकाल्नका लागि बालिकालाई फकाएर ओडारमा लगेको र मुन्द्रा झिकेपछि थाहा पाउने डरले हत्या गरेको देखियो,' डीएसपी सुवेदीले भने।

घटनास्थलमा प्रहरीले चाउचाउको खोल समेत भेटेको थियो। बालिकाले मुन्द्रा चोरी गरेको आमाबुबालाई भन्दिन्छु भनेपछि हत्या गरेको देखिन्छ। त्यसपछि युवतीले कानको मुन्द्रा ६ हजार रुपैयाँमा बिक्री गरेकी थिइन्। प्रहरीले मुन्द्रा खरीद गर्ने मानिसलाई समेत अनुसन्धानको दायरमा लिएको छ।

बालिका हराएको उजुरी परेपछि प्रहरीले विभिन्न क्लुबाट अनुसन्धान सुरु गरेको थियो। विद्यालय नजिकै अभियुक्त तामाङ आएको जानकारी पाएपछि उनलाई पक्राउ गरी सोधखोज गर्दा हत्या खुलेको हो।

'ती युवती त्यस क्षेत्रमा देखिएको भनेपछि शंका भयो। उनी हाम्रो पटके चोरीको लिष्टमा थिइन्। त्यसैले उनलाई खोजी गर्‍यो। डोरी सहित उनलाई नियन्त्रणमा लिएपछि घटना खुलेको हो,' डीएसपी सुवेदीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell